विरोधीलाई कामले जवाफ दिन्छौं………

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काममा केही मानिसले विरोध गरिरहेकाले उनीहरूलाई कामबाट जवाफ दिने बताएका छन्। नेपाल प्रगतिशिल इन्जिनियर एसोसिएशनका पदाधिकारीसँग शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको बताए। देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताउँदै ओलीले इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिएका छन्। सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको ओलीको भनाई थियो। “तपाईहरूको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने। राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ। “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भने, “यसमा सरकार प्रतिवद्ध छ। सरकारको यस अभियानमा इन्जिनियरको साथ सहयोग जरुरी छ।” वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरू सहितको ज्ञापन पत्र बुझाएको छ। प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार