तातोपानी नाका चार महिनापछि खुल्ने…………

काठमाडौं – तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ। चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्। आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ। राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन्। सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ। २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएपछि सो नाका बन्द भयो। त्यसैको एक वर्षपछि २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुग्यो। त्यसयताका बर्खे बाढी, पहिरोले २६ किलोमिटर बाह्रबिसे–लिपिङ डिकखण्ड तहसनहस भयो। भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो। यसअघि नेपाल सरकारले तातोपानी नाकाको अतिरिक्त तिब्बतबाट सामान ढुवानी गर्ने र तिब्बततर्फ मालसामान निर्यात गर्न बझाङ, रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फका व्यापारिक नाका खोल्न पनि चीन सरकारसँग आग्रह गरेको थियो। तर अन्य नाकाभन्दा तातापानीलाई चीन सरकारले बढी प्राथमिकतामा राखेको बताइएको छ। ‘नाका खुल्ने विषयमा सरकारलाई जानकारी आएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘नाका खुलेसँगै गृह मन्त्रालयले सुरक्षा प्रदान गर्नुपर्ने र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसबारे चिनियाँ राजदूतले गृहमन्त्रीलाई त्यसबारे जानकारी गराएकी हुन्।’ सन् २०१५ नोभेम्बर ५ मा काठमाडौंमा नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच थप सात नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्नेलगायत २० बँुदे सहमतिमा हस्ताक्षर भएको थियो। सो सहमतिअनुसार मुस्ताङको यारिङ, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्ने सहमति भए पनि अहिलेसम्म त्यसको सम्भाव्यता अध्ययन भने भएको छैन। नेपालको उत्तरी सीमा जोडिएको चीनसँग अहिलेसम्म सञ्चालनमा रहेका दुई नाकामध्ये तातोपानी भूकम्पपछि बन्द छ भने रसुवा–केरुङ नाका हालै सञ्चालनमा ल्याइएको छ। नेपाल–चीनका विभिन्न बैठकमा चीनले नाका सञ्चालनमा ल्याउन नेपालतिरको सडक बाधक रहेको दाबी गर्दै आए पनि अहिले भने समय नै तोकिँदा नेपालतर्फको काम छिटो सकाउन सरकारलाई दबाब परेको छ। नाका सञ्चालनमा आउने÷नआउने संशयबीच चीनले रोकिएको बन्दरगाह निर्माण कार्य सम्पन्न गर्न लागेको छ। भूकम्पपछि बन्दरगाह निर्माण पनि रोकिँदै आएको थियो। केही महिनायता पुनः सुरु भएको निर्माणले तीव्रता पाएको र बन्दरगाह निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको चिनियाँ पक्षले नेपाललाई जानकारी दिएको छ। तातोपानी नाकानजिकै लार्चामा अत्याधुनिक भवनसहितको सुक्खा बन्दरगाह निर्माण लक्ष्यभन्दा पहिले नै तयार हुने चिनियाँ पक्षले नेपाललाई जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार