टाइगर प्यालेसको सम्पत्ति रोक्का……..

बुटवल – रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक निवेदनमा जिल्ला अदालत रुपन्देहीले होटलको सम्पूर्ण सम्पत्तिसहित सेयर खरिदबिक्री रोक्का गर्न आदेश दिएको हो। गत असार १९ गते भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको १० कट्ठाभन्दा बढी नहर क्षेत्र अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै मुद्दा परेको थियो। सो मुद्दाको प्रारम्भिक सुनुवाइमा सरकारी कित्ताका जग्गा, तिनमा संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धकलगायतका कुनै पनि काम नगर्नू नगराउनू भन्ने आदेश जारी भएको थियो। होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले भने अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएको थियो। त्यसपछि साउन २७ गते लुम्बिनी नलकुप जल उपभोक्ता समिती रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले टाईगर वान प्रालि र सिल्भर हेरिटेज कम्पनीलाई विपक्षी बनाउँदै सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशका लागि अनुरोधसहित पूरक निवेदन दर्ता गराएका हुन्। सोही निवेदनउपर मंगलबार सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म कम्पनीका नाममा रहेको जग्गा, भवन, संरचना र सेयर यथास्थितिमा राख्न आदेश जारी गरेको हो। मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम प्रतिवादीको नाममा दर्ता रहेको जग्गा, भवन, संरचना र सेयर यथास्थितिमा राख्नू भनी आदेश भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकृत गंगाप्रसाद अधिकारीले बताए। सिल्भर हेरिटेज र टाइगर वान प्रालिको नाममा साबिकको टिकुलीगढ–९ ‘घ’ अन्तर्गतका ३८ वटा कित्ता र साविकको मधवलिया–४ ‘ख’ अन्तर्गतका तीनवटा कित्ताको जग्गामा निर्माण भएका संरचना हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा राख्नू भन्ने अदालतको आदेशमा उल्लेख छ। मुद्दाको टुंगो नलाग्दासम्म होटलका स्वामी सिल्भर हेरिटेज प्रालि र टाइगर वानको नाममा रहेका सेयरको समेत हक हस्तान्तरण नगर्न नगराउन आदेश जारी गर्दै यथास्थितिमा राख्नू भनिएको छ। यो मुद्दामा नलकुप जल उपभोक्ता समितिका तर्फबाट अधिवक्ता मनोज दवाडी र लेखनाथ पोखरेलले बहस गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष घिमिरेले भैलुभुजको नहर अतिक्रमण गरेर होटल निर्माण गरेको दाबी निवेदनमा गरेका छन्। कित्ता नम्बर १२०, १४८, १५२, १९० र ७३ को जग्गा भैरहवा–लुम्बिनी भूमिगत जल योजनाको नाममा छ। यो सरकारी जग्गामा रहेका पुराना कुला मासेर होटलका संरचना बनेका छन्। होटलले १५२ नम्बर कित्तामा स्विमिङ पुल र भवनको केही भाग परेको नलकुप जल उपभोक्ता समिति रुपन्देहीका सचिव अवध बिहारी दुवेले बताए। क्यासिनो भएको भवनको केही भाग पनि कुलोको जग्गामा पर्ने उनको दाबी छ। सार्वजनिक कुलोको १० कट्ठा १८ धुर जग्गा मिचिएको ठहर गर्दै अदालतले गत असारमै अन्तरकालीन आदेश जारी गरेको थियो। मुद्दाको टुंगो नलाग्दै अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले होटल खरिद प्रक्रिया अगाडि बढायो। कम्पनीको वेबसाइटअनुसार इन्द्रबहादुर थापा नाम गरेका व्यक्तिको नाम किटान गरी रिसोर्ट खरिदबिक्री प्रक्रिया अघि बढेको देखिन्छ। वेबसाइटमा राखिएको प्रारम्भिक सम्झौतापत्रअनुसार मलेसियाका एनआरएन भनिएका इन्द्रबहादुर थापाले ३३ दशमलब ९ मिलियन डलर (३ अर्ब ७५ करोड रुपैयाँ) बोली लगाएका छन्। कम्पनीले थापालाई रकम जम्मा गर्न १५ अगस्टसम्मको समय दिएको देखिन्छ। तर पछिल्लो समय थापा रिसोर्ट खरिद गर्ने पक्षमा नभएको खबर पनि बाहिरिएका छन्। थापाले भैरहवाकै अर्को एक होटल खरिद गर्ने भनेर दिएको बैना रकमको चेक बाउन्स भएको समाचार पनि छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार