पाकिस्तानले छाड्यो भारतीय पाइलट…………

एजेन्सी –

पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय पाइलट अभिनन्दन वर्दमानलाई रिहा गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार गरेको प्रतिबद्धताअनुसार वर्दमानलाई शुक्रबार राति साढे नौ बजे रिहा गरिएको हो।पाइलट वर्दमानलाई भारत–पाक सीमाक्षेत्र बाघा बोर्डरबाट भारतको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई बुधबार पाकिस्तानले भारत– पाक लाइन अफ कन्ट्रोल नजिकैबाट नियन्त्रणमा लिएको थियो। भारतीय लडाकु विमानलाई पाकिस्तानले खसालिदिएपछि पाइलट वर्दमान प्यारासुटको माध्यमबाट पाकिस्तानी भूमिमा ओर्लिएका थिए। त्यसपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो। फरवरी १४ मा भारत प्रशासित जम्मुकस्मिरको पुलवामा पाकिस्तानी आंकवादी संगठनले आत्मघाती हमला गर्दा ४० जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतले पाकिस्तानले सुनियोजित रुपमा हमला गरेको आरोप लगाएपछि दुवै देशबीच तनाव बढेको थियो। पुलवा घटनापछि भारतले मंगलबार पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले पनि बुधबार जवाफी कारबाही गरी भारतीय विमान खासालिदिएको थियो। भारतले एउटा लडाकु विमान खसेको र एक पाइलट बेपत्ता भएको जनाएको थियो। पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएपछि दुई मुलुकबीचको तनाव थप बढ्ने अनुमान गरिएको थियो। तर बिहीबार पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय पाइलटलाई शान्तिको संकेतका रुपमा रिहा गर्ने बताएपछि स्थितिमा सुधार आएको हो।पाइलट वर्दमानलाई लिन भारतीय वायु सेनाका उच्च अधिकारी बाघाक्षेत्र पुगेका थिए। भारतीय पाइलटलाई शान्तिको संकेतका रुपमा रिहा गर्ने पाकिस्तानी प्रधानमन्त्री खानको निर्णयको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। तर पाकिस्तानभित्रका आतंकवादी अड्डामा हमला गरी सयौँ आतंकवादी मारेको दाबी गरेको भारतले त्यसको स्वतन्त्र पुष्टि गर्न नसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको देशभित्रै व्यापक आलोचना सुरु भएको छ। भारतले हमला गरेको पाकिस्तानको बालाकोटमा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको टोलीले त्यहाँ कुनै मानवीय क्षति नभएको रिपोर्ट प्रसारण गरेपछि प्रधानमन्त्री मोदी दबाबमा परेका छन्। विपक्षी नेताहरुले समेत बालाकोटमा गरिएको दाबीको प्रमाण पेस गर्न मोदीलाई चुनौती दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार भारतले हमला गरेको भनिएको क्षेत्रमा एउटा काग मात्र मरेको पाइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार