छानविन समितिले काम थाल्यो………

सुर्खेत– दैलेख पुर्याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ। गत शुक्रबार आठ वटा ट्रकमा ल्याइएका तीन सय ७० चौपायाहरुलाई वीरेन्द्रनगर नगरपालिकाको भेरीदेखि कटकुवासम्म विभिन्न ठाउँमा खसालिएको थियो। केही ठाउँमा ट्रकबाट सिधै गाईहरुलाई भिरबाट खसालिएको थियो। मंगलबारसम्म मृतक गाईहरुको संख्या २६ पुगेको छ। घटनाको छानविनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले कानुन व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको छ। समितिले मंगलबार दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुसंग सोधपुछ गरेको छ। समितिका प्रवक्ता अधिवक्ता वसन्त गौतमले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसंग स्थलगत सोधपुछ गरिसकेको जानकारी दिए। स्रोतका अनुसार छानविन समिति समक्ष उनीहरुले आफूहरुले नेपालगञ्जबाट गाईहरु नमगाएको बताएका थिए। ‘यहाँका कुनैपनि स्थानीय तह एवम् मन्दिर व्यवस्थापन समितिले नेपालगञ्जबाट गाईहरु मगाएको थिएन्,’ श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले भने, ‘राष्ट्रिय जनावारलाई ल्याएर बीचबाटोमै भिरबाट खसाल्नमा संलग्नहरुलाई कारवाही गर्न हामीले समिति समक्ष माग गरेका छौं।’ समितिले बुधबार घटनास्थलको अवलोकन गर्नुका साथै वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी–प्रशासन, नागरिक समाज र सञ्चारकर्मीसंग घटनाबारे सोधपुछ गर्ने छ। गोहत्याको छानविनका लागि गृह मन्त्रालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाले छुट्टाछुट्टै समिति गठन गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकासँगै प्रदेश प्रहरी कार्यालयको छानविन समितिले आफ्नो काम सुरु गरिसकेका छन् भने गृह मन्त्रालयको टोली घटनास्थलमा आइपुगेको छैन। प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। प्रदेश प्रहरीका अनुसार गोहत्यासंग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्ने भएपनि प्रदेश प्रहरीले गठन गरेको समितिले प्रहरी चेकपोष्टमा के–कति आधारमा गाईगोरु भित्रिए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। प्रदेश प्रहरीले सुर्खेत जिल्लाभित्रका प्रहरी युनिटहरुमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले प्रहरी चेकपोष्टबाट कुन आधारमा गाईहरु बोकेका आठ वटा ट्रकहरु भित्रिए भन्ने बारेमा अनुसन्धान थालिएको बताए। गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्छ, प्रदेशले गठन गरेको समितिले प्रहरी चेकपोष्ट तथा सम्वन्धीत युनिटहरुबाट केका आधारमा भित्रिए भन्ने पाटोलाई मात्रै हेर्छ,’ डिआइजी जोशीले भने, ‘यो आन्तरिक छानविन हो, कोही दोषी पाइएमा विभागीय कारवाही प्रक्रिया अघि बढाउँछौं। गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायसमेतको प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिलाई कार्यादेश प्राप्त भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। यद्यपि, गृहद्वारा गठित छानविन टोली घटनास्थल आइपुगेको छैन। नेपालगञ्ज उपमहानगरपालिका–२१ स्थित फुलटेक्राको कान्जी हाउसबाट दैलेखको श्रीस्थानसम्म पु¥याउने भनेर ल्याइएका गाईहरु बिहीबार राति भेरी पुल, धुलियाविट र उत्तरी जलाधार क्षेत्रका विभिन्न ठाउँका भिरबाट खसालेर मारिएको थियो। प्रहरीले शुक्रबार गाई ढुवानीमा संलग्न आठ मध्ये पाँच वटा ट्रक, तिनका चालक र दुई जना सहचालकलाई पक्राउ गरेको थियो। उनीहरुलाई गोवध मुद्धा चलाइएको छ। यस्तै नेपालगञ्ज उपमहानगर अन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीलाई पक्राउ पुर्जी जारी गरेको छ। कटकुवा नजिकैको जंगलमा मंगलबार थप एक गाई मृत अवस्थामा फेला परेको छ। वीरेन्द्रनगर नगरपालिकाको वातावरण तथा विपद् उपशाखाका अनुसार योसँगै मृतक गाईको संख्या २६ पुगेको हो। उपशाखा प्रमुख यमलाल गिरीले मंगलबार भेटिएको गाईको शव परीक्षण गरेर गाडिएको बताए। ‘योसँगै मृत्यु हुने गाईको संख्या ३६ पुगेको छ,’ उनले भने, ‘अझै केही गाईहरु घाइते अवस्थामा छन्।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार