मृगौला पीडित निर्मल फियाक सहयोगको लागी ‘केःसाङ्ला’को च्यारिटी शो

काठमाडौं ।

राजधानीको कमलपोखरी स्थित बिग सिनेमा हलमा शनिबार सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’ हेरेका छन् । फिल्म आधा हेरेपछि बाहिरिएका उनले भाषा नबुझेर पनि रामाइलो लागेको प्रतिक्रिया दिए ।
लिम्बू संस्कृतिमूलक ‘केःसाङ्ला’को च्यारिटी ‘शो’  मा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले भने, ‘लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यारिटी शो गर्नु आफैमा सह्रानीय कार्य हो ।’ उनले भाषिक तथा जातीय फिल्महरुले नेपालको वास्तविक संस्कृति उजागर गर्ने पनि बताए ।
लोकेन सावा लिम्बू निर्देशित फिल्म ‘केःसाङ्ला’ झापास्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ विशेष च्यारिटी गरिएको हो । च्यारिटी शोबाट संकलित रकममध्ये खर्च कटाएर शनिबार नै मृगौलापीडित निर्मललाई १ लाख ६४ हजार २०५ रुपैयाा हस्तान्तरण गरिएको छ ।
यसअघि हङकङ र मोरङमा पृपियर  गरिएको यो फिल्म राजधानीमा पहिलोपटक च्यारिटी शो गरिएको हो । मृगौलापीडित का लागि च्यारिटी शो भएकाले दर्शकको भीड लागेको थियो ।
फिल्मका निर्देशक लिम्बूले मनोरञ्जनसंगै सामाजिक काममा सक्रियता बढाउन च्यारिटी शो गरिएको बताए । उनले भने, ‘मृगौला रोगीको सहयोगका लागि आज सबैको साथ जुटेको छ ।’ चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल आदिवासी सांसद एलपी साावा लिम्बू, जनजाति महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पा, निर्देशक नविन सुब्बा लगायतले पनि फिल्म हेरेका थिए ।
फिल्ममा लिम्बू समुदायको परम्परागत बाँजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामग्रीको कथालाई चित्रण गरिएको छ । फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाङगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फे लगायतको अभिनय रहेको छ । यो फिल्म अब हुन गइरहेको ‘आदिवासी फिल्म फेस्टिवल (२०७६) मा समेत छनोट परेको निर्देशक लिम्बूले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार