नेकपामा आन्तरिक विवाद गहिरिँदै……….

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ। खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि अस्वीकार गरेको छ। पछिल्लो पटक सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त गठबन्धनले नेपाललाई एक्ल्याएको छ। खनालले आफ्नो वरीयता मिचिएको भन्दै त्यसलाई सच्याउन र गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष त्रयलाई अन्याय भएको तर्क गर्दै सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। एउटै महाधिवेशनबाट निर्वाचित कोहीलाई पदैपद, कोहीलाई सचिवालयमा समेत ल्याउन आनाकानी गरेको भन्दै नेता नेपालले नेतात्रय अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। ‘नेता नेपालले शुक्रबारकै बैठकमा यो प्रस्ताव गर्नुभएको हो। यसबारे आइतबारको बैठकमा पनि छलफल भयो’, सचिवालयका एक सदस्यले भने। तर उनको सो प्रस्तावलाई अस्वीकार गरिएको पनि ती सदस्यले बताए। एउटै महाधिवेशनबाट जितेका एकजना उपाध्यक्षले सचिवालयसहित किसान महासंघ, संगठन विभाग र उपाध्यक्षको जिम्मेवारी पाउने अरुले कुनै भूमिका नपाउने भन्ने कुरा न्यायोचित भएन, अष्टलक्ष्मी, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा ल्याउनुपर्छ’, नेता नेपालले बैठकमा भनेका थिए। हाल अध्यक्षद्वय केपी ओली र दाहाल, नेपाल, खनाल, गौतम, श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा छन्। पार्टी एकीकरणपछि आजको सचिवालय बैठकले वरिष्ठ नेताहरुको नयाँ वरीयता क्रम तोकेको छ, वरिष्ठ नेतामा पहिलो झलनाथ खनाल र त्यसपछि माधव नेपाल’, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनी वरियताको विषयमा योभन्दा बढी बोल्न चाहेनन। नेपाल आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि बैठक नसकिँदै निस्किएका थिए। वरियता घटाउने प्रस्ताव आएपछि नेपालले ओलीलाई लक्षित गर्दै आक्रोश व्यक्त गए। ‘पहिला झलनाथ कमरेडलाई यो प्रक्रियामै नल्याउन खोज्नुभएको थियो। मेरै जोडमा वरिष्ठ नेता बनाइयो। यो विषयमा तपाईं (ओली) ले आज आत्मआलोचना गर्ने कि नगर्ने ? आज जसरी वरीयताको वियष उठाएर मलाई अपमान गर्ने र बदला लिन खोज्दै हुनुहुन्छ त्यो किमार्थ तपाईंको नैतिक अधिकार रहेन। अब आजै आत्मआलोचना गर्नुस्’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। सचिवालय बैठकले जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्जको पनि टुंगो लगाएको छ। सम्पर्क कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा विजय गुरुङ र झक्कु सुवेदी, उपत्याका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, राष्ट्रिय युवा संघमा महेश बस्नेत इन्चार्ज तथा सहइन्चार्जमा रामप्रसाद सापकोटा, किसान संघको इन्चार्जमा वामदेव गौतम र महासंघको अध्यक्षमा हरि पराजुलीलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी युवा विद्यार्थीमा माधव ढुंगेल इन्चार्ज र सहइन्चार्जमा कृष्ण केसीलाई तोकिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार