देशभरमा एक सय ३६ तारे होटल…………

काठमाडौं – देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रममा छन्। भूकम्पपछि मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी होटल उद्योगमा भित्रिएको छ। ती लगानीका होटल निर्माण क्रममा छन्। सञ्चालनमा आउन अझै केही समय लाग्नेछ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या एक सय ३६ पुगेको छ। यो मुलुकभर सञ्चालनमा आएका पाँचदेखि एक तारे होटलको संख्या हो। पर्यटन विभागका अनुसार मुलुकभर पाँच तारे ११ वटा, चार तारे ६ वटा र तीन तारे होटल ३५ वटा सञ्चालनमा छन्। यस्तै दुई तारे ४७ र एक तारे होटल ३७ वटा छन्। विभागका अनुसार होटल निर्माण भएर सञ्चालनमा आएपछि त्यसको भौतिक संरचनादेखि सेवा सुविधा हेरेर तारा प्रदान गरिन्छ। निर्माण गर्दा पाँच ताराको दाबी गरे पनि त्यस्ता होटलको मापदण्ड अनुसार मूल्यांकनपछि मात्रै होटलले ताराको गे्रडिङ पाउँछ। विभागको तथ्यांकअनुसार मापदण्ड पूरा गरेर पाँच ताराको ग्रेडिङ पाएका होटल ११ वटा छन्। ती मध्ये आठ वटा काठमाडौं उपत्यकामा छन् भने बाँकी तीन पोखरा र भैरहवामा छन्। त्यसमध्ये पोखराको द फूलबारी र काठमाडौंको एभरेस्ट होटल बन्द छन्। त्यसो त मुलुकभर पाँच तारे होटल धमाधम थपिने क्रममा छन्। लगानीकर्ताको दाबीअनुसार काठमाडौंमा जे डब्लू मेरिट, ठमेलमा निर्माण भएको छाँया सेन्टरमा अलफट काठमाडौं ठमेल, गैरआवासीय नेपाली शेष घलेको लगानीमा केशरमहलस्थित शेराटन चेन लगायत पाँच तारे होटल निर्माण अन्तिम चरणमा छन्। पर्यटन विभागका अनुसार होटल निर्माण भएर सञ्चालनमा आएपछि त्यसको भौतिक संरचनादेखि सेवा सुविधा हेरेर तारा प्रदान गरिन्छ। निर्माण गर्दा पाँच ताराको दाबी गरे पनि त्यस्ता होटलको मापदण्ड अनुसार मूल्यांकनपछि मात्रै होटलले ताराको गे्रडिङ पाउँछ। चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, महेन्द्रनगर, धरान लगायतका स्थानमा पनि पाँच तारे होटल निर्माण तथा सञ्चालनको क्रममा छन्। तर, ती होटलले दाबी गर्दैमा ‘तारा’ नपाउने पर्यटन विभागका अधिकारी बताउँछन्। ‘लगानीकर्ताले निर्माणक्रममै यति र उति ताराको होटल भन्ने गर्छन्,’ विभागका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले भने, ‘दाबी गर्दैमा तारा पाइने होइन।’ उनका अनुसार सरकारको आफ्नै मापदण्ड छ। होटल सञ्चालनपछि अध्ययन गरेर मापदण्डका आधारमा तारा प्रदान गरिन्छ। पाँच ताराको दाबी गर्ने तर अध्ययन गर्दा तीन ताराको मात्रै मापदण्ड पूरा गरेर तीन ताराको गे्रडिङ दिइएका धेरै उदाहरण रहेको निर्देशक थापा बताउँछन्। पाँच तारे होटल हुनको लागि उपत्यकामा एक सय र उपत्यकाबाहिर ८० कोठा हुनुपर्छ। कोठाको आकार, अट्याच बाथरुम, एयर कन्डिशनल रुम र सिसिटिभी, सम्मेलन कक्ष, स्विमिङ पुल, स्वास्थ्य क्लब, फिट्नेस सेन्टर, खेलकुद सुविधा र कफी पसल लगायतका सुविधा होटलमा हुनुपर्छ। सोही अनुसारको अन्य मापदण्ड होटलले पूरा गरेको अवस्थामा मात्रै तारा पाउँछन्। त्यसैगरी चार तारे होटलको संख्या ६ वटा छन्। सबैभन्दा कम तारे होटल नै चार तारे हुन्। शंकर होटल र होटल हिमालय काठमाडौंमा छन्। होटल ओपेरा महेन्द्रनगरमा छ। त्यसैगरी होटल कृष्णा नेपालगन्ज, होटल इच्छा सिमारा, होटल मिस्टिक माउन्टेन नगरकोटमा छन्। केशरमहलमा चार तारे फेयरफिल्ड मेरियट होटल, भैरहवामा बोधिसŒव, रेड सन जस्ता चार तारे होटल हालै सञ्चालनमा आएका छन्। तर, ती होटलले तारा भने पाइसकेका छैनन्। ताराको लागि सञ्चालनमा आएका कतिपय होटलको अध्ययन भइरहेको विभागले जानकारी दिएको छ। त्यसैगरी, मुलुकभर ३६ वटा तीन तारे होटल छन्। तीन तारासम्मका होटललाई उत्कृष्ट होटल मानिन्छ। सबै पर्यटकीय होटलको महत्व उत्तिकै भएपनि पाँच, चार र तीन तारे होटलमा लगानी तथा पूर्वाधारको हिसाबमा पनि धेरै हुन आउँछ। नेपाल होटल संघ (हान)का महासचिव विनय शाहका अनुसार यी होटलमा ठूलो लगानी हुन्छ। लगानी अनुसार योगदान, नाफा प्राकृतिक रुपमै ठूलो हुनु स्वभाविक हो। तर, त्यसो भन्दैमा दुई र एक तारा होटललाई कम मूल्यांकन गर्न मिल्दैन। तुलनात्मक रुपमा दुई र तीन तारा होटल थोरै लगानीमा खोल्न सकिने भएपनि सबै होटलको आ–आफ्नै महत्व हुने महासचिव शाह बताउँछन्। मुलुकभर ४७ वटा दुई तारे र ३७ वटा एक तारे होटल छन्। दुई तारे होटलको लागि काठमाडौंमा ४० र काठमाडौं बाहिर २० कोठा हुनुपर्छ। त्यसैगरी, एक तारे होटलको लागि उपत्यकामा २० र उपत्यका बाहिर १० वटा कोठा र सरकारले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ। पछिल्लो समय पाँचवटै वर्गका तारे होटलमा लगानी बढेको छ। तर, उक्त लगानीबाट पूर्वाधार भने तयार भइसकेका छैनन्। ‘पर्यटकीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रम देशभर नै बढिरहेको छ,’ हानका महासचिव शाहले भने, ‘दुई वर्ष यताको तथ्यांक हेर्दा करिब एक सय त्यस्ता होटल निर्माण तथा सञ्चालनको तयारीमा छन्।’ थपिएका अधिकांश होटल पाँच, चार र तीन तारे रहेको उनको भनाइ छ। अहिले होमस्टेदेखि चेन होटलसम्मको अवस्था हेर्दा करिब २५ लाख पर्यटक धान्न सक्ने वातावरण होटल उद्योगले बनाइसकेको हानको दाबी छ। पर्यटन मन्त्रालयका अनुसार पर्यटकस्तरीय होटलमा करिब ४८ हजार कोठा छन्। यी कोठामा २५ लाख पर्यटकलाई सुविधा दिन सकिन्छ। होटल व्यवसायीका अनुसार पाँच तारे होटल निर्माण गर्दा एउटा कोठाका लागि न्यूनतम एक करोड रुपैयाँ खर्च लाग्छ। सरकारले सन् २०२० लाई पर्यटन उत्सवको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। त्यसको लागि होटलको कुनै समस्या नपर्ने हानको दाबी छ। अझ सन् २०२० भित्र दर्जन बढी होटल थपिनेछन्। ती होटलमा करिब १५ सय कोठा थपिने अनुमान हानको छ। हानमा मुलुकभरका ११ सयभन्दा बढी होटल सदस्य छन्। पर्यटकस्तरदेखि पाँच तारे स्तरसम्मका होटल तथा रिसोर्ट सदस्य रहेको हानले जानकारी दिएको छ। हानको अनुमानमा काठमाडौंमा मात्रै करिब ६ सय होटल छन्। तर, करिब दुई सयले मात्रै हानको सदस्यता लिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार