मर्मतको पर्खाइमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र………

काठमाडौं – संघीय संसद् सञ्चालन हुने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ। चीन सरकारको एक प्रतिनिधि मण्डलले केन्द्र तत्काल मर्मत गर्नुपर्ने जानकारी एक वर्षअघि नै नेपाल सरकारलाई गराइसकेको छ। टोलीले मर्मतका लागि केन्द्र तीन वर्षसम्म खाली गरिदिन पनि आग्रह गरेको थियो । तर तत्काल संसद् बैठक अन्यत्र सञ्चालन गर्न नमिलेपछि चिनियाँ टोली फर्किएको छ। भवन चीन सरकारको सहयोगमा निर्माण भएको हो। निर्माण अवधि २५ वर्ष पुगेकाले चीन सरकारले आफ्नो मापदण्डबमोजिम मर्मतसम्भार गर्न चाहेको हो। २०४५ सालमा सुरु भएर २०४९ सालमा निर्माण सम्पन्न यो भवन एक अर्ब रुपैयाँ लागतमा बनेको थियो। चीनले ३० मिलियन डलर (तीन अर्ब ४८ करोड रुपैयाँ) लागतमा भवन मर्मत गरिदिने प्रतिबद्धता गत वर्ष नै गरेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। ‘मर्मतका लागि तीन वर्षसम्म संसद् बैठक अन्यत्र राख्न तत्काल कुनै उपाय देखेनौं, त्यसैले मर्मतसम्भार रोकिएको छ’, भट्टराईले भने। २०७२ सालको भूकम्पले केन्द्रको भवन केही ठाउँमा चर्किएको छ । साथै केही ठाउँमा पानी चुहिन थालेको छ। २०६४ सालमा तत्कालीन संविधानसभाको बैठक राख्न संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिबीच सम्झौता भएको थियो। सचिवालयले भाडामा लिएको सम्मेलन केन्द्रमा दोस्रो संविधानसभा तथा रूपान्तरित संसद्को बैठक सञ्चालन भएको थियो। अहिले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक पनि सोही भवनमा सञ्चालन भइरहेका छन्। संसद् सचिवालयले केन्द्रलाई भाडाबापत वार्षिक १५ करोड रुपैयाँ तिर्दै आएको छ। एक सय ७० रोपनी क्षेत्रफल जमिन ओगटेको उक्त भवन अन्तर्राष्ट्रिय सभासम्मेलन गर्नका लागि निर्माण गरिएको थियो। २०५९ सालमा एघारौं दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलन यसै भवनमा भएको थियो। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा साना र ठूला गरी ७ कक्ष छन् । मुख्य कक्षमा प्रतिनिधिसभा बैठक हल राखिएको छ भने नुप्से हलमा राष्ट्रियसभाको बैठक बस्दै आएको छ। मुख्य हलमा ८० राष्ट्रका प्रतिनिधिले भाग लिनसक्ने क्षमता छ। यस कक्षमा १०४६ सिट छन् । मुख्य कक्षलगायत अन्य तीन कक्षमा विभिन्न ६ भाषामा एकै पटक अनुवाद हुन सक्ने व्यवस्था छ। नौ रेक्टर स्केलको भूकम्पलाई प्रतिरोध गर्ने क्षमता भएको भनिएको केन्द्रको पानीट्यांकी रहेको क्षेत्रतर्फको सानो भवनमा राष्ट्रिय वाणिज्य बैंक र बेइजिङ डग रेस्टुरेन्ट छन्। सम्मेलनको मुख्य कक्षमा सांस्कृतिक कार्यक्रम र चलचित्र प्रदर्शनसमेत गर्न सकिने गरी निर्माण भएको छ । संसद् सचिवालयले भाडामा लिएपछि भवनमा संसदीय गतिविधिमात्र हुने गरेका छन्।

नयाँ भवन कहिले ?

संघीय संसद्को भवन बनाउन सरकारले बल्ल चासो देखाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैंचामा संसद् भवन बनाउन निर्देशन दिएका छन्। सरकारले ४४ करोड बजेट विनियोजन गरेकाले डिजाइन र ठेक्कामा लगाउने काम हुन लागेको छ । भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले प्रहरी अघि बढाउने भएको छ । मन्त्रालयले पुतली बगैंचाको माटो परीक्षण गरिसकेको छ। नयाँ भवनमा जमिनमुनि दुई तला र माथि एक तला पार्किङ नै बनाउने गरी डिजाइन गर्न लागिएको छ। भवनमा संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको सचिवालय, पदाधिकारीको कार्यकक्ष र बैठक हल रहने भएकाले कम्तीमा पाँच सय गाडीका लागि पार्किङ बनाउनुपर्ने अवस्था रहेको सहरी विकास मन्त्रालयले जनाएको छ। संघीय संसद् भवन निर्माण अगाडि बढाउन विकास समिति गठन भइसकेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार