‘छठका बेला हामी वर्षभरिको पीडा भुल्छौं…………..

२५ कार्तिक २०७५
लहान – सिरहा नगरपालिका–२, गोढियारीकी लालझरी मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छिन्। यही पोखरीमा यस टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै गै हुन्छन् न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्, ‘छठका बेला हामी वर्षभरिको पीडा भुल्छौं।’ छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधीभित्र खुम्चिन पुग्छन् । मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एकअर्काको सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’ छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस, सिरहामा मैथिली अध्यापन गराउने सहप्राध्यापक उमेश झा (ललन) को तर्क छ।

सबै जातजाति, समुदाय एकै थलोमा

लहान–१० का भूतनाथ उपाध्याय ६५ वर्षका भए। पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ। ‘जान्नेबुझ्ने भएदेखि नै मातापिताले छठ पूजा गरेको देखेको छुु,’ उनले भने, ‘हामी पनि त्यसैलाई निरन्तरता दिँदैछौं।’ सिरहा, गोलबजारकी डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५५ वर्ष भयो। छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७० वर्ष पार गरिसकेकी उनलाई अहिले छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन् । सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जु बताउँछिन्। परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन्। ‘सासूआमाले आफ्नो कोख पुत्ररत्नले भरियोस् भन्ने भाकल पूरा भएपछि छठको व्रत बस्न थाल्नुभयो,’ उनले भनिन्, ‘मैले पनि यसलाई निरन्तरता दिँदै आएकी छु, दिनेछु।’ मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको श्रेष्ठको अनुभूति छ। ‘सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो,’ उनले भनिन्। पहाडी समुदायमा तिहारका बेला माछामासु खाएर रमाइलो गर्ने परम्परा छ। श्रेष्ठ भन्छिन्, ‘हामी भाइटीकाको भोलिपल्टैदेखि घरमा माछामासु ल्याउँदैनौं, लसुन–प्याज पनि खान बन्द गर्छौं।’ छठका लागि खरिद गरेको पूजासामग्री पनि चोखो स्थानमा राख्नुपर्ने उनले बताइन्। ३६ घन्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु। सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउन थालेका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको गोलबजारका सामाजिक अभियन्ता देवकुमार मोक्तानको भनाइ छ। बिहान उदाउँदो सूर्य र साँझमा अस्ताउँदो सूर्यलाई अर्घ चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन्। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ,’ श्रेष्ठ भन्छिन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन्।’

सूर्य उपासनाको परम्परा

छठ पर्व कुनै समय प्राचीन मिथिला र भुजपुरा भूभागमा मात्र प्रचलित थियो। कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हु“दै आयो। ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो। छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन। छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइ“दैन। छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पु-याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पि“डालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् कुनै कारण ७० प्रकारका सामग्री पु-याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउ“दा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ। यस वर्ष छठ पर्व मनाउने क्रममा आइतबार ब्रतालु नजिकको पोखरी या नदीमा स्नान गरी अरुवा चामलको भात, रहरको दाल तरकारी (बर्जितबाहेक) पकाएर ग्रहण गर्छन्, यसलाई ‘नहाय खाय’ भनिन्छ। पञ्चमीका दिन अर्थात् सोमबार ब्रतालु दिनभरि उपवास बसी साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सख्खर, दूध र अरुवा चामलको खिर पकाई केराको पातमा राखेर छठीमातालाई चढाउँछन् । छठीमातालाई चढाएपछि ब्रतालुले ग्रहण गरी खराना मनाउँछन्। कार्तिक शुक्ल षष्ठी (यस वर्ष मंगलबार) यो पर्वको प्रमुख दिन हो । यस दिनलाई ‘सँझिया घाट’ तथा ‘सौंझका अर्घ’ भनिन्छ। यो दिन बिहानैदेखि ब्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पीठोमा सख्खर मिसाएर ठेकुवा, भुसुवालगायत प्रसाद तयार पार्छन्। सा“झपख ब्रतालुका साथै घरका सदस्य हातमा पूजासामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, ताल–तलैया, पोखरी किनारमा छठी घाट बनाइन्छ। सजाइएको छठी घाटमा ब्रतालु भक्तिभावका साथ उपस्थित भई सूर्यको पूजा गर्छन्।

अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। ब्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ। छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ। छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ। गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, निम्बु, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी,, झुत्रोसहितको नारिवल, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ। ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल) ले भने। पण्डित टोलका उमेश अहिले माटोको भाँडा बनाउन व्यस्त छन। उनीजस्तै व्यस्तता यस बस्तीका महिला–पुरुष दुवैको छ। ‘सामानअनुसार दाम पर्छ,’ उमेशले भने, ‘हाम्रो व्यापारको समय नै यही हो, त्यसपछि वर्षभरि बैठारी।’ माटोका भाँडा बेच्न उनीहरु स्थानीय हाटबजार पुग्छन्। नजिकका उपभोक्तले घरै गएर किन्छन्,’ उनले भने। माटोका भाँडा ‘सिजनल’ व्यापार भैसकेको उनी बताउँछन्। चौरचन (चौठीचान्द) अघि सुरु हुने यो व्यापार छठपछि बन्द हुन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार