प्रधानमन्त्रीले मागे माफी……….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएका कारण गलत सन्देश गएकाले नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट कुनै पत्र नआएको दाबी गरेका थिए। तर सञ्चारमाध्यममा सप्रमाण पत्र आएको समाचार छापिएपछि ओलीले उक्त पत्रबारे आफूलाई जानकारी नगराइएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई जानकारी नगराइएको बताए। ‘भारतबाट पत्र आएको रहेछ तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलें,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले लज्जित हुनुप‍रेको छ। त्यसप्रति क्षमाप्रार्थी छु। प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दाबी गरे। ‘हाम्रा मन्त्रालयहरुलाई पनि यसबारे तयारी गर भनेर निर्देशन दिएँ तर तयारी पुगेको रहेनछ। मलाई केही अनुपयुक्त रिपोर्टिङ पनि भयो। त्यस प्रस्तावलाई मैले सच्याएर स्वीकार गरें। तरकारी जाँचेर मात्रै निर्यात गर्ने भन्ने निर्णय गरें तर जाँच्ने क्यापासिटी पुगेको रहेनछ’, प्रधानमन्त्री ओलीले भने। उनले २३ गते बेलुकामात्र भारतीय दूतावासको पत्रबारे थाहा पाएको बताए। मन्त्रिपरिषद्को असार १९ को बैठकले विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूल आयात गर्न दिने यसअघिको निर्णय फिर्ता लिएको थियो। भारतीय दूतावासले पत्र लेखेर दबाब दिएपछि मन्त्रिपरिषद्ले निर्णय फिर्ता गरेको हो। भारतीय दूतावासले असार १४ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार