विद्युतीय बसबारे सचिवको दाबी झूटो……….

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ। नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ। यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए। उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए। सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन्। बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेड चीनमा बनेका पाँचवटा विद्युतीय बस अहिले नक्सालस्थित ग्यारेजमा थन्काइएका छन्। देवकोटासहितका अधिकारीले बसमा प्राविधिक कमजोरी भएको भन्दै सञ्चालनमा ल्याउन इच्छा नदेखाएपछि बस थन्किएका हुन्। मन्त्रालयले अगस्ट २१ २०१८ मा भैरहवा भन्सार कार्यालयलाई लेखेको पत्रमा चीनबाट आयात गरिएका बसको भन्सार चुक्ता गरिएको जनाइएको छ। यस विषयमा सचिव देवकोटासँग सम्पर्क गर्दा उनले बोल्न अस्वीकार गरे। उनले मन्त्रालयसँग सम्बन्धित विषयमा अब आफ्नो कुनै चासो नरहेको बताए। त्यस्तै बिवाइडी बससम्बन्धी तेस्रो पक्ष निरीक्षण रिपोर्टले पनि बस चीनमा बनेको देखाउँछ। उक्त रिपोर्ट भारतको सेन्टर इन्स्टिच्युट अफ रोड ट्रान्सपोट (सिआइआरटी) ले फरबरी २०१८ मा अवलोकन गरी ती बस चीनमा उत्पादन गरिएको जनाएको छ। विद्युतीय बस खरिदका लागि टेन्डरमा उल्लेख गरिएअनुसारका आवश्यक मापदण्डमा बस उत्पादन गरिएको जनाइएको छ। बस आयात गरिएको सीप कार्गाेबाट प्राप्त विस्तृत जानकारीअनुसार ग्वान्जाओ पर्फेक्ट इन्टरनेसनल लोजिस्टिक लिमिटेडले बस चीनमा बनेको र सेन्जेनबाट भारतको हैदराबाद हुँदै नेपाल पठाएको प्रमाणपत्र उपलब्ध गराएको छ। बस भारतमा बनेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले अगस्ट २०१८ मा मन्त्रालयलाई स्पष्टीकरण पठाएको छ। स्पष्टीकरणमा सबै बस शतप्रतिशत बिवाइडी इलेक्टिस भेइकल टेक्नोलोजीका भएको र त्यसको वारेन्टी पनि कम्पनीले लिने जनाएको छ। ती बस एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी विकास कोषले निर्माणाधीन लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म यात्रु पु¥याउन खरिद गरेको हो। विमानस्थल सञ्चालन हुनुभन्दा पहिले बस साझा यातायातले सञ्चालन गर्ने भनिएको थियो। तर बस नेपालमा आएको चार महिना हुन लाग्दा पनि मन्त्रालयले बस सञ्चालनमा ल्याउने विषयमा सक्रियता देखाएको छैन। पहिलो टलमा दुई बस नेपाल भित्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २३ अक्टोबर २०१८ मा बस उद्घाटन गरेका थिए। मन्त्रालयले गठन गरेको प्राविधिक समितिले बसमा केही प्राविधिक कमीकमजोरी पत्ता लगाएको छ। यसमा तेस्रो पार्टी निरीक्षणले भने बसमा लगाइएका पार्टपुर्जा टेन्डरमा उल्लेख गरिएअनुसार लगाइएको जनाएको छ। प्राविधिक समितिले बसको रेन्ज दुई सय किलोमिटरभन्दा कम भएको जनाएको छ। तर सिआइआरटीले भने रेन्ज टेन्टरको मापदण्डअनुसार रहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार