प्रतिपक्षीको अनुपस्थितिबिनै धमाधम सिफारिस………

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए।तर प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषद्को बैठक राखेर निर्वाचन आयोगको प्रमुख र समावेशी आयोग अध्यक्षमा नाम सिफारीस गरेपछि सरकार र प्रतिपक्षीबीच दूरी थप बढेको छ। संवैधानिक व्यवस्थाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै यसअघि पाँच संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गरेकोमा असन्तुष्ट प्रमुख प्रतिपक्षी संसदीय सुनुवाइ समिति बैठक बहिष्कार गर्दै आएका छन्। संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोग प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई नियुक्तिका लागि सिफारिस गरेको छ।प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिसको निर्णय गरेको हो।थपलियाले मन्त्रालयबाट सोमबार नै सचिव पदबाट राजीनामा दिएका हुन्।राजीनामा दिएलगत्तै उनी प्रमुख आयुक्तमा सिफारिस भएका हुन्। सचिव थपलिया २०४१ सालदेखि ६ वर्ष प्राविधिक सेवासहित २७ वर्ष प्रशासन सेवामा काम गरिसकेका छन्। उनी सचिवबाट एक महिनापछि उमेर हदका कारण अवकाश लिने क्रममा थिए।अवकाश लिनुअघि नै उनी संवैधानिक आयोगको प्रमुखमा सिफारिस भएका हुन्। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६ वर्षको कार्यअवधि सकेर अनिवार्य अवकाश लिएका छन्।यादवको अवकाशलगत्तै संवैधानिक परिषद्ले थपलियालाई सिफारिस गरेको हो।निर्वाचन आयोगमा आयुक्त इला शर्माले पनि कार्यअवधि सकिएपछि अवकाश लिएकी छन्। ‘संवैधानिक परिषद्को बैठकले दिनेश थपलियालाई सिफारिस गरेको छ’, परिषद सदस्य एवं उपसभामुख शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘उहाँ (सचिव) ले राजीनामा दिइसक्नुभएको थियो ।’ बहालवाला सचिवलाई किन भन्ने प्रश्नमा ‘रिटायर हुने बेला भइसकेको र राजीनामा दिएका कारण थपलियालाई सिफारिस गरिएको हो’, उनले भनिन्। त्यसैगरी बैठकले समावेशी आयोगको अध्यक्षमा विष्णुमाया ओझालाई सिफारिस गरेको छ।हेटौंडा घर भएकी ओझा तत्कालीन नेकपा प्रदेश कमिटीकी सदस्यसमेत हुन्।ओझा अखिल नेपाल महिला संघकी नेत्रीसमेत हुन्।बाँकी रहेका आयोगका लागि अर्को बैठकले सिफारिस गर्ने सदस्य तुम्बाहाम्फेले बताइन्।महिला आयोगको अध्यक्षलगायतको सिफारिस गर्न बाँकी छ।आगामी बैठकमा महिला आयोगको अध्यक्षमा समेत सिफारिस गरिने उनले बताइन्। सोमबारको परिषद् बैठकमा सदस्य एवं विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएनन्।देउवाले पत्रमार्फत आफू संसदीय दलको बैठक भएकाले उपस्थित हुन नसकेको जानकारी गराएको तुम्बाहाम्फेले बताइन्।‘विपक्षी दलको नेताले पत्र पठाउनुभएको थियो।संसदीय दलको बैठकका कारण आउन नसकेको जानकारी दिनुभएको थियो।चैत महिनाको २२ सम्म आफ्नै पार्टीको काम भएकाले बैठक उपयुक्त समयमा राख्न समेत पत्रमा उल्लेख छ’, उनले भनिन्। प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सोमबार बिहान परिषद् अध्यक्षलाई पत्र लेखेर सोमबार दलको बैठकमा व्यस्त रहनुपर्ने भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेको देउवाका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए।परिषद् बैठकको जानकारी प्राप्त भएको जनाउँदै देउवाले संसदीय दलको बैठकमा व्यस्त रहनुपरेकाले उपयुक्त समयमा बैठक राख्न लेखी पठाएको उनले जानकारी दिए।यसअघि प्रतिपक्षी दलका नेता देउवा उपत्यकाबाहिर रहेका बेला माघ ६ गते परिषद्को बैठक राख्दै प्रधानमन्त्री ओलीले पाँच संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गराएका थिए। संवैधानिक आयोगको प्रमुखमा सिफारिस भएका थपलिया र ओझाको संसदीय सुनुवाइ समितिबाट सुनुवाइ हुनेछ।समितिबाट स्वीकृत भइसकेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।यसअघि परिषद्बाट सिफारिस भएका पाँचवटा आयोगका अध्यक्षले गत बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।त्यसमध्ये मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार