तीन सचिवले डुबाए………..

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। सोमबार अपरान्ह मन्त्री यादवले पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको बताएका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ। मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे। उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए। मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए। आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्विकारोक्ति थियो। उनले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहो-याएका थिए। उनले आफूले हरेक निर्णय राष्ट्रको हितमा गरिरहेको दावी पनि गरे। पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टिकरण दिएका थिए। सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार