भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा………..

नयाँ दिल्ली- भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्। मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गरे। उनका अनुसार निर्वाचन सात चरणमा हुनेछन्। अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुनेछ भने १९ मेसम्म सातौ चरणको निर्वाचन हुनेछ भने सबै निर्वाचनको परिणाम मे २३ मा सार्बजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ। पहिलो चरण अर्थात् अप्रिल ११ मा हुने निर्वाचनबाट २० राज्यका ९१ जनप्रतिनिधिको चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा अप्रिल १८ मा १३ राज्यका ९७ सीटका लागि मतदान गरिनेछ। त्यस्तै१४ राज्यका ११५ लोक सभा सदस्यका लागि आगामी अप्रिल २३ मा तेस्रो चरणको मतदान हुने निर्वाचन आयोगले तोकेको छ। चौथो चरणको निर्वाचन अप्रिल २९ मा ९ राज्यका ७१ सीटका लागि मतदान हुनेछ भने पाँचौँ चरणको निर्वाचन मे महिनाको ६ तारिखमा सात राज्यमा ५१ सीटका लागि निर्वाचन गरिने छ। त्यस्तै छैठौँ चरणमा सात राज्यका ५९ र सातौँ चरणमा आठ राज्यका ५९ सदस्यका लागि क्रमशः मे १२ र मे १९ मा मतदान गरिने निर्वाचन आयोगले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिने घोषणा गरिसकेका छन्। त्यस्तै प्रतिपक्षी दल भारतीय काँग्रेसले पार्टीका अध्यक्ष राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा जानेछ। लोकसभा निर्वाचनका लागि झण्डै ९० करोड नागरिक मतदानका लागि योग्य रहेका छन्। भारतमा जम्मा एक अर्ब २५ करोड जनसङ्ख्या रहेको छ।  एएफपी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार