हङकङका सुनुवारहरुले मनाए उधौली रापवा ष्याँदर

  टोपबहादुर याक्खा

३० डिसेम्बर, हङकङ– किरातहरुको महान चाड उधौलीको अवसरमा सुनुवार समाज हङकङद्धारा किरात ष्याँदर पार्क (पार्क भ्यू कन्ट्रि पार्क) मा उधौली रापवा ष्याँदर भव्यताका साथ मनायो ।
समाजका सल्लाहकार तथा नासो (पूजारी) समेत रहेका नरेश सुनुवारद्धारा किरात सुनुवारहरुको संस्कार अनुसार पारमो (पित्री तथा भूमि) पूजा गरे संगै दोस्रो चरणमा छोटो औपचारिक कार्यक्रम तथा तेस्रो चरणमा ढोल झ्याम्टाको साथमा शिली नाँच प्रदर्शन गरिएको थियो ।
सुनुवार समाजका अध्यक्ष श्यामकर्ण सुनुवारको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाती महासंघका महासचिव कृष्णराज लावती रहेका थिए भने विशेष अतिथि तथा अतिथिहरुमा समाजका सल्लाहकार तथा नासो नरेश सुनुवार, किरात राई यायोक्खाका हरिचन्द्र राई, किरात याक्खा छुम्माका सचिव टोपबहादुर याक्खा, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष सम्सेर तुम्बाहाम्फे लगायत विभिन्न जातिय तथा क्षेत्रिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए ।
कार्यक्रमका सभापति तथा प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको कार्यक्रममा विशेष अतिथि तथा अतिथिहरुले किरातहरुको महान चाड उधौलीको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रमको समापनसंगै तेस्रो चरणको कार्यक्रममा पित्री तथा भूमि पूजा गरेको स्थानबाट नासो नरेश सुनुवारको अग्रतामा ढोल र झ्याम्टाको साथ शुरु भएको शिलि नृत्यमा सुनुवार लगायत उपस्थित अन्य किरात तथा गैह्र किरात दाजु भाइ, दिदी बहिनीहरु समेत नाँचेर भरपुर मनोरञ्जन लिएका थिए ।
नेपाल सरकारद्धारा राष्ट्रिय चाडको रुपमा घोषित उधौली र उभौलीलाई देश विदेशमा रहेका ४ किरातहरुः राई, लिम्बु, याक्खा र सुनुवारले विशेष रुपमा मनाउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार