२५ वर्षदेखि निरन्तर सिक्किममा रहेको चाम्लिङ सरकार अन्त्य

भारतको सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटकको चुनावमा पल्टिएको छ ।

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो ।

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये पीएस गोले नेतृत्वको एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने निश्चत भएको छ ।

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका थिए ।  तर उनको पार्टीलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले विपक्षमा धकेलिदिएको छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् ।

कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहे पनि एसडीएफलाई सत्ताबाट विपक्षको बाटो देखाउन भने सहयोगी भूमिका खेलेको देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार