हङकङमा चासोक तङ्नामको रौनक

  टोपबहादुर याक्खा

२५ डिसेम्बर, हङकङ– यले सम्वत ५०७८ को अवसरमा किरातहरुको महान राष्ट्रिय चाड उधौलीलाई किरात याक्थुङ चुम्लुङ हङकङद्धारा मंकिहिलमा चासोक तङनाम २०७५ को रुपमा भव्यताका साथ मनायो ।
चुम्लुङकी अध्यक्ष कमल कुमारी वनेम (असली) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लिम्बु समुदायका बयोबृद्ध अविभावक बुद्धमाया चेम्जोङ नेम्वाङ रहेकी थिइन भने हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, आदिवासी जनजाजाति महासंघ हङकङका अध्यक्ष किसन राई, एन.आर.एन.ए. हङकङका अध्यक्ष टिका गुरुङ लगायत विभिन्न जातिय तथा क्षेत्रिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथि रहेका थिए ।
कार्यक्रमका सभापति कमल कुमारी वनेम (असली) र प्रमुख अतिथि बुद्धमाया चेम्जोङ नेम्वाङ द्धारा पानसमा वत्ति बालेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा अतिथिहरुले चासोक तङनामको अवशरमा शुभकामना मन्तव्य राख्दै आफ्नो भाषा, भेष भुषा, संस्कृति र चाड पर्वहरुलाई यसै गरि जगेर्ना गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।
चुम्लुङका महासचिव ईन्द्र लेक्समद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमकै क्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने लिम्बु समुदायका व्यक्तित्व, कलाकार, चासोक तङनाममा उत्कृष्ट भेषभुषा लगाउँने व्यक्ति, छेलो लगायत विभिन्न खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरुलाई समेत पुरस्कार तथा प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमको समापनसंगै सुरु भएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु प्रकृति थलङ, निर्मल लिम्बु, सुरज मादेन, एकदेभ लिम्बुका साथै स्थानिय कलाकारहरु रोशा लिम्बु, सक्थिम योङया, राजु आङदम्बे लगायतले गीत गाएर मनोरञ्जन दिएका थिए भने अन्य विभिन्न कलाकारहरुद्धारा एकल तथा सामुहिक नृत्य, केलाङ नाच, धान नाच, पालम, हाक्पारे आदि प्रस्तुत गरिएको थियो ।
चुम्लुङद्धारा प्रत्येक वर्ष २५ डिसेम्बरकै सोहि स्थानमा आयोजना गर्दै आएको चासोक तङ्नाममा आफ्नो भाषा, धर्म र संस्कति प्रति सचेत हजारौंको संख्यामा लिम्बु समुदायका साथै अतिथि तथा अन्य दर्शकहरुको समेत उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार