एक्सन नायक राज कुमार राई “द कमाण्डो” पछि अर्को चलचित्रमा खेल्दै

  टोपबहादुर याक्खा

२५ नोभेम्बर, हङकङ– पहिलो चलचित्र “द कमाण्डो” बाटै दर्शकहरुको भारी प्रशंसा बटुल्न सफल एक्सन नायक राज कुमार राईले २०१९ भित्रमा अर्को एक्सन नेपाली चलचित्र दर्शकहरु माझ ल्याउँने भएका छन् । आइतबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी सार्वजनिक गरेका हुन ।
मुख्य भूमिका आफ्नै रहने उक्त एक्सन चलचित्रको सबै पक्ष बलिउड र हलिउडको भन्दा कम नरहने बताउँदै निर्माण कार्यमा सहकार्य गर्न समेत उनले इच्छुकहरुलाई आग्रह गरे । २०१९ को अन्तसम्ममा हलमा लगाउँने योजना रहेको उक्त चलचित्र क्यानडा, यू.के., हङकङ हुँदै नेपालका सुन्दर हिमाली क्षेत्रहरुमा समेत छायाँङकन गरिने योजना रहेको उनले बताए । ‘हङकङ मेरो होम कन्ट्री जस्तै हो, किनकी मैले गोर्खा सैनिक हुँदा धेरै जसो योङ एज यही बिताएको छु, मेरो दोस्रो मुभिको प्रोजेक्ट बारे हङकङबाटै पहिलो पटक सार्वजनिक गर्दैछु, र  उक्त प्रोजेक्ट कम्लिट भए पछि हङकङबाटै ग्राण्ड प्रिमियर शो पनि गर्नेछु’, राईले आफ्नो योजनाहरु बताए ।
अवकाश प्राप्त ब्रिटिश गोर्खा सैनिक समेत रहेका राज कुमार राई तेक्वान्दो र बडीबिल्डिङ खेल क्षेत्रमा देश तथा विदेशमा समेत परिचित नाम हो । पूर्व नेपाल खोटाङ, बाक्सिला घर भई क्यानडामा स्थायी बसोबास गर्दै आएका तेक्वान्दोका ग्राण्ड मास्टर (सेभेन्थ डान) राईले तीन दिने हङकङ भ्रमणको क्रममा फोरेनर, युनाइटेड लगायतका ६ वटा नेपाली तेक्वान्दो क्लबहरुद्धारा संयुक्त रुपमा आयोजित ‘तेक्वान्दो सेमिनर–२०१८’ मा प्रशिक्षण समेत दिएका थिए । उक्त प्रशिक्षणमा ६ वटै क्लबका करिब ८५ जना मास्टर तथा ब्लाक बेल्टहरु सहाभागी भएको फोरेनर क्लबका प्रेसिडेन्ट मास्टर उत्र शेर राईले बताए ।
ब्रिटिश गोर्खा सैनिक पेशाबाटै तेक्वान्दो खेलमा आवद्ध उनी १९८५ मा हङकङ च्याम्पियनशिप भएका थिए भने अवकाश प्राप्त भएपछि १९९९ मा नेपालको तर्फबाट साफ गेममा गोल्ड मेडल हात पारेका थिए । एशियन, साफ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेमहरुमा दर्जनौं मेडलहरु हाता पार्न सफल उनि हाल क्यानडामा वाई.एम.सी.ए. तेक्वान्दोका प्रमुख प्रशिक्षकका रुपमा कार्यरत छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार