कालिमाटीपछिको ठूलो बुटवलको विषादी प्रयोगशाला पनि बन्द……….

रुपन्देही– २०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी प्रयोगशाला कर्मचारी नहुँदा बन्द भएको छ। कालिमाटीपछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाई दुई महिनादेखि बन्द भएको हो। प्रयोगशालामा तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो। ८ महिनादेखि आंशिक परीक्षण हुँदै आएकोमा दुई महिनादेखि भने प्रयोगशाला पूर्ण रुपमा बन्द भएको हो। यो ईकाइमा थोक बजारभित्र आएका तरकारी र फलफूलको विषादी परीक्षण नियमित हुँदै आएको थियो। प्रयोगशालाका वाली संरक्षण अधिकृत रामबहादुर खत्री कर्मचारी समायोजनमा प्रदेशको कृषि निर्देशानालयमा सरुवा भए। त्यसलगत्तै परीक्षण कार्य बन्द भएको हो। कर्मचारी त्यसै पनि अपुग भएकाले ८ महिनादेखि नै विषादी परीक्षण रोकिएको थियो। बैशाखदेखि भने कार्यालय सहायकको भरमा प्रयोगशाला सञ्चालित छ। भारतबाट आयात गरिएको फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि काठमाडौं जानुपर्दा बुटवलको प्रयोगशाला सञ्चालन नहुँदा ठूलो मर्का भोग्नु परेको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरले बताए। उनले आफू पटक पटक प्रदेश मन्त्रालय, निर्देशानालय र संघीय मन्त्रालयका अधिकारीहरुसँग गुनासो राख्दा पनि विषादी प्रयोगशाला सञ्चालन हुन नसकेको बताए। बुटवलसहित यस आसपासका तरकारी र फलफूलको विषादी परीक्षण गरेर विक्रि वितरण गर्ने विश्वाससहित विषादी प्रयोगशाला शुरु गरिएको थियो। शुरुवात मै जनशक्ति कम भएको भन्दै थोक बजारभित्रका मात्रै तरकारी र फलफूलको परीक्षण गरिएको थियो । सर्वसाधरणका लागि भने खुल्ला छैन्। रुपन्देहीको बेलहिया नाका हुँदै ठूलो मात्रामा फलफूल तथा तरकारी नेपाल आयात हुने गर्छ। बुटवलस्थित थोक बजार केन्द्रमा दैनिक डेढ करोडसम्म तरकारी र फलफूल भित्रिन्छ। त्यसैले पनि बुटवलको विषादी प्रयोगशाला सञ्चालनमा आउनुपर्ने माग छ। अहिले सरकारले निर्णय परिवर्तन गरेपछि भने बेलहिया नाकाबाट सहज रुपमा तरकारी फलफूल आयात भइरहेको व्यवयसायीहरुले बताएका छन्। संघीय सरकार र प्रदेश सरकारकै बीचमा कुरा नमिलेपछि विषादी प्रयोगशाला सञ्चालनमा आउन नसकेको हो । प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विषादी प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ। बुटवलसहित र नेपालगञ्जमा रहेको विषाली प्रयोगशाला प्रदेश सरकारले सञ्चालन गर्न प्रक्रिया शुरु गरिएको मन्त्रालयले जनाएको छ। तर कहिलेदेखि विषादी परीक्षण गर्ने भन्ने टुंगो लागेको छैन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार