सिरियल किलर’लाई जन्मकैदको फैसला………

निकोसिया — एक नेपाली सहित ७ जनाको हत्या गरेको आरोपमा ग्रिस मूलका एक साइप्रस सेनाका क्यापटेनलाई त्यहाँको एक अदालतले आजीवन कारवासको सजाय सुनाएको छ । घरलु कामदारका रुपमा साइप्रस पुगेकी नेपाली महिला अस्मिता खड्का विष्ट, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालबालिकाहरुलाई निकोस मेटाक्सास नाम गरेका ती सैन्य अधिकृतले नियतवस हत्या गरेको अदालतले ठहर गरेको छ। मारिने सबै घरेलु कामदारका रुपमा साइप्रस पुगेको र हत्या भएका बालबालिकाहरु पनि मारिने महिलाहरुकै सन्तान भएको बताइएको छ। ३५ वर्षीय ती सैन्य अधिकारीले सन् २०१६ देखि २०१८ को अगस्टमा ती महिला र बालबालिकाको हत्या गरेका थिए। शृंखलाबद्ध हत्याले सिंगो मेडिटेरानियन टापुलाई नै स्तब्ध बनाएको थियो। सोमबार निकोसियाको अदालतमा उनलाई कडा सुरक्षाकाबीच उपस्थित गराइएको थियो। उनलाई हत्या र अपहरणको मुद्दा चलाइएको थियो। ती सैन्य अधिकारीले अदालत सामू आफूमाथि लागेको सबै आरोप स्वीकार्दै आँशु झारेको एएफपीले जनाएको छ। अदालतमा वकिलले मेटाक्सासले गरेका अपराधको सम्पूर्ण बयान पढेर सुनाएका थिए। त्यसपछि आरोपितले हातले लेखेको एउटा सानो कागजमा पढेर आरोप स्वीकारेका थिए। उनले मृतकका आफ्नतहरुसँग क्षमा मागेका थिए। ती आरोपितले अदालतमा आफूले किन उक्त कार्य गरेको भन्नेबारे आफूलाई नै थाहा नभएको बताउदै आफूले घृणित काम गरेको स्वीकारेका थिए। निकोसियाको क्रमनले कोर्टका तीन जनाको न्यायधीशरुले ‘प्रतिरक्षा गर्न नसक्ने महिलाहरुलाई श्रंखलाबद्ध तवरले हत्या गरेको’ ठहर गरेका थिए। ती आरोपितलाई अदालतले ७ वटा अजीवन जेल सजायको कारावास सुनाएको थियो। जसमा पहिलो ५ वटा सजाय २५/२५ वर्षको हुने र बाँकी दुईवटा सजाय सँगै हुने फैसला गरेको थियो। आरोपितले उक्त निर्णय विरुद्ध अपिल नगर्ने बताइएको छ। उनलाई हत्या बाहेक लगाइएका अन्य आरोपहरुमा सजाय सुनाइएको छैन। साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिले यतिधेरै सजाय सुनाइएको यो पहिलो पटक हो। यो घटनाका कारण साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए भने त्यहाँको न्यायमन्त्रीले राजीनामा दिएका थिए। ती महिलाहरु विदेशी नागरिक भएकाले थप अनुसन्धान नगरेको भन्दै प्रदर्शनकारीहरुले प्रहरीलाई विभिन्न आरोप लगाएका थिए। त्यहाँका राष्ट्रपतिले प्रहरीको भूमिकाप्रति असुन्तुष्ट जनाउँदै सुरुदेखि नै अनुसन्धान गरेको भए थप घटना नहुन सक्ने बताएका थिए। यो घटना गत अप्रिल १४ मा पर्यटकहरुले एक जना महिलाको शव खानीको नालीमा देखेका थिए। भारी वर्षाले उक्त शव नालीमा ल्याइपुर्याएको थियो। शवको पहिचानपछि प्रहरीले थप अनुसन्धान गर्यो। त्यसको ४ दिनपछि आरोपित सैन्य अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परिसकेपछि मेटाक्सासले प्रहरीलाई अनुसन्धान गर्न सघाएका थिए। प्रहरीले केही शवहरु रेड लेकको विभिन्न क्षेत्रहरुमा ३ वटा सुटकेशभित्र फेला पारेको थियो। बच्चाको शव तालमा फेला पारिएको थियो। इरजायली र ब्रिटिस विज्ञहरुको सहयोगमा अधिकारीहरुले बच्चाको शव तालबाट फेला पारेका थिए। बच्चाको शव एउटा कार्पेटभित्र सिमेन्टको ब्लकले थिचेर राखिएको थियो। साइप्रेली सरकारले मृतक सातै जना परिवारका आफन्तलाई किरियाखर्च बापत् १७ हजार युरो दिने निर्णय गरेको छ। घरेलु र अदक्ष कामदारका लागि साइप्रस पूर्वी युरोप र एसियाको मानिसहरुका लागि एउटा प्रमुख गन्तव्यको रुपमा पर्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार