मोबाइलले खोल्यो २३ किलो सुनकाे पोल…………

काठमाडौं – मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो। पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्‍यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगायो। त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो। त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए। त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई लक्ष्मणलाई खोज्न निर्देशन दिए। ब्युरोले अनुसन्धान थालेलगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नेतर्फ केन्द्रित भयो। लक्ष्मणको मोबाइल ट्रेस गर्दा कहिले सोलु, कहिले दाङ, कहिले पोखरा त कहिले काठमाडौं देखियो। अन्त्यमा ब्युरोले लुकाएको सुन फेलामात्रै पारेन, लक्ष्मणलाई पनि पक्राउ गर्‍यो। लक्ष्मणले दिएको जानकारीअनुसार उनले १४ पटक सोही गाडीमा दिल्लीबाट अयोध्या सुन ओसारेका छन्। पछिल्लोपटक दिल्लीबाट साहुजीले गाडीमा सुन हालिदिएपछि लिएर अयोध्या पुगेमा उनले तत्काल सम्बन्धित मानिस भेट्न सकेनन्। उनको मनमा फट्याइँ गर्ने सोच आयो। त्यसपछि उनी सुनसहितको गाडी हैदराबाद हुँदै नेपाल ल्याए। नेपाल आएपछि उनले प्रहरी हबलदारसमेत रहेका भाइ सुरजलाई सबै कुरा बताए। त्यसपछि दुई भाइले सुन ठेगान लगाउने उपाय खोज्दाखोज्दै गाडी हराएको उजुरी पर्‍यो। उनीहरुले सुन ठेगान लगाउन सकेनन्। गाडीलाई कोहलपुरको अतिथि होटलमा छाडेर लक्ष्मण फरार भए। सुरज भने सुन व्यवस्थापनतिर लागे। गाडी साहुले भारत लगे। गाडीमा सुन नभेटेपछि साहुजीका मानिस लक्ष्मणको घर पुगेर सुन नदिए सबैलाई मारिदिने धम्की दिए।

कहिले सोलु, कहिले दाङ, कहिले पोखरा

लक्ष्मण दिल्लीमा काम गर्थे। पछिल्लोपटक उनले सुनसहित साहुको गाडी अयोध्या, हैदराबाद हुँदै मंसिर ७ गते कञ्चनपुर ल्याए। प्रहरी हबल्दार रहेका भाइ सुरजलाई कञ्चनपुरमा भेटेपछि उनी एक महिना कोहलपुरमा बसे। गाडी साहुले लक्ष्मणको घर कञ्चनपुर भएको जानकारी पाएपछि कञ्चनपुर प्रहरीमा गाडी हराएको जाहेरी दिए। तर सुनको विषयमा केही जानकारी दिएनन्। प्रहरी स्रोतका अनुसार साहुजीले सुन हराएको जानकारी नदिए पनि त्यो गाडीमा सुन भएको गाइँगुइँ चलिरहेको थियो। ती साहुजीले जाहेरी दिएको थाहा पाएपछि कोहलपुरको अतिथि होटलमा पुस ८ गते गाडी छोडेर लक्ष्मण काठमाडौं हानिए। गाडी होटलमा बेवारिसे अवस्थामा भेटिएपछि कञ्चनपुर प्रहरीले कानुनी प्रक्रिया पुर्‍याएर भारतीय साहुको जिम्मा लगायो। लक्ष्मणले गाडीमा भएको सुन केही सुरजलाई दिए भने केही आफैंले बोकर कञ्चनपुरबाट काठमाडौं आए लक्ष्मण केही दिन काठमाडौं बसेर सोलुखुम्बु गए। सोलु घुमेर काठमाडौं हुँदै उनी दाङ पुगे। सोलुखुम्बु जानुअघि सुरजले दाजु लक्ष्मण हराएको भनेर सोह्रखुट्टे प्रहरीमा उजुरी दिए। उजुरी परेपछि ब्युरोको टोलीले खोजी गर्न थाल्यो। अनुसन्धानका क्रममा लक्ष्मणको मोबाइलबाट घरपरिवारका सदस्य र भाइ सुरजको मोबाइलमा विभिन्न म्यासेज प्रवाह भएको देखियो। सोलुखुम्बुदेखि दाङसम्म पुग्दा लक्ष्मणको म्यासेजमा सुनकै कुरा देखिएपछि ब्युरोको टोली उनको पछि लाग्यो। उनी दाङबाट पोखरा पुगे। उनलाई पोखरामा पक्राउ गर्ने तयारी भए पनि सुन फुत्किनसक्ने डरले प्रहरीले समाएन। लक्ष्मण पोखराबाट पाल्पा पुगेपछि भने सुन बेच्ने कुरा हुन थाल्यो। उनले भाइ सुरजलाई त्यसै अनुसार म्यासेज प्रवाह गर्न थालेपछि ब्युरोको टोली पाल्पाबाट उनलाई पिछा गर्दै कोहलपुर पुग्यो। कोहलपुरमा पुगेर टोलीले लक्ष्मणलाई पक्राउ गर्‍यो। कञ्चनपुरका एसपी सुदीप गिरीको टोलीले पनि सादा पोसाकमा रहेका प्रहरी हबलदार सुरजलाई कञ्चनपुरबाट पक्राउ गर्‍यो। यसरी प्रहरी १८ केजी सुन बरामद गर्न सफल भयो। त्यसपछि लक्ष्मणकै घरबाट थप पाँच किलो ६ सय ग्रामजति सुन पनि प्रहरीले बरामद गर्‍यो। उनले यसअघि पनि १४ पटक सोही गाडीमा दिल्लीबाट अयोध्यामा सुन ओसारपसार गरेका थिए। प्रहरीका अनुसार उनले साहुको सामान एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने गरेको बताएका छन्। अयोध्यामा पनि साहुको व्यापार व्यवसाय रहेको उनले बताएका छन्। ब्युरोका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार भारतीय व्यापारीले लक्ष्मणलाई गाडी चलाउने काम दिएका थिए। पछिल्लोपटक उनको मनमा बेइमानी गर्ने सोच आयो र सुन नेपाल ल्याए। चतुर्वेदीले सुन कसको हो भन्नेबारे भारतीय व्यापारीलाई अनुसन्धानको दायरामा नल्याएसम्म केही नखुल्ने बताए।

गाडीमा कति सुन थियो

गाडीमा सुन कति किलो थियो भन्ने अहिलेसम्म यकिन छैन। प्रहरी स्रोतका अनुसार दिल्लीबाट सो गाडीमा ३२ किलो सुन राखिएको थियो। लक्ष्मणले सबै सुन नेपाल ल्याए नल्याएको पनि यकिन छैन। प्रहरीले अहिलेसम्म २३ किलो ६ सय ग्राम सुन फेला पारेको छ। गाडीमा ३२ किलो नै भएको भए अन्य सुन कहाँ गयो भन्ने खुलेको छैन। तिरुवा दाजुभाइ पक्राउ परेपछि कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्डो खनेर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको थियो। त्यसपछि लक्ष्मणको शुक्लाफाँटा नगरपालिकास्थित घरबाट प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गर्‍यो। ३३ वर्षीय लक्ष्मण र २८ वर्षीय सुरजलाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ। १८ किलो सुन बरामद भएको घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरजको ससुराली हो। सुन तस्करीमा सुरजको समेत संलग्नता रहेको प्रहरीको दाबी छ। घरमा राख्दा पोल खुल्ने डरले सुरजले ससुरालीमा लुकाएको तथ्य खुलेको प्रहरीले जनाएको छ। ब्युरोको टोलीले बिहीबार पुनर्वास नगरपालिका–२ स्थित शंकर विक भनिने भरतलाल विकको घरबाट १८ किलो सुन बरामद गरेको १५ घन्टापछि शुक्लाफाँटा नगरपालिका–११ स्थित लक्ष्मणको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको हो। विकको घरबाट बिहीबार दिउँसो ११ बजेतिर र लक्ष्मणको घरबाट राति १ बजेतिर सुन बरामद भएको हो। ब्युरोका एसपी सुदीप गिरी नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार