हङकङको साहित्य श्रृंखलामा फूल्यो बेलायती ‘लाहुरेनी फूल’

  टोपबहादुर याक्खा

२७ जनवरी, हङकङ–  बेलायत निवासी लेखिका सुष्मा रुपाबुङ राईको उपन्यास ‘लाहुरेनी फूल’ सार्वजनिक, समीक्षा तथा सृजना वाचन गर्दै ८१ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, संरक्षकद्धय दाजु गुरुङ र टंक सम्बाहाम्फे, सल्लाहकारद्धय बज्र कुमार राई र लालबहादुर गुरुङ, ईलाम समाज हङकङका अध्यक्ष बसन्त राई, संस्कार समाजका अभियन्ता तथा साहित्यकार पशुपति गुरुङ लगायत उपस्थित साहित्यकार तथा पत्रकारहरुद्धारा सामुहिक रुपमा ‘लाहुरेनी फूल’ को विमोचन गरेका थिए ।
पत्रकार तथा साहित्यकार मगेन्द्र राईद्धारा लेखिकाको परिचय दिएसंगै लेखिकाको माइति गाउँ ईलाम समाजका अध्यक्ष वसन्त राई, संस्कार समाजका अभियन्ता पशुपति गुरुङ, श्रृंखलाका संरक्षकद्धय टंक सम्बाहाम्फे र दाजु गुरुङद्धारा शुभकामना मन्तब्य राखिएको थियो भने साहित्यकार तथा श्रृंखलाका सल्लाहकार बज्र कुमार राईले उपन्यास ‘लाहुरेनी फूल’ माथि समीक्षा राखेका थिए । घर देशदेखि परदेश लाहुर सम्मको कथा समेटिएको आफ्नो पहिलो कृति ‘लाहुरेनी फूल’ मार्फत लेखिकाले नेपाली साहित्यमा राम्रो छाप छाड्न सफल भएको समीक्षक राईले बताए ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरीद्धारा संचालन गरिएको कार्यक्रममा पूर्णिमा शाह, पवित्रा राई, बज्र कुमार राई लगायतका सर्जकहरुद्धारा सृजना वाचन गरिएको थियो । कार्यक्रममा संखुवासभा तमु समाज हङकङद्धारा प्रकाशित ‘दारी लामाः एक शब्दचित्र’ पुस्तक समेत सार्वजनिक गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा देश विदेशका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार