कमला नदीले परिवारै बगायो…………

सिन्धुली– कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ । दूधौली–१, डकाहा बजार नजिककै कमला नदी किनारमा त्रिपाल टाँगेर बस्ने सो परिवारलाई कमला नदीले बगाउँदा सर्लाही घर बताउने रेणु कापरीको तीन वर्षीय छोरा कार्बनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मृतक बालकको दूधौली नगरपालिका–४, बैरामा शव फेला परेको हो। रेणुकै एक वर्षीय छोरा सर्गम र सात वर्षीय आधि बेपत्ता छन्। यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर बताउने मिथुन कापरीको ६० वर्षीय फुपु मरणी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले बगाएका मिथुन र रेणुलाई प्रहरीले सकुशल उद्धार गरेको छ। त्यस्तै दूधौली–१ कै हाटगाउँ बस्ने जितबहादुर सार्कीको गोठमा सुतिरहेको अवस्थामा नदीले गोठ बगाएको छ। सार्की भने भागेर रुख चढेर बाँच्न सफल भएको स्थानीयले बताएका छन्। अविरल वर्षाका कारण सुनकोशी नदी, कमला नदी, मरिण खोला तथा अन्य खोलाका किनारामा बस्ने बासिन्दा जोखिममा छन्। वर्षाकै कारण सुनकोशी गाउँपालिका–१, कमेरेस्थित विपी राजमार्गमा माथिबाट खसेको लेदो पहिरोका कारण को १ च ८९५६ नम्बरको पिकअप बोलेरो गाडी फस्दा चालक गम्भीर घाइते भएका छन्। प्रहरी चौकी दुम्जाका प्रहरीले उद्धार गरी चालक सिराहा गोलबजार नगरपालिका–३ का इन्दल शाहलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौंतर्फ लगिएको स्थानीयले जनाएका छन्। शुक्रबार सिन्धुलीको फिक्कल गाउँपालिका–१, झुल्केमा गोठ माथिबाट पहिरो खस्दा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको थियो।

विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण विपी राजमार्ग बन्द भएको छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। राजमार्गको खनियाखर्क, माथिल्लो बारा, सुनकोशीको कमेरे, नेपालथोकलगायतका क्षेत्रमा माथिबाट खसेको लेदो पहिरोका कारण राजमार्ग बन्द भएको छ। राजमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सिन्धुली हँुदै पूर्वी तराईका विभिन्न जिल्लामा जाने यात्रुहरू अलपत्र परेका छन्। यस्तै मध्यपहाडी राजमार्ग र खुर्कोट मन्थली राजमार्गसमेत अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ भने खुर्कोट मन्थली सडक खण्डको सुनकोसी पुल नजिकै पहिरो जाँदा अवरुद्ध भएको स्थानियले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार