उच्च मनोबलमा नेपाली महिला फुटबलको तयारी…………

मोरङ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ । सहिद रंगशालामा नेपाली टोलीले खरो परीक्षा मात्रै दिँदै छैन, नेपालले सफल आयोजनाको चुनौती पनि सँगै सामना गर्दै छ ।काठमाडौंबाहिर पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । यस प्रतियोगितासँगै प्रदेश १ ले खेलकुदको विकास थालेको खेलसम्बद्ध विभिन्न व्यक्ति बताउँछन् । फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल गर्ने अवसर विराटनगरले प्राप्त गरेको एन्फाका प्रवक्ता तथा साफ महिला च्याम्पियनसिपका प्रचारप्रसार संयोजक किरण राईले बताए । प्रतियोगिताका लागि नेपाली खेलाडी पूर्ण रूपले तयार रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए । अभ्यासका क्रममा खड्काले भने, ‘टोली घरेलु मैदानको पूरै फाइदा लिँदै उपाधि उचाल्ने दाउमा छ ।’ तीन साताअघि भारतमा आयोजित हिरो गोल्डकपमा उपविजेतामा चित्त बुझाएको नेपाली टोली साफका लागि कडा रूपमा मिहिनेत गरिरहेको छ । ‘हाम्रो टोली मानसिक र शारीरिक रूपमा प्रतिस्पर्धा गर्न सक्षम छ,’ खड्काले भने, ‘यसमा प्रदेश १ का फुटबलप्रेमीको साथले टोलीलाई थप हौसला मिल्नेछ। गोर्खालीपन र भिड्न सक्ने टोलीको शैलीलाई मैदानमा कायम राख्ने बताउँदै खड्काले भुटान र बंगलादेशविरुद्धका लिग जित्दै सेमिफाइनल पुग्नका लागि रणनीति बनाइरहेको बताए । सुरुआती दुई खेलपछि अंक हेर्दै भारतका विषयमा केन्द्रित हुने उनको भनाइ थियो। नेपाल टोलीकी कप्तान निरु थापाले पनि घरेलु मैदानमा शतप्रतिशत नतिजा दिन आफूहरू तयार रहेको बताइन् । मैदानको तयारीलाई लिएर हर्षित थापाले विगत साफका तीता अनुभवलाई बिर्संदै यस पटक इतिहास रच्नेतर्फ टोली केन्द्रित रहेको बताइन्। मिहिनेतको फल प्राप्त हुने र त्यसका लागि टोली पूर्ण रूपमा तयार रहेको कप्तान थापाले दाबी गरिन्। यसअघि नेपालले समूहचरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । बंगलादेशसँग भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित र एकमा बराबरीको गरेको छ भने भुटानविरुद्ध पछिल्ला ५ खेलमा जित हासिल गरेको छ । प्रतियोगितामा सहभागी हुन भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका टोली आइतबार बेलुकासम्म विराटनगर आइसक्नेछन् । ९ वर्षअघिबाट सुरु भएको साफ महिला फुटबलमा हालसम्म भारतले चारै पटक उपाधि जितेको छ नेपाल तीन पटक उपविजेता भएको छ । एक पटक बंगलादेश उपविजेता भएको छ । पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबै पक्षले सहयोग गर्दै आएको र अझ यसलाई बढी प्रभावकारी बनाउन सबैले यसकोे प्रचारप्रसार गर्नुपर्छ,’ राईले भने, ‘हामीले खेलको प्रचारप्रसार विभिन्न माध्यमबाट गर्दै आएका छौं । प्रदेश १ मा मात्रै खेलको प्रचारप्रसारलाई सीमित नबनाई देश तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गर्दै आएका छौं ।’ यहाँ हुन लागेको खेलले नयाँ खेलाडीमा उत्साह थप्ने र नयाँ खेलाडीसमेत आउने राईको भनाइ थियो । उनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको बताए । ‘हामीले खेललाई सुरक्षित र भयरहित बनाउन सबै सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षा रणनीति बनाएका छौं । दर्शक र मैदान सुरक्षाका लागि प्राइभेट सुरक्षाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथी हुन्छन् । खेलाडीलाई प्रहरीको स्कटिङ तथा बस्ने होटलमा समेत प्रहरीको सुरक्षा व्यवस्था मिलाएका छौं,’ राईले थपे, ‘दर्शक तथा प्रतियोगिताका अन्य पाहुनाको सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग सहकार्यमा त्यसको व्यवस्था मिलाएका छौं । रंगशालाको प्यारापिट र शौचालयलगायतका संरचना महिला तथा पुरुषमैत्री बनाएका छौं ।’ १० हजार दर्शकले प्यारापिटमा बसेर खेल हेर्न सक्ने राईले बताए । प्रहरीले विराटनगरमा हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सुरक्षाका लागि मदिरा बिक्री र सेवनमा कडाइ गर्न थालेको छ । प्रतियोगिता नजिकिँदै गर्दा सुरक्षाव्यवस्था मजबुत बनाइएको छ । मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलप्रतियोगिताका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको बताए। अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले विशेष सुरक्षा व्यवस्था मिलाएको केसीको भनाइ थियो । ‘प्रतियोगिताका लागि विशेष सुरक्षा रणनीति तयार पारेका छौं,’ केसीले भने, ‘सुरक्षामा कुनै कमीकमजोरी नहोस् भन्दै विराटनगर र आसपासका क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाउन थालेका छन् । सुरक्षाकै कारण नेपालको छवि नबिग्रोस् भनेर सुरक्षा निकाय संवेदनशील छ । खेलाडी, अफिसियल, पाहुना बस्ने स्थान तथा खेलाडी टोलीले आवश्यक अभ्यास गर्ने स्थान र दर्शकको समेत सुरक्षामा ख्याल पुर्याइएको केसीले बताए । ‘विशेष गरेर प्रतियोगिता आयोजना स्थल र नगरक्षेत्रको सुरक्षामा ध्यान दिएका छौं,’ केसीले भने, ‘राजमार्ग र सहायक मार्गमा सुरक्षाकर्मीको विशेष टोली खटाएर सुरक्षा निगरानी बढाएका छौं ।’ अन्य सुरक्षा निकायसँग सुरक्षासम्बन्धी समन्वय मिलाएको केसीको दाबी थियोे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार