दाजु गुरुङका ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कार

  टोपबहादुर याक्खा

२१ अप्रिल, हङकङ–  नेपाली भाषा तथा साहित्य परिषद हङकङद्धारा दाजु गुरुङका कथा संग्रह ‘टाँकीका फूलहरु’ लाई पारिजात पुरस्कारद्धारा पुरस्कृत गर्यो ।
बगैचा रेष्टुरेण्टमा आयोजित पारिजात स्मृति दिवस तथा पुरस्कार प्रदान कार्यक्रम–२०१९ का प्रमुख अतिथि नेपालबाट आएकी चर्चित कवि तथा उपन्यासकार प्रगति राई र साहित्य परिषदका अध्यक्ष किसन राईद्धारा कथा संग्रहका सर्जक गुरुङलाई खदा ओढाएर सम्मान गर्दै ताम्रपत्र सहित नगद पुरस्कार हङकङ डलर २ हजार २ सय २२ हस्तान्तरण गरेका थिए । परिषदले विगत ४ वर्षदेखि हङकङबाट प्रकाशित वर्ष भरिका उत्कृष्ट १ कृतिलाई पारिजात स्मृति दिवसको अवसरमा उक्त पुरस्कार दिदै आएको छ ।
परिषदका सचिव नन्दलाल थोकरद्धारा संचालन गरिएको कार्यक्रममा साब्लाबुङका प्रकाशक तथा सम्पादक एवं पारिजात पुरस्कार छनौट समितिका सदस्य राज कुमार राई, हङकङ साहित्यिक साझा श्रृंखलाकी सह–संयोजक एवं गतसालको पारिजात पुरस्कारद्धारा पुरस्कृत सुनिता गिरी, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे  र एन.आर.एन.ए.की अध्यक्ष टिका राना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पारिजात पुरस्कारद्धारा पुरस्कृत दाजु गरुङले मन्तब्यका क्रममा भने ‘हङकङमा दिन भरि चाइनिजको गाली खादै फेसबुकभरी नेपाललाई गाली नगरौं, बरु हङकङकै हाम्रा कथाब्यथाहरु पोखौं । मेरो टाँकीका फूलहरु यसैको उपज हो जसलाई योग्य ठानेर पुरस्कृत गरिदिनु भएकोमा छनौट समिति र साहित्य परिषद प्रति आभारी छु ।’
प्रमुख अतिथि नारी हस्ताक्षर प्रगति राईले विदेशमा रहेका राजनैतिक हुन या जातिय, क्षेत्रिय, साहित्यिक संघसंस्थाहरु नेपालले केबल आर्थिक सहयोगको स्रोतका रुपमा मात्रै देख्ने गरेको भन्दै आफू नेपालमा रहेता पनि त्यस्तो व्यावहारको विरुदै  आफू सधै विदेशमा रहेका नेपालीहरुको पक्षमा बोल्ने र लेखिरहने बताईन् । अर्को प्रसंगमा उनले भनिन् ‘नेपालमा अहिले पुरस्कार पाएका पुस्तक र लेखकहरुको मात्रै चर्चा हुने हुँदा हरेक लेखकहरु पुरस्कारकै पछाडी दौडिरहेको हुंदा लेखाईमा नयाँ पन आउँन सकिरहेको छैन भन्दै पुरस्कार भन्दा पनि पाठकहरुलाई नयाँ खुराक दिन लेखकहरु लागि पर्नु पर्नेमा उनले जोड दिइन ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार