झरी परेको दिन

 

 

 

कवि – उमेश अकिन्चन

सेतो बादलको सारीमा
सजिरहने सुन्दरीझैं
दिनको उदासी अनुहारमा हेरेर
विदेशिएको श्रीमानको याद
विरही सम्झनामा
सम्हाल्न नसकेर परेलीहरू
निलो तलाउको किनारा फुटाएर
रोइरहन्छ आकाश
झरी परेको दिन

आँखाको एल्बममा पट्टयाइएको
अतीत फुकाउदै
पर–पर क्षितिजका
जुन ताराहरू
आफु समिप उतारेर
दोछायाँका बत्तिहरू
हेरेर जमेको पानीमा
एउटा प्रेम पिडित संगितकारझैं
विरही धुन बजाइरहन्छ झरी
पातका हारमोनियमहरूमा

समयको निधारमा
अभागी पदवि पाएर
अस्तित्वविहिन परिचय बोकेर
सिमाना–सिमाना चाहार्ने
शरणार्थीझैं बादल
छुटेका आफ्न्त र देश सम्झिएर
मनको गिर्जाघरमा
प्रार्थनाको मैनबत्ति बाल्नुअघि
सल्काउछु आँसु
खरानी बनाउछ दिन
तुपतुप…तुपतुप…
पग्लिदै जान्छ बलेसी
झरी परेको दिन

आफूलाई समयको ऐनामा हेरेर
अर्थहिन विगत छामेर
निलो, रातो, हरीयो प्रेमपत्रमा
कसमका वासि आश्वासनहरू
रंगहिन आँसुले पखाल्ने युवतीझैं
उमंंग पखालिएको मन बोकेर
रंगीविरंगी छाताहरूको
फूलबारी बनाएर सडक
कत्तिको आँखामा पारेर
सम्झनाको चटयाङ्ग
झरीमा नुहाउदै बिलाउछ दिन
बादलका घुम्टोहरूमा ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार