पानी र हिमपातले शव काठमाडौं ल्याउन समस्या………..

ताप्लेजुङ – हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार ल्याइपुर्याएको केहि समयपछि नै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो। दुर्घटनामा परी निधन भएका मध्ये ३ जनाको शव अहिले बिहान मात्र सुकेटार एयरपाेर्टसम्म ल्याइएको थियो। उद्धार कार्यका संलग्न नेपाली सेनाका मेजर चिरञ्जीवी चौंलागाईले बिहान मौसम खुलेपनि अहिले पुनः मौसममा खराबी आएको बताए। उनले भने, ‘सुकेटारमा ३ वटा शव लिएर आइपुगे लगत्तै हिमपात र बर्षा सुरु भएपछि काठमाडौं पठाउँन समस्या छ।’ घटनास्थलबाट हिजो राती सम्ममा ४ वटा शव सुकेटार ल्याइपुर्याइएको थियो भने बाँकी ३ वटा शव ल्याउन हिमपात र बर्षाले असर गरेपछि बिहानसम्म पर्खनुपरेको थियो। अहिले शवलाई बोरामा प्याक गरिँदै छ। पर्यटनमन्त्री अधिकारीको शव मात्र चिनिने अवस्थामा रहेको छ। बोराको बाहिरी पट्टी उनको नाम लेखेर पठाउन लागिएको हो। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बादलले पूरै आकास ढाकेको र हिमपात र पानी परिरहेकोले शव पठाउन समस्या भएको बताए। मौसम झन् बिग्रदै गएकोले शव पठाउने समय अनिश्चित बनेको उनले जानकारी दिए। ३ वटा शवलाई नेपाली सेना र नेपाल प्रहरी र शसस्त्र प्रहरीको सिएआरटी टिमका कार्यदल सदस्यहरुले ट्रलीमा बाँधेर हेलिकोप्टरमा राखी यो कार्यदलमा संलग्न सेनाका २ जवान समेत डोरीमै झुण्डिएर घटनास्थलबाट सुकेटारसम्म ल्याएका थिए। बिहीबार बिहानैबाट पानी र हिमपातका कारण चिसो पनि अत्याधिक रहेको हेलिकोप्टरबाट शव झार्न र एकीकृत गर्न समेत समस्या भएको थियो। डोरीमा झुण्डिएर घटनास्थलबाट सुकेटारसम्म आएका सेनाका २ जवान सहित सुरक्षाकर्मीको अथक प्रयासले पछिल्ला ३ वटा शव ल्याउन सम्भव भएको भन्दै यो कार्यको स्थानीयले प्रशंसा गरेका छन्। बुधवार मध्यान्ह बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको ज्यान गएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार