ज्यान गयो सर्वसाधारणको…………

काठमाडौं – ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा शनिबार बिहान भेटिएकी उनकी भाउजू धनकुमारी गुरुङले भनिन्, ‘उहाँ (देवर सिमप्रसाद) दुर्घटनामा परेको खबर पाएपछि म लमजुङबाट काठमाडौं आएँ। अवस्था सामान्य होला भन्ने लागेको थियो तर नसोचेको भयो।’ प्रत्यक्षदर्शीका अनुसार गुरुङ एनसेलको गेटअघि पुग्नै पाएनन्। ‘त्यहाँ नपुग्दै ठूलो आवाज आयो। आवाजसँगै उनको शरीरको केही भाग टाढासम्म पुग्यो। प्रहरी पनि तुरुन्तै आयो। अस्पताल लग्यौं’, एक प्रत्यक्षदर्शीले भने, ‘के भयो के, थाहा पाउन सकिएन। सबै भागाभागको अवस्था आयो।’ विस्फोटबाट एनसेल मुख्यालयअघिको एक रेस्टुरेन्ट, एक क्याफे र फर्निचर पसलको समेत सिसा फुटेको छ। प्रत्यक्षदर्शीका अनुसार धुलो र धुवाँमात्रै उडेको थियो। गुरुङ सडकमै छटपटाइरहेका बेला उद्धारमा खासै कसैले ध्यान नदिएको र सबै मोबाइलबाट फोटो खिच्न लागेको एक पसलेले बताए। उनका अनुसार विस्फोटको १० देखि १३ मिनेटजतिमा प्रहरी आएपछि मात्रै उनलाई अस्पताल लैजान सकिएको ती पसलेले बताए। विस्फोटबाट घाइते उनलाई बिएन्डबी अस्पतालमा उपचार हुन नसकेपछि मेडिसिटी लगिएको थियो। विस्फोटबाट उनका दुवै खुट्टा चुँडिएका थिए, कम्मरका हड्डी भाँचिएका थिए र केही नसा चुँडिएका थिए। गम्भीर घाइते ४९ वर्षीय उनको उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको थियो। सिंगापुरे प्रहरी सेवाबाट अवकाशप्राप्त लमजुङ क्व्होलासोथर गाउँपालिका–९ मेलुङका गुरुङ केही समययता भैंसेपाटी बस्दै आएका थिए। आफन्तका अनुसार उनी सिंगापुर प्रहरीबाट २०६९ सालमा सेवानिवृत्त भएका थिए।भाउजू धनकुमारीका अनुसार सिमबहादुरका दुई छोरी र एक छोरा छन्। ठूली छोरी अस्ट्रेलियामा पढ्छिन्। सिमबहादुरको अवस्थाबारे जानकारी पाएपछि लमजुङ र पोखराबाट उनका भाउजूू र बहिनी शनिबार बिहानै अस्पताल आइपुगेका थिए। उनका साइँला दाजु श्यामप्रसाद पनि लम्जुङबाट काठमाडौं आएका छन्। उनका ठूला दाजु बेलायतमा छन्। गुरुङ चार दाजुभाइमध्ये कान्छा थिए। जेठी छोरी अस्ट्रेलियाबाट आइतबार साँझ काठमाडौं आउने पारिवारिक स्रोतले बताएको छ। उनी आएपछि अन्त्येष्टि कर्म गरिनेछ। शवको पोस्टमार्टम गरिसकिएको महानगरीय प्रहरी परिसरका डिएसपी अपिलराज बोहोराले जानकारी दिए। सिंहबहादुरकी पत्नी अर्धचेत् अवस्थामा रहेको आफन्तले बताएका छन्। सोही विस्फोटमा परी ललितपुर महानगरपालिका–४ बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का र काभ्रे बनेपा घर भई मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुसा मानन्धर पनि घाइते भएका छन्। खड्का पतिसँग मोटरसाइल चढेर घर जाँदै थिइन्। एनसेल गेटअघि पुग्दा ठूलो आवाज आएको थाहा पाए पनि उनले आफू घाइते भएको घर पुगेपछि मात्रै थाहा पाएकी थिइन्। उनले घर पुगेर आफ्नो पातोबाट रगत बगेको देखेपछि मात्रै घाइते भएको चाल पाइन्। उनी सुरुमा अल्का अस्पताल र त्यसपछि मेडिसिटी अस्पतालमा उपचारका लागि पुगिन्। उनको पातोको शल्यक्रिया गर्दा प्ररेसर कुकरको सिठी भेटिएको थियो।

६ जना पक्राउ

मोटरसाइकलमा रहेका दुई व्यक्तिले एनसेल कार्यालयको मूलढोकामा शंकास्पद वस्तु राखेर हिँडेपछि सुुरक्षागार्डले सडकमा मिल्काएका थिए। प्रहरीले शंकास्पद गतिविधि गरेको भन्दै एनसेलमै कार्यरत दुई सुरक्षागार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘सुरक्षागार्डमाथि केही शंका छ। सिसिटिभी फुटेजमा देखिएको दृश्यले धेरै कुरा बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छांै’, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले भने। उनका अनुसार प्रहरीले अन्य चारजनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुईजना सुरक्षागार्डलाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै सुरक्षागार्ड नेपाली सेनाका अवकाशप्राप्त हुन्। प्रहरी स्रोतका अनुसार एकैसाथ तीनवटा मोटरसाइकल एनसेल कार्यालयको मूल गेटमा रोकिएका थिए, त्यसमध्येको एउटा मोटरसाइकलमा भएका व्यक्तिले बम राखेको सिसिटिभी फुटेजबाट देखिएको छ। उनीहरूले सुरक्षागार्डसँग कुरा गरेको पनि देखिएको छ। प्रहरी अधिकारीका अनुसार मोटरसाइकल हिँडेलगत्तै बम विस्फोट भएको थियो। मोटरसाइकलमा रहेका व्यक्तिले कार्यालय मूल ढोकामा शंकास्पद वस्तु फालेको सिसिटिभी फुटेजमा कैद भएको छ। त्यसपछि सुरक्षामा खटिएका गार्डले नै त्यो शंकास्पद वस्तु कार्यालयको गेटबाहिर फालेको देखिन्छ। उनीहरूले त्यो शंकास्पद वस्तु गेटबाहिर किन फाले ? के उनीहरूलाई त्यो बम थियो भन्ने थाहा थियो ? भन्ने जस्ता कुरा शंकास्पद छन्। हामी यस विषयमा उनीहरुसँग अनुसन्धान गरिरहेका छौं’, प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने।

प्रहरीको एक युनिटलाई पहिल्यै सूचना

काठमाडौं, ललितपुरलगायत मुलुकका विभन्न स्थानमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विस्फोट गराएर आतंक मच्याउँदैछन् भन्ने सूचना प्रहरी प्रधान कार्यालयको एउटा युनिटलाई एक साताअघि सूचना आएको थियो। त्यो युनिटले काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी प्रमुखलाई यसबारे जानकारीसमेत गराएको थियो। त्यसैअनुसार तीनटै जिल्लाका प्रमुखले केही दिनसम्म खोजतलास गरे तर सुराक फेला पार्न नसकेपछि प्रहरी निस्क्रिय जस्तै भएका बेला शुक्रबार साँझ ललितपुरलगायत विभिन्न जिल्लामा बम विस्फोट भयो। काठमाडौंमा भने बम विस्फोट हुने अवस्था आएन। नेपाली सेनाको टोलीले त्यसलाई निस्क्रिय बनाएको थियो। मुुलुकका विभिन्न भागमा विस्फोट गराइँदै छ भन्ने सूचनालाई प्रहरीको कुनै पनि संयन्त्रले गम्भीरतापूर्वक नलिएको यसबाट देखिन्छ।

उपचार खर्च सरकारले दिने

गृहमन्त्री रामबहादुर थापाले शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर विस्फोटमा परी मृत्यु भएका र घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन्। प्रहरी महानिरीक्षकसहित अस्पताल पुगेका गृहमन्त्री थापाले सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च बेहोर्ने बताएका हुन्।

गुरुङका आफन्तको विरोध

विस्फोटबाट गम्भीर घाइते गुरुङलाई प्रहरीले सुरुमा अल्का अस्पताल र त्यसपछि बिएन्डबी अस्पताल लगेको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई मेडिसिटी लगिएको थियो। सुरुमै नजिकैको मेडिसिटी अस्पताल नलगिएको भन्दै गुरुङका आफन्तले प्रहरी रबैयाको विरोध गरे। शनिबार बिहान प्रहरी कार्यालय र घटनास्थल पुगेका आफन्तले नजिकैको अस्पतालमा नलगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरुले घटनाको छानबिन गर्नसमेत माग गरेका छन्।

गृह मन्त्रालय सूचना शून्य

गृहमन्त्री रामबहादुर थापाले एक वर्षअघि आफूले मन्त्रालय सम्हालेलगत्तै सूचना स्रोतबारे चासो राखेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग थापाले राज्यका सबै संयन्त्रमा हुने गतिविधि र मुलुकभर हुने विभिन्नखाले गतिविधिको भरपर्दो सूचना स्रोतबारे जिज्ञासा राख्दा उनलाई राष्ट्रिय अनुसन्धान विभागले सहयोग गर्ने भनिएको थियो। तर विभागलाई प्रधानमन्त्री कार्यालय मातहत सारिएको छ। अहिले गृह मन्त्रालयमा अनुसन्धान विभागका डिएसपीको कमान्डमा चारजनाको टोली राखिएको छ। त्यसको काम भनेको पत्रपत्रिकामा आएका समाचार विश्लेषण गर्नेमात्रै छ। त्यो टोलीले गृहमन्त्री वा गृहसचिव कसैलाई पनि रिपोर्ट गर्न सक्दैन।

अनुसन्धान विप्लवतर्फ

ललितपुरलगायत मुलुकका विभिन्न स्थानमा शुक्रबार राति बम विस्फोट भएपछि नेपाल प्रहरीले अनुसन्धानको सुई नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ सोझाएको छ। प्रहरीका एक उच्च अधिकारीका अनुसार एक महिनाअघि विप्लवका कार्यकर्ताले एनसेलको मुख्यालयमा चन्दाका लागि पत्रचार गरेको थियो। तर प्रहरीलाई यसबारे तत्काल जानकारी गराइएन। ‘एक महिनाअघि पत्र लेखेर चन्दा मागेका रहेछन्। केही दिनदेखि काठमाडौंबाहिरका कार्यालयमा फोन गरेरै चन्दा मागेका रहेछन् तर एनसेलका अधिकारीले प्रहरीलाई जानकारी गराएनन्’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ती अधिकारीले भने। ती अधिकारीका अनुसार एनसेलले चन्दा दिएरै मिलाउन खोजेको रहेछ तर कुरा नमिलेपछि नेकपाले बम विस्फोट गराएको देखिन्छ। बम विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। काठमाडौं उपत्यकाबाहिर भने विस्फोटस्थलमा ‘जय जनता’ लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ। चन्द नेतृत्वको नेकपाले विस्फोटका विषयमा केही बताएको छैन। शनिबार दिउँसो सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग सम्पर्क गर्न खोज्दा उनले मोबाइल उठाएनन्। यसअघि उनले सहजै मोबाइल उठाउँथे। प्रहरीले ललितपुरका विनोद लुइँटेललाई खोजी गरिरहेको छ। ललितपुरस्थित एनसेल मुख्यालयमा बम पड्काउने मुख्य योजना उनकै भएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार लुइँटेल नेत्रविक्रम चन्दका बहिनीज्वाइँ हुन्। उनी अखिल क्रान्तिकारी ललितपुरका संयोजकसमेत हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार