अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा………..

काठमाडौं– दाेस्राे सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड २७ वर्षपछि एकदिवसीय विश्वकपकाे फाइनलमा पुगेकाे हाे भने पाँच पटककाे विजेता अष्ट्रेलियाले पहिलाे पटक सेमीफाइनलमा हार व्यहाेरेकाे हाे। बिहीबार भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्यो। बर्मिंघमको एजबस्टन मैदानमा अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै प्रस्तुत गरेको २२४ रनको लक्ष्य इंग्ल्याण्डले ३२.१ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो। इंग्ल्याण्डको जितमा जसन रोयले सर्वाधिक ८५ रन बनाए। ६५ बलको सामाना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। जोई रुट ८ चौकासहित ४९ रन र इविन मोर्गन ८ चौकासहित ४५ रनमा अविजित रहे। जोनी बारिस्टोले ५ चौकाको मद्दतमा ३४ रन जोडे। बलिङतर्फ मिचेल स्टार्क र प्याट क्युमिन्सले समान १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा आएको अष्ट्रेलियाको सुरुवात खराब रह्यो। ओपनर तथा कप्तान अरोन फिन्चलाई शून्य रनमा गुमाएको अष्ट्रेलियाले महत्वपूर्ण विकेटका रुपमा रहेका डेभिड वार्नर २ ओभर पुरा गर्न नपाउँदै ९ रनमा आउट हुन पुगे। तेस्रो नम्बरमा क्रिजमा आएका स्टिभ स्मिथले ६ चौकाको मद्दचमा ८५ रन बनाउँदै स्कोर उकासेका थिए। अलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। आइसिसीका अनुसार अष्ट्रेलिया सेमीफाइनलमा २० वर्षपछि पहिलोपटक अलआउट भएको हो। अष्ट्रेलियालाई विकेटविहिन बनाउन इंग्ल्याण्डका क्रिस वक्स र अदिल रसिदले समान ३÷३ विकेट लिए। जोर्फा आर्चरले २ तथा मार्क उडले एक विकेट लिए। अब इंग्ल्याण्ड र न्युजिल्याण्डको फाइनल खेल आइतबार लण्डनस्थित लर्डस् मैदानमा हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार