बाबालाई सम्झदा

लेखक मालिक राम राई

ठुली, माईली, कान्छी बैनीहरु, भाई र म सबै स साना। काका भारतिय सेनाका जागिरे गुलेलीबाट छुटेको मट्याङ्ग्रा जस्तै उतै घरजाम गरेर बसेका।बाबा पछि परिवारको जेठो भए पनि म सानै उमेरको थिए।जेठो हुनुको जिम्मेवारीले बिहानै उठेर गाईबस्तुलाई घास, सोतर काटी ,गोबर नसोहोरी स्कुल जान कहा पाईदैन्थ्यो र उ बेला। स्कुल छुट्टी पछि फेरि बेलुकिको घास काट्नु, पानी भर्नु, भाई बहिनिहरुको देखभाल गर्नु दैनिकी हुन्थ्यो।”जेठो हुनु पनि दुख बेसाउनु रहेछ, बरु म त सानो भाई हुनु नि! सबैले माया पनि गर्ने, लाडे पल्टनु पनि पाईने, मिठो खाना पनि खान पाईने” म बबुरो यस्तै यस्तै सोच्थे।

 
आफु जम्मिएको गाउ भएर मात्र हैन, स्वर्गको एक टुक्रा झै लाग्ने छोल्मा गाउ साच्चिकै रमणिय थियो। दिक्तेल बजार बाट करिब १० मिनेट मा पुगिने छोल्माको काख खेल्दै शैसब काल छिचोल्ने क्रममा थिए म।
 
सधै मुस्कुराउने रुपाकोट डाडा त्यो दिन बादलको घुम्टो ओडेर सुक्सुकाउदै गरेको भान हुन्थ्यो।दिक्तेल स्कुलको चौरमा डन्डिबियो खेल्दै रमाईलो गरिरहेको मलाई एक जना साथिले भन्यो “ओई तेरो आमा भाई बैनीहरु त कुम्लो कुटुरो बोकेर लस्करै उधै उधो जादै छ त?”। म भर्खरै टिन मात्र टेकेको थिए त्यो बेला। आमा बाटो लाग्नुको खबरले मेरो बाल मन घबराउन थाल्यो।
खै किन हो कुन्नी घरमा बाबा आमा झगडा गरिरहनु हुन्थ्यो। लोग्ने स्वास्नीको झगडा परालको आगो भने झै बेलाबखत झगडा गरे पनि चखेवा जोडि जस्तै केहि समय पछि मिलिहाल्नु हुन्थ्यो। तै पनि झगडाको बेला आमाले “पख न! कुन दिन तलाई छोडेर नफर्किने गरि टाढा जान्छु, अनि चाख्लास”। आमा बाटो लाग्नुको कारण मैले अनुमान लगाई हाले।
 
आमाको मन न हो, घर छाडेर जादाजादै आमाले मेरो अनुहार हेर्न चाहेको समाचार पाए।त्यो सुन्न बित्तिकै मातृवात्सल्यले ओतप्रोत भएको म हरियो चौरमा खुशिले उफ्रीएको बाख्राको पाठा जस्तै आमालाई भेट्न बुर्कुशी मारे। बजारकाे परतिर हाटडाँडाछेउ अामा भाई बहिनिहरूलाई भेटाएँ।
 
अामाले कुम्लाेकुटुराे बाेकिरहनु भएकाे थियाे। ठूली बहिनीले भाइ बाेकिरहेकी थिई।माईली र कान्छी बहिनी आमाको पछि लुरुलुरु पछ्याइरहेकी थिई। लाग्थ्यो छोल्मालाई सधैको लागी छोडेर बसाई हिड्दै थियौ।
आमालाई भेट्न मेरो उत्कट ईच्छा थियो। भेटे पछि खुशीले पुलकित भएँ। जसरी माउ बाट छोडिएको पाठा आमा देखेर खुशी हुन्छ। लामाे सास तानेर सुस्केरा फालेँ, सोचे ” धन्न म अामाको छहरी बाट बिछोडिन परेन।यहि सन्तुष्टिले खुशीकाे सिमा रहेन। म आमालाई पछ्याउन थाले।बाबा प्रतिको आक्रोस अनि म प्रती मातृवात्साल्य घोलेर अामाले रुँदै भन्नुभयाे, किन अाइस् काजी? जा। तँ गइहाल। तँ तेराे बाउसँग बस। म तिमीहरूसँग बस्न सक्दिनँ । बाबुछाेरा अानन्दले बस। मेराे जिन्दगी यहि गाउँमा बिताउने ईरादा थियाे। तर तेराे बाबुले बसिखानु दिएन।´ अामाकाे अबरूद्द स्वर भासिँदै गयाे। आमाको मन भित्र मडारिएको कालो बादलले आमाको आखाबाट सवन बर्साउन थाल्यो।आमा डाकाे छाडेर रुन थाल्नु भो।हाम्रो पनि अनायसै आखामा आशु छायो।हामी सबै रुन थाल्यौ। एक छिन पछी आमाले अाँशु पुछ्नु भयाे। भारी बाेक्नु भयाे र बाटाे लाग्नु भयाे। म उहाँहरूलाई पछ्याउन थालेँ। अामा पछाडि म तिर मुन्टो फर्काउनु भयाे। उहाँकाे अाँखाबाट अझ अाशुँ बगिरहेकै थियाे। रुँदै फेरि झपार्दै भन्नु भयाे, `मैले भनेकाे किन मान्दैनस्।तेरो बाउले त दुख दिन दियो तैले पनि मलाई किन दुख दिन्छस?रुवाउन खाेज्छस, किन धुन्धुकारी हुन्छस।”?
 
आमाको यो कठोर बचनको प्रहारले मेरो ईच्छा र रहरको ऐनाहरु चकनाचुर भयो। मैले आफ्नो प्रतिबिम्ब कुरुप देख्न थाले।अब माउ बिनाको कुखुराको चल्ला जस्तै हुने भए भन्ने भयले मेरो बाल मष्तिस्क झन अत्तालिन थाल्यो। अचानक मेराे अाँखा सावन बर्षन लाग्यो। म रुँदै अामालाई अनुनय बिन्ती गरे ,”आमा पनि जान्छु। म तपाईको आचल खाली बनाएर कसरी बिछोडिएर एक्लै कसरी बस्न सक्छु?” मनको मायाको तराजुमा मलाई बाबाको माया भन्दा आमाकै माया पल्ला भारी भयो।
 
अामाले माथिकै कुराे पुनः दाेहाेर्याउदै जानुभयाे, मैले उहाँहरूलाई पछ्याउन छानिन।आखिर आमाको मन न हो। हिउको ढिक्का जस्तै कडा भए पनि मेरो मायाको उष्णताले आमाको मन बिस्तारै पग्लन थाल्यो।निकै पर पुगेपछि मेरो जिद्दिपनले मैले अामाको मन जिते, आमा हार्नु भयाे। म आमा सङ्गै जान पाउने भए। त्याे क्षण रणमैदानमा युद्द जितेको सिपाही जस्तै जीतको महसुस भयो।सायद त्यो नै मेराे जिन्दगीकाे पहिलाे अन्तिम जीत ठान्दै अामासँग जानु पाउनु जिन्दगीकाे सबभन्दा असिम खुशी बर्षात थियाे।
आमाले सङ्गै लैजाने स्विकृती दिए पछि अामाले केही भारी मलाई दिनुभयाे। म अझ ढुक्क भएँ। तर हाम्रो गन्तव्य कहा हो? स्वयं आमालाई समेत थाहा थिएन भने हामी भाल्टङ भुल्टुङ लाई थाहा हुने कुरै थिएन। तैपनी हामी तराई तिर जादै थियौ। अामाले केही खाने कुराे दिनुभयाे। म आमाको सामिप्यता पाउने कुरामा पूर्णविश्वास्त भए। हामी त्यो दिन दिक्तेलदेखि पर अलि तल (अहिले त्याे छेउमा खानीडाँडा मनमाया विमानस्थल बनेकाे छ)पुगेर बाँस बस्याैं।
अन्जान, अपरिचित, र गन्तब्यहिन हाम्रो यात्रा जारी थियो। हामी भाेलिपल्ट बल्ल बल्ल दूधकाेशी वारि भँडारे घाट पुगेर एक घरमा बास बस्याैं। हामी बास बसेको घरबेटि लोग्ने मान्छे अस्वस्थ रहेछ्न। ऊ रातभर, `हुँ ,हँ मरेँ नि अामा, अाइयाया, हँ हँ, हुँ हुँ भन्दै पिडाले चारै प्रहर छर्लङ्गै बनायो। उसको त्यो पिडाको चित्कारको कर्कस हल्लाले रातभर हाम्रो निद्रा लुट्यो ।सुत्नै सकिएन।
मिर्मिरेमा ताराहरु झर्दै गए। पुर्ब क्षितिज लालिमय बनेपछी अध्यारोको साम्राज्य फैलाएको रात भाग्यो। हरेक बिहानीले आशाको किरण बोकेर ल्याउछ भन्ने मान्यता अनुसार मलाई चाही त्यो बिहानी सङ्गै त्यो रात घरबेटिको चित्कारले मलाई बाबुकाे सम्झना बोकेर ल्यायो। हाम्रा बाबुकाे अवस्था पनि ठ्याक्कै त्यस्तै थियो। बिभिन्न बिमार ले आक्रान्त बाबाको पिडाको चीत्कार त्यस्तै थियाे “`हँ हँ। अाइयाया,,,। ए माै, अामा हाै। अाइया नि। मरेँ नि। लाै मरेँ है म त। ए काजी। ए मालिक, पानी ले ले। पानीले पाे निकाे हुन्छ कि। त्यो घटनाले बाबाको माया मेरो मनमा मौरिको मह जस्तै बाक्लिएर आयो अनि आमालाई भने ” `अामा! हाम्राे पापा(बाबु) पुनि यसरी नै कराउनु हुँदै हाेला हाे कि। पानी कसले दिन्छ हाेला हाे कि अामा!´? मैले बाबाको चासो जतात। आखिर जोईपोई न परे, बगेको खोला त फर्कन्छ भन्ने भनाई छ, रिसले टिमुर्किएर दङ्ग्याउदै घर छाडेको आमाको मन बाबा प्रती फर्की हाल्यो। अनि मलाई भन्नु भो ” लौ काजी अब घर फर्कौ, बिचरा तेरो बाबाको के हाल भयो होला? कतै तलमाथी त भएन, अा जजसले जेसुकै भनुन्, फर्की हालौ घर।´
हामी चार दिनमा घर अाइपुग्याैं। बाबुकाे मायाले हामी पर्देशीएका फर्क्याैं। हामी घर पुग्दा वहा घरमै टहलिनु हुदै थियो। सायद बाबुकाे पनि रिस मरिसकेकाे हुँदाे हाे। हामीलाई हेर्नु मात्र भयाे। केही भन्नु भएन।
त्यसरी पेटकाे अथाह पीडा सही सही हामीलाई लापनपालन गर्नु भयाे, हुर्काउनु भयाे। हामीलाई हुर्काउन बढाउन दुखका अनेकौ पहाड छिचोल्नु भो। त्यो दुख बाट साटेको यो सुखको भोगचलन गर्ने बेलामा बाबु छपन्न वर्षकाे उमेरमै हामीलाई छाडेर कहिल्यै नफर्किने बाटो लाग्नु भो। भाई पनि नौ बर्षको अल्पआयु मै यो धर्तीबाट बिदा भए। यो कुराले मलाई बारम्बार खुबै आहत बनाउछ। अनि अन्तरआत्मा बाट भन्न मन लाग्छ “बाबा! म तपाईँलाई सँधै सँध‌ै चिर स्मरण गरिरहने छु। साच्चिकै अर्काे जन्म हुन्छ भने म फेरि तपाईँकाे छाेरा भएर जन्मिने शौभाग्य मिलोस।” याद त आउछ नै, बिषेसत बाबुकाे मुख हेर्ने दिनमा बाबाको सम्झनाले मर्माहत बनाउछ मलाई।´

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार