सरकारप्रति दाहाल निराश………….

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् । दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसामु सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको, समीक्षा गर्नुपर्ने बताएका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने दोहोर्याए । ‘दिवंगत नेताहरुको चाहना तथा उहाँहरुले जनतासँग भोट मागेअनुसार सरकारमा बसेर हामीले काम गर्न सकेका छौं कि छैनौं, अहिले आएर सरकारको समीक्षा पनि गर्नुपर्ने अवस्था आएको छ । यो विषयमा पार्टीभित्र पनि कुरा उठेको छ’, उनले भने । फागुन ११ गते भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटनका क्रममा दाहालले कहिलेकाहीं आफूलाई पनि राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्ने गरेको अभिव्यक्ति दिए । ‘समृद्धिको यात्रा भनेको कृषिको आधुनिकीकरण र रोजगार वृद्धि हो,’ दाहालले भने, ‘हामीले ठूला कुरा गर्दै आएका छौं तर कृषि उत्पादनका उपभोक्ता र कृषकको दूरी घटाउन सकेका छैनौं ।’ उनले बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थितिमै सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको भन्ने समीक्षा गर्नुपर्ने बताए । दाहालबाट सरकारको समीक्षाको कुरा किन आइरहेको छ ? नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए । सरकारमा रहने र सरकारका कामकारबाहीका विषयमा किन आलोचना भइरहेको छ भन्नेबारेमा समीक्षा गरौं भन्ने कुरा उठिरहेको उनले बताए । ‘गएको स्थायी कमिटी बैठकमा यो विषयमा कुरा उठेको थियो तर सरकारको समीक्षा गर्नकै लागि छुट्टै बैठक बस्ने भनेपछि त्यस बेला समीक्षा हुन सकेन र सरकारको समीक्षाकै लागि भनेर बैठक पनि बस्न सकेन त्यस कारण दाहालले प्रधानमन्त्रीका अगाडि समीक्षाको कुरा उठाउनुभएको हुनसक्छ’, उनले भने । राजनीतिक विश्लेषक झलक सुवेदीले दाहालको अभिव्यक्ति प्रधानमन्त्री र सरकारविरोधी नभई सरकारले गरेका कामकारबाहीप्रति जनस्तरमा उठेका प्रश्नको सम्बोधनका लागि आएको हुन सक्ने बताए । ‘भक्तपुरको कार्यक्रममा उठाइएको विषयचाहिँ युवालाई सम्बोधन गर्ने तहको देखिन्छ भने बिहीबारको अभिव्यक्तिमा सरकारको गतिविधिबारे विभिन्न कोणमा जनस्तरमा भइरहेका टीकाटिप्पणीलाई सम्बोधन गर्ने अभिप्राय देखिन्छ’, विश्लेषक सुवेदीले भने । उनले पार्टीभित्र समेत विभिन्न प्रश्न उठेको बताउँदै सरकारको कामको समीक्षा गर्दा टीकाटिप्पणी कम हुन सक्ने कोणबाट पनि दाहालको अभिव्यक्ति आएको हुन सक्ने बताए । दाहालले सोही कार्यक्रममा मानिसको मृत्युबारे पहिलोपल्ट आफ्नो परिभाषा सुनाएका थिए । ‘मृत्यु कि प्वाँखजस्तो हलुको कि पहाडजस्तो भारी हुन्छ । अधिकारीद्वयको निधन पहाडजस्तो गह्रौं भएको छ’, दाहालले भने, ‘हाम्रो मृत्यु कस्तो बनाउने त्यो हाम्रै हातमा छ । हामी केही लिएर जाँदैनौं धन, पैसा र घर लाँदैनौं, नांगै जान्छौं,’ दाहालले मानिसको निधनबारे गीतासार सम्झँदै भने, ‘यो पनि समीक्षा गरौं ।’ सरकारले गरेका कामकारबाहीबारे जनस्तरमा चर्चापरिचर्चा चलिररहेका बेला दाहालले सार्वजनिक कार्यक्रममै कुरा उठाएपछि यसलाई राजनीतिक रुपमा हेर्न थालिएको छ । पार्टी एकीकरण हुँदा प्रधानमन्त्रीको कार्यकाल दुई अध्यक्षबीच बाँड्ने भद्र सहमति भएको विषयलाई यो प्रसंगमा जोडेर हेर्न थालिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार पाँच वर्ष चल्ने अभिव्यक्ति दिएका थिए भने सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सरकार निर्धक्क पाँच वर्ष चल्ने दाबी गरेका थिए । प्रधानमन्त्री र उपप्रधानमन्त्रीको यस्तो दाबीपछि दाहालको अभिव्यक्ति आएको आशंका पनि गरिएको छ । पार्टी स्थायी कमिटीको बैठकमा सरकारको समीक्षा गर्ने विषयमा कुरा उठे पनि प्रधानमन्त्री अग्रसर नभएपछि दाहालको अभिव्यक्ति आएको पनि आशंका गरिएको छ । दाहालले सरकारको समीक्षा गर्नुपर्छ भनेपछि प्रधानमन्त्री ओलीले यो सरकारले असाधारण काम गरिरहेको छ भनेका थिए । ‘यो सरकारले असाधारण काम गरिरहेको छ । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउने समय छ, केही भएन हुँदै भएन भन्ने कुरालाई मानिसहरुले भनिरहेकै हुन्छन् तर पनि यो सरकारले राम्रो काम गरेको छ’, दाहालको अव्यिक्तिपछि उनले भने ।

सचिवालय बैठक बोलाउन माग

पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारको समीक्षा गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेसँगै नेकपाका शीर्ष चार नेताले केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका छन् । १० फागुनपछि सचिवालयको बैठक बस्न नसकेको अवस्थामा शीर्ष चार नेताले बैैठक तुरुन्तै राख्न माग गरेको स्रोतले बतायो । पार्टी एकताका लागि गठन गरिएको कार्यदल विघटन गरेपछि बैठक बस्न सकेको छैन । स्रोतका अनुसार केन्द्रीय सचिवालयमा रहेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी कार्य टुंग्याउन बैठक आवश्यक रहेको भन्दै सचिवालयको बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको कुराकानीमा बैठक बोलाउनुपर्ने बताएका थिए । ‘निरन्तर बस्नुपर्ने बैठक रोकिएको धेरै दिन भयो । विभिन्न कारणले रोकिएको भए पनि अब ढिलाइ गर्नुहुँदैन । छिटै बैठक बसेर एकता प्रक्रिया टुंग्याउनुपर्छ । त्यसकारण बैठक आवश्यक भएको हो’, स्रोतले भन्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार