पार्टीभित्र साथ नपाए एक्लै निर्णय गर्छु………..

सुर्खेत– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। उनले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको बताए। कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइन्, संबैधानिक आयोगहरुको अधिकार पनि खोसेको छ’ शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘सर्वसत्तावादी कम्युनिष्ट शासन अन्त्यका लागि फेरि एक पटक लडाई लड्ने बेला आएको छ। उनले जनताको मत पाएर कम्युनिष्टहरु सरकारमा पुग्नु ठूलो विषय नभएको बताउँदै सर्वसत्तावादी कम्युनिष्ट शासन लाद्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताए। ‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिम पटक कम्युनिष्ट शासन अन्त्य गर्नका लागि लड्नका लागि सबै तयार हुनुपर्छ। सभापति देउवाले कम्युनिष्ट सरकारले भ्रष्टाचार र महंगीबाहेक जनतालाई केही दिन नसकेको बताए। ‘जनताको ढाड सेक्ने गरेर कर बढाइएको छ, उपभोक्ता समितिका नाममा कार्यकर्ता पोस्ने काम गरेको छ, भ्रष्टाचारले सीमा नाघेको छ,’ सभापति देउवाले भने, ‘सरकारले जनतालाई राहत मिल्ने केही पनि काम गर्न सकेको छैन्। देउवाले आफू सभापतिमा निर्वाचित भएदेखि स्वतन्त्रतापूर्वक काम गर्न नपाएको बताए। नजिकै रहेका महामन्त्री सशांक कोइरालातर्फ इंगित गर्दै सभापति देउवाले आफूलाई सहयोग गर्न आग्रह गरे। ‘पार्टी सभापतिले सहमति र एकता चाहन्छ,’ उनले सशांकतर्फ इंगित गर्दै भने, ‘तपाईहरुले पनि सभापतिलाई सहयोग गर्नुप-यो नि ?’ उनले आफ्नो कार्यकालको अहिलेसम्मको समय पार्टीभित्र सहमतिका लागि वार्ता गर्दैमा बितेको बताए। सभापति देउवाले पार्टीका विभाग, संगठनलगायतलाई सहमतिका आधारमा पूर्णता दिनका लागि धेरै प्रयास गरेपनि आफुसँग निर्वाचनमा पराजित भएका समूहबाट सहयोग नपाएको बताए। उनले अब एक्लै भएपनि पार्टीका विभाग र संगठनहरुलाई पूर्णता दिने दाबी गरे। ‘आजसम्म सहमतिका लागि समय बिताएँ, अब पनि सहयोग पाइन भने एक्लै निर्णय गर्छु’ उनले भने, ‘यसले कसैले पनि दुःख नमान्नुहोला।’ उनले निर्वाचनमा अन्र्तघात गरेकाहरुलाई कारवाही गर्न खोज्दा पनि विरोध हुने गरेको बताए। ‘अनुशासन समितिलाई विना कुनै पूर्वाग्रह निर्वाचनमा अन्र्तघात गर्नेहरुलई कारवाही गर्न निर्देशन दिएको छु’ उनले भने, ‘यसमा कसैले रोख्न खोजे उनीहरुको नाम केन्द्रीय समितिको बैठकबाट सार्वजनिक गर्छु। सभापति देउवाले पार्टीको आन्तरिक एकता असंभव नभएको बताउँदै व्यक्ति भन्दा पार्टी र देशका लागि सबैले सोच्नुपर्ने बताए। ‘दुई वटा कम्युनिष्ट पार्टीहरु तत्कालिन माओवादी र एमाले मिलेर अहिले नेकपा बनेको छ,’ उनले भने, ‘हामी त एउटै घरका हौं, आन्तरिक एकता असंभव होइन्।’ दुई कम्युनिष्टहरु एक भएर चुनाव लडेकाले उनीहरुले जितेको बताउँदै सभापति देउवाले भने, ‘कांग्रेस एउटै भएपनि दुई पार्टीको जस्तो ध्रुविकरण गरेर चुनावमा गएकाले हार व्यहोर्नुप-यो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार