नेकपा विधानबाट साम्यवाद गायब…………

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ गायब पारिएको छ। विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट ‘साम्यवाद’ गायब पारिएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका छन्। ‘पार्टी अन्तरिम विधानबाट साम्यवाद भन्ने शब्द हटाएर कसरी कम्युनिस्ट पार्टी बन्न सक्छ ? साम्यवाद हटाएर किन विधान ल्याएको हो ? पार्टीको न्यूनतम र अधिकतम लक्ष्य हुन्छ। विधानमा वैज्ञानिक समाजवाद लेखेर साम्यवादमा पुग्न सकिन्छ ?’ बैठकमा नेता नेपालले प्रश्न गरे, ‘संसारभरिका कम्युनिस्ट पार्टीको विधान र दस्ताबेजमा समाजवादको अधिकतम बिन्दु साम्यवाद हो, त्यसलाई नै गायब पारेर कस्तो पार्टी निर्माण गर्न खोजेको हो ? नेपालले तत्कालीन एमालेको सातौं महाधिवेशनमा पनि आफूले अहिलेकै महासचिव विष्णु पौडेललाई विधानको मस्यौदा तयार गर्ने जिम्मा दिँदा ‘साम्यवाद’ भन्ने शब्द हराएको स्मरण गराए। नेताहरूको पूजा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै नेपालले पार्टीलाई सैद्धान्तिक र पार्टी प्रणालीमा सञ्चालन गर्नुपर्ने बताए। यसअघि पनि पार्टी एकीकरण भएको प्रसंग उठाउँदै नेपाालले अहिलेचाहिँ केके न गरेका छांै भन्नुभन्दा पनि इतिहासमा सबैले आफ्नो स्थानबाट कम्युनिस्ट पार्टीको एकीकरणका लागि भूमिका निर्वाह गरेको दाबी गरे। ‘मदन भण्डारीको समयमा पनि पार्टी एकीकरण भएको हो, त्यसपछि पनि भयो। धेरैवटा पार्टी मिलेर अहिले नेकपा बनेको हो। इतिहासको मानमर्दन गर्न पाइँदैन। एकैपटक आफैंले मात्रै एकीकरण गरेको भन्नु सबैको भूमिकाको अवमूल्यन गर्नु हो। अहिले जस्तो अवस्था कहिल्यै भएको थिएन। ख्याल गरियोस्,’ नेपालले भने। नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउन छलछाम गरिए त्यो महाभूल हुने चेतावनी पनि दिए। पार्टीमा क्रियाशील सबै पक्षलाई समेट्नेगरी कार्यविभाजन गर्नुपर्ने र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट पनि यही बैठकबाट गर्नुपर्ने उनले बताए। यसअघिका बैठकमा नेपालनिकट स्थायी कमिटी सदस्यले पनि पार्टी सञ्चालनमा कमजोरी रहेको धारणा राखेका थिए। ती धारणा समेटेर पार्टी नेतृत्व र सरकार कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव उनले दिए। ‘कमीकमजोरी भएको छ, ख्याल गरियोस्। सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्छ। व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्छ,’ उनले भने। सरकारले कामभन्दा कुरा धेरै गरेको आरोप पनि उनले लगाए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने भएको बताउँदै सबै काम प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न नहुने र सरकारले दीर्घकालीन तथा अल्पकालीन गरी दुईवटा कार्यक्रम ल्याएर काम गर्नुपर्ने सुझाव दिए। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेपालसँगै झलनाथ खनालले पनि पार्टी विधानविपरीत चलेको, सरकारले राम्रो काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे। उनले राम्रो काम नहँुदा खुम्चिन पर्नसक्ने अवस्था आउने चेतावनी पनि दिए। मन्त्री, राजदूतलगायत महŒवपूर्ण नियुक्ति गर्दा पार्टीमा कुनै छलफल नभएको भन्दै खनालले असन्तुष्टि जनाए। ‘पार्टीभित्र एकाधिकारवाद हाबी भएको छ। महŒवपूर्ण नियुक्ति हुँदा पार्टी बेखबर छ। विवादास्पद छविका व्यक्ति नियुक्त हुँदा पार्टीको साखमा पनि आँच पुगेको छ’, खनालले भने। उनले प्रदेश कमिटीलाई लिएर गुनासा आएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने र यही बैठकबाट केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनुपर्नेमा जोड दिए। बैठकको सुरुमा महासचिव पौडेलले आफ्ना धारणा राख्दै सरकारको प्रशंसा गर्ने प्रयास गरेपछि अन्य सदस्यले उनलाई बीचमै रोकेका थिए। बैठकमा रामबहादुर थापा र गिरिराजमणि पोखरेलले पनि धारणा राखे। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक भ्रमण सम्बन्धमा जानकारी गराएका थिए। उनले अमेरिकी अधिकारीले नेपालको विदेश नीति र त्यसमा पनि छिमेक नीतिबारे जिज्ञासा राखेको जानकारी दिए। अमेरिकी पक्षबाट यस्तो जिज्ञासा राखिएपछि आफूले नेपाल एउटा सन्तुलित विदेश नीतिका आधारमा अगाडि बढिरहेको, नेपालको विकासका निम्ति दुईवटै छिमेकी देशको सहायता प्राप्त भइरहेको र नेपालले त्यो सहायतालाई अझ उन्नत बनाउन चाहिरहेको जानकारी गराएको उनले बताए।

नेकपाका ४४ केन्द्रीय सदस्यले नेपाल दूरसञ्चार प्राधिकरणमा राजनीतिक नियुक्ति पाएका दिगम्बर झालाई हटाउन माग गरेका छन्। स्थायी कमिटी बैठक चलिरहेका बेला पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरेर उनीहरूले बुझाएको ज्ञापनपत्रमा भ्रष्ट वा विवादित व्यक्तिलाई गरिएका राजनीतिक नियुक्ति र त्यस्ता व्यक्तिलाई दिइएका मानपदवी तत्काल खारेज गर्न माग गरेका छन्। केन्द्रीय सदस्य विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, रामचन्द्र झा, श्रीप्रसाद साह, घनेन्द्र बस्नेत, सुरेन्द्र मानन्धर, विजय गुरुङ, गणेश पहाडीलगायत ४४ जना केन्द्रीय सदस्यले झालाई बर्खास्त गरेर भ्रष्टचारमुक्त मुलुक बनाउने अभियानको सुरुवात गर्न आग्रह गरेका छन्। यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति सुरुमै घोषणा गरेको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्नुभएको कुरा पनि जनमानसमा सञ्चारित भएकै छ। यसो हुँदाहँुदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित व्यक्तिले राजनीतिक नियुक्ति पाउन सफल भए,’ ज्ञापनपत्रमा लेखिएको छ, ‘सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवि भएका मानिस सम्माननीय राष्ट्रपति महोदयबाट विभूषित भए। यी र यस्ता कतिपय घटनाक्रम तथा कामकारबाहीले सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थायी कमिटी बैठकमा छलफलको विषय बनाइयोस्। झा र उनीजस्ता अन्य विवादितलाई पनि यथाशीघ्र पदबाट बर्खास्त गर्न पार्टीका तर्पmबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौं।,’ केन्द्रीय सदस्य खतिवडाका अनुसार शनिबार दिउँसो केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठमार्फत अध्यक्षद्वयलाई सो ज्ञापनपत्र बुझाइएको छ। ‘हामीले प्रधामन्त्री तथा अध्यक्षज्यूले राख्नुभएको अवधारणालाई सहयोग पुगोस् भनेर राजनीति नियुक्ति पाएका विवादित व्यक्तिहरूलाई हटाउन माग गरेका हौं। स्थायी कमिटिको बैठकले त्यस्ता विवादित व्यक्तिहरू हटाउन र मानपदवी खोस्न सरकारलाई निर्देशन दिने अपेक्षा गरेका छौं,’ उनले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार