पार्टी बैठकमा जान सेनाको हेलिकप्टर……….

हुम्ला– गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्। नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा सेनाको हेलिकप्टरबाट गरेका हुन्। हुम्लाका लागि अहिले दैनिक नेपालगञ्ज र सुर्खेतदेखि नियमित दर्जनौं हवाई उडान भरिरहेका बेला कर्णाली प्रदेशमा हुने आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा राखिएको हेलिकप्टरलाई मुख्यमन्त्री शाही र मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन्। नेपाली सेनाको नाइन एन आरएआई कलसाइन भएको हेलिकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री शाही, र सामाजिक विकास मन्त्री रावल सिमकोट आएका थिए। एक दिनको सिमकोट बसाइपछि मुख्यमन्त्री, मन्त्रीलगायत नेकपा नेता सोही हेलिकप्टरमा सिमकोटबाट मुख्यमन्त्री शाहीको गृह जिल्ला कालिकोट हुँदै सुर्खेत फर्किएका थिए। यहीँ मौका छोपेर हुम्लाको ताँजकोट गाउँपालिकालाई ८ गते मदिरामुक्त गाउँपालिका घोषणा कार्यक्रम गर्ने भनेर मुख्यमन्त्री शाहीसहितका नेकपा नेताहरुलाई समेत निमन्त्रणा गरेर ताँजकोट गाउँपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले व्यहोर्ने भनिए पनि घोषित कार्यक्रम स्थगित भएपछि नितान्त पार्टी कामकै लागि सेनाको हेलिकप्टर प्रयोग भएको छ। तर ताँजाकोटमा तय गरिएको कार्यक्रममा मुख्यमन्त्री र अन्य नेताहरु गएको भए पालिकाले खर्च व्यहोर्ने निर्णय भए पनि वर्षाका कारण स्थगन भएपछि गाउँपालिकाबाट भुक्तान नहुने ताँजकोट गाउँपालिका अध्यक्ष बगदल मल्लले बताए। पालिकाको कार्यक्रममा नभई पार्टीको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र मन्त्री आएकोले उक्त रकम पार्टीले नै व्यहोर्नुपर्ने अध्यक्ष मल्लले बताए।पाटीको कार्यक्रममा सहभागी हुन नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा र आफू जहाजमा जाने तयारी भई टिकटका लागि एयरलाइन्सलाई भनिसकेको सामाजिक विकास मन्त्री एबं नेकपा हुम्लाका पार्टी सचिब दल रावलले जानकारी गराए। ‘तर ताजाकोट गाउँपालिकाका अध्यक्षले मदिरामुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको भन्दै मुख्यमन्त्रीलाई लिएर अनुरोध गरे। जहाजमा आएर ताजाकोट जान सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर सिमकोट भएर ताजाकोट जाने कार्यक्रम तय भयो। तर, प्रतिकुल मौसमका कारण ताजाकोटको कार्यक्रममा सहभागी हुन सकेनौं। त्यसकारण हेलिकप्टर प्रयोग गर्दा लागेको सबै भाडा व्यक्तिगत रुपमा मैले तिर्ने निर्णय लिएको छु,’ मन्त्री राववले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार