दाजु गुरुङले फुलाए हङकङमा “टाँकीका फूलहरु”

  टोपबहादुर याक्खा

१८ नोभेम्बर, हङकङ– हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी “दाजु गुरुङ” को प्रथम कथा संग्रह “टाँकीका फूलहरु” विमोचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, स्रष्टा दाजु गुरुङ त्यस्तै गरि अन्य अतिथिहरु हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राई, साहित्यकार कल्पना काफ्ले, लालबहादुर गुरुङ, दिपेन्द्र राई, नरेन्द्र गुरुङ लगायतका विभिन्न व्यक्तित्वहरुद्धारा कृतिलाई सामुहिक रुपमा विमोचन गरिएको थियो ।
साहित्य श्रृंखलाका संयोजक डी.बी.पालुङवा, सह–संयोजक सुनिता गिरी, साहित्यकार कल्पना काफ्ले, लालबहादुर गुरुङ, नरेन्द्र गुरुङ, प्रेम कुमार कोरङ्गी, टिका गुरुङ लगायतका व्यक्तित्वहरुद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा कवि तथा साहित्यकार बज्र कुमार राई र साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राईले “टाँकीका फूलहरु” माथि समीक्षा राखेका थिए ।
“टाँकीका फूलहरु” सतप्रतिशत हामी हङकङबासीहरुको भोगाई रहेको समीक्षक बज्र कुमार राईले आफ्नो भनाईमा राखेका थिए भने दाजु गुरुङको कृति “टाँकीका फूलहरु” ले पछिल्लो समय हङकङमा मात्र नभई समस्त नेपाली साहित्यिक क्षेत्रमा एउटा तरंग पैदा गर्नेमा आफु विश्वस्त रहेको बताउँदै नेपाली साहित्यको क्षेत्रमा दार्जिलिङ पछि हङकङ भन्ने बुझाईलाई “टाँकीका फूलहरु” ले थप मद्धत गर्ने अर्का समक्षक राज कुमार राईले बताए ।
दशकौं देखि आफ्नो मातृभूमी र आफन्तहरु छाडेर “टाँकीका फूलहरु” अर्थात हङकङ डलर टिप्न आएका हामी नेपालीहरुको कथाव्यथाहरुले पुस्तकको आकार पाएको बताउँदै विभिन्न क्षेत्रबाट सहयोग पुर्याउँने सबैमा स्रष्टा गुरुङले आभार प्रकट गरे ।  १८४ पृष्ठको उक्त कथा संग्रहमा १७ वटा कथाहरु समेटिएका छन् ।
हङकङ साहित्यिक साझा श्रृंखलाका संस्थापक संरक्षक तथा हङकङबाटै प्रकाशन हुंदै आएको “हाम्रो संखुवासभा” मुखपत्रका सम्पदक समेत रहेका गुरुङ कथाका अलवा कविता, गीत, गजल र मुक्तको क्षेत्रमा पनि उत्तिकै कलम चलाउँदै आइरहेका छन् ।
बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमलाई संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार