श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव पारित……..

कोलम्बो- श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ। सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गरेकाे बताइएको छ। सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुगेका थिए। त्यहाँ पुग्दा संसद बैठक १ः३० मा शुरू हुने बताइएको भएपनि ३० मिनेट ढिलो शुरू भएको थियो। सभामुख संसदको सभाहलमा पुग्दा सांसदहरूको एक समूहले उहाँको कार्यकक्षमा घेराउ गरी नाराबाजी गरेका थिए। उनीहरूले अघिल्लो दिन संसदमा चक्कूसहित आएका यूनाइटेड नेशनल पार्टीका सांसदलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन आवाज बुलन्द गरेका थिए। संसदमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभामुख जयसुरिया आफ्नो कार्यकक्षमा पुगी सरकारविरूद्ध अविस्वासको प्रस्ताव आह्वान गरी मतदानका लागि सांसदहरूलाई निर्देशन दिएका थिए। सभामुखले शुरूमा मत ‘नामका आधारमा’ गर्ने घोषणा गरे। तर संसदमा भएको अस्तव्यस्तता र उग्र गतिविधिलाई मध्यनजर गरी उहाँले मतदान ‘ध्वनी मत’का आधारमा सम्पन्न हुने घोषणा गरेका थिए। त्यसपछि जयसुरियाले राजापाक्ष सरकारविरूद्धको अविस्वासको प्रस्ताव पारित भएको घोषणा गरे। उनले संसदको आगामी बैठक सोमबारका लागि बोलाएका छन्। मतदानपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनको आधिकारिक ट्वीटर पेजमार्फत एक विज्ञप्ति जारी गर्दै सबै सांसदलाई प्रजातन्त्रको मूल्यमान्यता र परम्परालाई सधै पालना गर्न आग्रह गरेका थिए। उनले कुनै अवस्थामा पनि संसदको आगामी बैठक नसार्ने बताएका थिए। सरकारका प्रवक्ता केहेलिया रामबुकवेलाले संसदमा भएको मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘गैरकानूनी’ तवरमा संसदले सरकारका विरूद्ध गरेको मतदानलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए। राष्ट्रपतिद्वारा पदबाट हटाइएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शुक्रबार विधायकहरूद्वारा गरेको घटनाको निन्दा गर्दै सरकार पराजीत भएको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार