मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका सुनबहादुरलाई सफाइ………

नुवाकोट– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्। तत्कालीन नुवाकोट अदालतका जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले वडाध्यक्ष तामाङलाई ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। कैद जीवन बिताइरहेका वडाध्यक्ष तामाङलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले गएको असार ३० गते सोमबार ‘प्रतिवादी सुनबहादुर तामाङलाई कसूरदार कायम गरी सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिँदा सफाइ पाउने ठहर्छ,’ भनी सफाइ दिएको हो। तामाङले भारतमा बेचेको आरोप लगाई गाउँ फर्किएका युवतीहरूले सामाजिक संस्थाको सहयोगमा उनीविरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए। त्यस समयमा नुवाकोट प्रहरीले पक्राउ गरी अदालतमा बुझाए पनि पाँच लाख रुपैयाँ धरौटीमा तामाङ तारिखमा छुटेका थिए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तामाङले नेपाली कांग्रेसको पक्षबाट वडाध्यक्षमा जित हासिल गरेका थिए।  २०७४ चैत ७ गते तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कार्यकक्षबाटै पक्राउ गरेको थियो। उनलाई कैद सजाय भएपछि अध्यक्ष पद रिक्त थियो। रिक्त पद परिपूर्तिका लागि ज्येष्ठताको आधारमा नाङसाङ तामाङलाई जिम्मेवारी दिइएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार