राष्ट्रपति म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान……..

पेरिस  – सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्। पेट्रोलियम पदार्थमा भएको कर वृद्धि र बढ्दो महँगीविरुद्ध भन्दै केही सातादेखि फ्रान्समा ‘पहेंलो भेस्ट’ नामक प्रदर्शन भइरहेको छ। तेस्रो सातामा प्रवेश गरेको शनिबारको प्रदर्शन दंगाग्रस्त भएको थियो। प्रदर्शनकारीहरुले प्रहरीमाथि कडा पहेंलो रंग छ्यापेका थिए। राष्ट्रपति म्याक्रोंले बोलाएको आपतकालीन सुरक्षा बैठकले देशमा जारी तनावलाई शान्त पार्नका लागि राज्य संकटकाल घोषणासमेत गर्न सक्ने सरकारका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सुरुमा इन्धनमा भएको कर वृद्धिको प्रदर्शन विस्तारै महँगीविरुद्ध पनि केन्द्रित भएको छ। दुई साताभन्दा अघि सुरु भएको पेहेंलो भेस्ट प्रदर्शनका क्रममा हालसम्म तीनजनाको मृत्यु भइसकेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। राजधानी पेरिसमा केन्द्रित शनिबारको प्रदर्शनमा केही प्रदर्शनकारी शान्त देखिए पनि अधिकांश प्रदर्शनकारीले प्रहरीसँग विभिन्न क्षेत्रमा झडप गरेको बताइएको छ। शनिबारको प्रदर्शनका कारण राजधानी पेरिसमा सयभन्दा बढी मानिस घाइते भएका छन्। घाइतेमध्ये २३ जना सुरक्षा अधिकारी भएको फ्रान्स सरकारले बताएको छ। प्रहरीका अनुसार शनिबारको प्रदर्शनमा सहभागी चार सयजना पक्राउ परेका छन्। विश्वका २० शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको शिखर सम्मलेन ‘जी–ट्वान्टी समिट’मा सहभागी भएर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों आइतबार बिहान स्वेदश फर्किएलगत्तै सोझै शनिबारको प्रदर्शनमा सबैभन्दा क्षति भएको आर्क डी ट्रिओफको निरीक्षणमा गएका छन्। उनले देशको प्रधानमन्त्री, आन्तरिक मन्त्री र उच्च सुरक्षा अधिकारीसँग राष्ट्रपतीय दरबारमा भेट गर्ने समेत बताइएको छ। ‘जी–ट्वान्टी’ सम्मेलनमा सहभागी भएलगत्तै देश फर्किएका राष्ट्रपति म्याक्रोंले अर्जेन्ट सुरक्षा बैठक बोलाउनुलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सरकारका प्रवक्ता बेन्जामिन ग्रिभेक्सले युरोप वान रेडियोलाई राष्ट्रपतिले बोलाएको आपतकालीन सुरक्षा बैठकले संकटकाल घोषणा गर्नसक्ने संकेत गरेका छन्। ‘शनिबारका जस्ता प्रदर्शन नहुन् भनेर हामीले आवश्यक कदम चाल्नुपर्छ,’ राज्य संकटकाल लाग्न सक्ने बताउँदै प्रवक्ता बेन्जामिनले युरोप वान रेडियोलाई बताए।

प्रदर्शनकारी को हुन्?

यसै वर्षको नोभेम्बर महिनाको सुरुबाट फ्रान्समा पहेंलो भेस्ट आन्दोलन सुरु भएको हो। राष्ट्रपति इमानुएल म्याक्रोंले इन्धन करमा वृद्धि गरेको विरोधमा पहेंलो भेस्ट प्रदर्शन सुरु भएको थियो। फ्रान्समा सवारी साधन चलाउने सबैले पहेंलो भेस्ट लगाउनै पर्ने कानुन रहेको छ। त्यही पहेंलो भेस्ट लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुको प्रदर्शनलाई ‘पहेंलो भेस्ट’ आन्दोलन भनिएको हो। सामाजिक सञ्जालमार्फत् फैलिएको पछिल्लो पहेंलो भेस्ट आन्दोलन राष्ट्रपतिले डिजेलमा गरेको कर वृद्धिपछि सतहमा आएको थियो। राष्ट्रपति म्याक्रोंले कर वृद्धि वातावरणसँग सम्बन्धित रहेको बताए पनि प्रदर्शनकारीले भने म्याक्रों कारमा निर्भर रहने सहरी उपझोक्ताविरुद्ध लागेको आरोप लगाउँदै आएका छन्। देशमा प्रदर्शन चर्केपनि राष्ट्रपति म्याक्रोंले भने प्रदर्शनका पछाडि अतिदक्षिणपन्त्री दलको सक्रिय सहयोग रहेको आरोप लगाउँदै आएका छन्। उनले आफूसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी अतिदक्षिणपन्थी नेत्री मरिन ल पेनको दललाई प्रदर्शन चर्काएको आरोप लगाएका छन्।  बिबिसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार