पार्टी सुधार्ने हो भने देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्छ………..

नेपालगन्ज– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे। केन्द्रीय नेतादेखि कार्यकर्ताहरु एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाई छ। मुलुकको राजनीतिक अवस्थालाई हेरेर पनि अहिले कांग्रेस बलियो हुनुपर्ने बेला आएको छ, पार्टीलाई सही दिशामा अघि बढाउने नेतृत्व यतिबेला जनताले चाहेका छन्’, उनले भने। महामन्त्री कोइरालाले पार्टीभित्र रहेको अन्तर बिरोध र गुटगत राजनीतिको अन्त्य भएमा अर्को पटकको चुनावमा कांग्रेस नै पहिलो शक्ति हुने दाबी गरे। यसका लागि कांग्रेसका नेता, कार्यकर्ताले समयमै आफूलाई सुधार्नुपर्ने महामन्त्री कोइरालाको सुझाव छ। वर्तमान कम्युनिस्ट सरकारबाट जनताहरु आक्रान्त भएको भन्दै आगामी निर्वाचनमा जनताले कांग्रेसलाई नै रोज्ने बताए। पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले पार्टीभित्रको गुटगत राजनीतिको अन्त्य हुनैपर्ने बताए। आगामी महाधिवेशनबाट शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने उनको भनाई छ। ‘पार्टीलाई सुधार गर्ने हो भने आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ’, रिजालले भने ‘महाधिवेशनसम्म अहिले कै नेतृत्वलाई साथ दिऔं, त्यसपछि जनताले चाहेको नेतृत्व चयन गरौं।’ कांग्रेसको गौरवशाली इतिहासलाई अहिलेका कम्युनिस्ट पार्टी र राजवादी कसैले पनि मेट्न नसक्ने ठोकुवा गरे। केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि गुटगत राजनीति अन्त्य हुनुपर्ने बताए। नेताको गुटबन्दीका कारण कांग्रेसले चुनाव हार्नुपरेको उनको भनाई छ। वर्तमान सरकार जनताको पक्षमा नरहेको गिरीले आरोप लगाए। अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले वर्तमान सरकार अलोप्रिय बनेको दाबी गर्दै जनताले अबको निर्वाचनमा कांग्रेसलाई रोज्ने बताए। केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको उनको तर्क छ। निर्मला हत्या प्रकरण, ३३ किलो सुन काण्ड, वाईडबडी, एनसेलको कर छली, बालुवाटार जग्गा लगायत प्रकरणमा वर्तमान सरकारको हात रहेको बताए। सो क्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, बर्दिया जिल्ला सभापति एवम् प्रतिनिधी सभाका सांसद सञ्जय गौतम, कांग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा लगायतले वर्तमान सरकार जनताको नजरबाट खस्किसकेको जिकिर गर्दै जनताले अब कांग्रेसलाई नै पहिलो पार्टी बनाउने दाबी गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार