२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित………

काठमाडौं – वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्। काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्। अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्। खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। काठमाडौं र ललितपुरमा चारजनाको मृत्यु भएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्याम ज्ञवालीका अनुसार उपत्यकामा शुक्रबार राति ७ बजेसम्म काठमाडौं मूलपानीमा घर भत्किँदा एकैपरिवारमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा घर भई मुलपानीमा बस्दै आएका ३५ वर्षीय शर्मिला यादव, गर्भवती २० वर्षीय नितुक यादव र १३ वर्षीय कुन्दन यादव छन्। बागमती खोलाले बगाएर ११ वर्षीय सुरज जिम्बाको मृत्यु भएको छ। बर्दिया घर भई काठमाडौं कुलेश्वरमा बस्दै आएका २५ वर्षीय विनोद चौधरी बल्खु खोलाले बगाएर बेपत्ता भएका छन्। उनको खोजीकार्य भैरहेको ज्ञवाली बताए। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा, हनुमन्ते, गोदावरीलगायतमा बाढी उर्लेको छ। नदी आसपासका क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन। सुकुमबासी बस्तीमा त झनै कन्तबिजोग देखिएको छ।प्रवक्ता ज्ञवालीका अनुसार उपत्यकाका सुनाकोठी, कुलेश्वर, कलंकी, मैत्रीनगर, नैकापलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन। विभिन्न नदीमा आएको बाढीले आसपासका बस्ती डुबानमा पर्नुका साथै ग्यास सिलिन्डर, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न बगाएको छ। बल्खुखोलाको पानी बस्तीमा पसेपछि कलंकीस्थित खसीबजार, मालपोत, प्रहरी र ट्राफिक प्रहरी कार्यालयसमेत डुबानमा परेका छन्। सिंहदरबारको पूर्वीगेट नजिकैको पर्खाल भत्किाएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेलले दिए। वर्षाले उपत्यकाका विभिन्न भाग डुबानमा पर्दा सवारी साधन पनि फसेका छन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले लगातार परेको वर्षाले गर्दा चाबहिल–साँखु, नागढुंगा सडकलगायतमा समस्या उत्पन्न भएको बताए। ‘वर्षाले गर्दा उपत्यकामा ढल फुट्ने समस्या बढेको छ। यसले सवारी चालक र सर्वसाधारणले समेत सास्ती खेपेका छन,’ उनले भने, ‘ढल व्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं। प्रवक्ता ज्ञवालीले वर्षाजनित कारणबाट भएको मानवीय र भौतिक क्षतिको पूर्ण विवरण भने आइनसकेको बताए। वर्षाले गर्दा बागदरबारमा ढल थुनिँदा काठमाडौं महानगरपालिका कार्यालय रहेको भवन र चाइनाटाउनको भुइँतला डुबानमा परेको छ। खोटाङमा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका–२ बाप्लुखा बाघपच्याङका विष्णु राईको घर पहिरोले पुर्दा उनकी पत्नी रेखा , छोराहरु ३ वर्षका रोमन र ७ महिनाका रोजनको मृत्यु भएको हो। विष्णुलाई भने पहिरोमा टाउको मात्र निस्किएको अवस्थामा आफन्तले फेला पारेर उद्धार गरेका थिए। उनलाई उपचारका लागि खोटाङबजार पठाइएको छ। राई परिवारलाई सुतिरहेकै अवस्थामा पहिरोले पुरेको हो। रेखाको शव ७ महिनाको छोरालाई काखमा च्यापिरहेको अवस्थामा निकालिएको थियो। इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीको कमान्डमा खटिएका प्रहरी, प्रहरीचौकी बाप्लुखाका प्रहरी र स्थानीयले पहिरो खोतलेर मृतकको शव बाहिर निकालेका हुन्। भोजपुरमा दुईजनाको ज्यान गएको छ। पहिरोले चर्पी बगाउँदा टेम्केमैयुम गाउँपालिका ९ लेखर्कका जनक विक र रामप्रसाद राई गाउँपालिका ७ बासिखोराका जगतबहादुर राईको घरको गारो भत्किएर किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरीनिरीक्षक पाण्डव राजवंशीले बताए। वर्षाका कारण भोजपुरमा हवाई तथा सडक यातायात पनि ठप्प भएको छ। भोजपुर लेगुवा सडक खण्डको ठाउँठाउँमा पहिरो जादा यातायात अवरुद्ध भएको यातायात व्यवसायीले जनाएका छन्। भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार सम्भावित विपद्लाई ख्याल गर्दै पर्याप्त स्रोतसाधनको व्यवस्था गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको छ। त्यस्तै पहिरोले घर पुरिँदा काभ्रेको बनेपा–३, नाला चुनातालमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामप्रसाद दंगालकी ५५ वर्षीया पत्नी गोमा र ७ वर्षीया नातिनी सुहाबी छन्। अन्य दुईजना घाइते भएका छन्। बुहारी सुशीला र अर्की नातिनी अनुष्कालाई उद्धार गरिएको छ। घाइते दुवैको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिए। काभ्रेको कोसीपारिस्थित चौरीदेउराली–४ मजुवामा पहिरोले तीनवटा घरमा क्षति पु¥याएको छ। स्थानीय दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा क्षति पुगेको हो। गाउँकै कुशल कृषि उत्पादन समूहले सञ्चालन गर्दै आएको बाख्रापालन फर्ममा समेत पहिरोले क्षति पु¥याएको छ। पूरै गाउँ पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ। रोसी खोलामा बहाव उच्च रहेको छ भने सहायक पुण्यमाता खोलामा बढी आउँदा बनेपाको पुलबजार डुबानमा परेको छ। यसै खोलाको बाढीले श्रीखण्डपुरस्थित होरिजन नर्सरी डुबाएको छ। ढलमले र सुब्बागाउँ क्षेत्रको धानबालीमा बाढी पसेको छ। धादिङको गजुरी गाउँपालिका ४ दरिङगाल बालुवाडाँडामा कृष्णबहादुर तामाङको एकतले ढुंगामाटो र टिनले छाएको कच्ची घर पहिराले पुर्दा छोरी ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको हो। घटनामा तामाङका १२ वर्षीय छोरा जयराम घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर यातायात अवरुद्ध भएको छ। इलामको चुलाचुलीका एकजनाको खोलाले बगाएर मृत्यु भएको छ। चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव झापाको कमल गाउँपालिका २, भालुगाउँमा फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ११ बजे चुलाचुली गाउँपालिका १ र २ वडाको बीचमा रहेको बागडोर खोला तर्नेक्रममा उनी बगेका थिए। पेल्टिमारीस्थित प्रहरी चौकी र स्थानीयले खोजी गर्नेक्रममा अपराह्न उनको शव झापाको भालुगाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ओखलढुंगामा बाढीले बगाएर दुई जनाएको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिका ४ कि ८५ वर्षीय पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। रामेछापको रामेछाप नगरपालिका–५ रामपुरमा गोठको पर्खाल भत्किएर किच्दा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ। शुक्रबार बिहान घरनजिकै रहेको गोठमा भैसीलाई घाँस हालेर दुहुन बस्दा भत्केको गोठको पर्खालले किचेर उनको घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष भीमबहादुर तमाङले टेलिफोनमार्फत जानकारी दिए। उक्त घटनामा घाइते असुली सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप पठाउने काम भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए। पर्खाल भत्किँदा दुईवटा भैंसीसमेत किचिएर मरेका छन्। यस्तै पहिरोका कारण रामेछाप नगरपालिका वडा नं ७ का ध्रुवकुमार श्रेष्ठको घर भत्किएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण खुर्कोट मन्थली सडक अवरुद्ध बनेको छ। पहिरो पन्छाउन सडक डिभिजन कार्यालय खुर्कोट र मन्थली नगरपालिकासँग समन्वय गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी (पाण्डे) ले जानकारी दिइन्। सिन्धुलीको फिक्कलमा पनि पहिरोमा परी एक महिलाको ज्यान गएको छ। फिक्कल गाउँपालिका १ झुल्केमा शुक्रबार दिउँसो गोठमाथिबाट पहिरो खस्दा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको हो। उनी गोठमा गाईबस्तुलाई खोले (कुँडो) खुवाउँदै थिइन्। पहिरोले गोठ पुर्दा सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। उनको उपचारका क्रममा स्थानीय स्वास्थ्यचौकीमा मृत्यु भएको हो। पहिरोले दुई बाख्रा र तीन गाई बगाएको छ। गोलन्जोर गाउँपालिका ३ भुवनेश्वरीमा पनि पहिरोले गोठ भत्काउँदा निरबहादुर मगरको एउटा बाख्रो मरेको स्थानीय गौरव कार्कीले जानकारी दिए। यस्तै हरिहरपुरगढी गाउँपालिका १ घण्टेस्थित बसपार्कमा बाग्मती नदीको बाढीबाट ७ घर डुबानमा परेको स्थानीयले बताएका छन्। यस्तै दर्जनौं घर पहिरोको जोखिममा परेका छन्। कमलामाई नगरपालिका ३ चपौलीमा पहिरोले एउटा घरमा क्षति पु¥याएको छ। सुनकोसी गाउँपालिका ७ मझुवाका केही घरसमेत पहिरोको जोखिममा छन्। मकवानपुरमा पनि बाढीका कारण एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। थाहा नगरपालिकामा खोलाले बगाउँदा शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमायाको मृत्यु भएको हो। खोलाले बगाएर घाइते उनको उपचारका क्रममा पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए। त्यस्तै कैलाश गाउँपालिका ५ कालीखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्। स्थानीय तारामाया पाख्रिन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका ५ का वडाध्यक्ष छेकु लामाले बताए। पर्साको पार्सागढी १ मा दसवर्षे बालकको खोलाले बगाएर मृत्यु भएको छ। जिल्लाका सबै नदीहरुको पानीको बहाव उच्च भएको छ। दर्जन बढी बस्ती डुबानमा परेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। बाढीले बगाई ल्याएको काठदाउरा संकलन गर्न गएका १० वर्षे निखिल पटेललाई खोलाले बगाएको राठौरले बताए। उद्धार गरेर वीरगन्जस्थित गण्डक अस्पतालमा पु¥याउँदा चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए। जिल्लाका स्थानीय नदी खोलामा पानीको बहाव बढे कतिपय बस्ती डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी धोबिनी उपशाखाका अध्यक्ष तबरेज अहमदले बताए। खोलामा बाढी आउँदा ठोरी यातायात सम्पर्कबाट विच्छेद भएको छ भने विद्युत् आपूर्ति पनि बन्द छ। झापामा खोलाले बगाएर एक बालिकासहित दुईको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली १ का ५१ वर्षीय अञ्चल लावती र संखुवासभा घर भई दमक १० मावली आएकी ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्।वर्षासँगै आएको बाढीका कारण प्रदेश १, २ र ३ का विभिन्न बस्ती डुबानमा परेका छन्। मुलुकका अन्य प्रदेशमा पनि वर्षा भइरहे पनि कुनै क्षति नभएको समाचारदाताले जनाएका छन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार