डेंगी संक्रमणको जोखिम…………

काठमाडौं – राजधानीका विभिन्न अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप बढेको छ। बिरामीले घण्टांै कुरेपछि मात्र उपचारको पालो पाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ज्वरो क्लिनिकमा बुधबार बिरामीको चाप देखिन्थ्यो। त्यहाँ पुगेका धेरैजसोमा डेंगी ज्वरोको लक्षण भएको अस्पतालले जनाएको छ। अन्य दिनको तुलनामा बुधबार झन् धेरै बिरामी आएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डले जानकारी दिए। उनका अनुसार डेंगीको निःशुल्क उपचार हुने भएकाले ज्वरो आएका सबै बिरामीले यही अस्पताल छानेका हुन्। ‘अन्य अस्पतालबाट पनि यही अस्पताल रेफर गरेर पठाएका छन्,’ उनले भने। डेंगी ज्वरोले गम्भीर बनेका बिरामीलाई अस्पतालले छुट्टै वार्डमा भर्ना गरी उपचार गरिरहेको डा. पाण्डेले जानकारी दिए। डेंगीका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ। थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ। अस्पताल अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार बिरामीको चापका कारण आइतबारयता चिकित्सकले एकछिन पनि फुर्सद पाएका छैनन्। उपचारमा आउने धेरैजसोमा डेंगीको लक्षण पाइएको र सोही अनुसार उपचार तथा सुझाव दिएर पठाउने गरिएको उनले बताए। गम्भीर अवस्थामा पुगेका बिरमीलाई भने भर्ना गरिएको छ। अस्पतालमा बुधबार २ सय ५० जना डेंगी ज्वरोको बिरामी आएको जानकारी उनले दिए। डल्लु, टेकु, त्रिपुरेश्वर, नयाँ बजार, खुसीबुँ, लोकन्थली, पेप्सीकोला, क्षेत्रपाटी, स्वयम्भूलगायत क्षेत्रबाट बिरामी ज्वरोको सिकायत लिएर आएको अस्पतालले जनाएको छ। त्यसैगरी हेल्पिङ ह्यान्डस अस्पतालमा डेंगीका पाँच बिरामी भर्ना भएको अस्पतालले जनाएको छ। भर्ना गर्नुनपर्ने अवस्थाका बिरामीलाई भने आवश्यक परामर्श लिएर फर्केका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल, मिनभवनलगायतले पनि डेंगीका बिरामी उपचारका लागि आएको जनाएका छन्। त्रिवि शिक्षण अस्पतालमा दैनिक डेंगीको सिकायत लिएर १०÷१५ जना बहिरंग विभागमा आउने गरेको सो अस्पतालले जनाएको छ। सिभिल अस्पतालमा पनि यस्ता बिरामी दैनिक १५ जनाको हाराहारीमा पुग्ने गरेका छन्। देशभरका २ हजार ४ सय ७६ जनामा डेंगी प्रमाणित भइसकेको छ। यो बुधबारसम्मको तथ्यांक हो। डेंगी संक्रमितको यकिन तथ्यांक भने आउन सकेको छैन। काठमाडौंस्थित सरकारीबाहेक निजी अस्पतालमा पनि डेंगीका बिरामीले उपचार गराएका छन्। डेंगी संक्रमणको जोखिम थप दुई महिना रहेकाले सबैलाई सतर्क हुन चिकित्सकले आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोला डेंगी सार्ने लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे तथा त्यसको अण्डा नष्ट गर्ने अभियानमा जुट्न सुझाव दिन्छन्। उनका अनुसार अझै दुई महिना डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम हुने भएकाले जोखिम छ। एडिस एजिप्टाई नामक सेतो तथा कालो छिर्केमिर्के लामखुट्टेले मानिसलाई टोकेमा डेंगी सक्रमण हुन्छ। यो लामखुट्टे बिहान र साँझपख बढी सक्रिय हुन्छ। ‘यो लामखुट्टेले धनी, गरिब, प्रहरी, सेना, बलियो, कमजोर केही भन्दैन, भेटे कसैलाई छोड्दैन,’ डा. बास्तोलाले भने। डेंगी सार्ने लामखुट्टे पानी जम्ने स्थान खुला ट्यांकी, बट्टा, गमलाको थाली, कुलरको पानी, बाल्टिन, सडकका खाल्डोमा बस्छ र त्यहीं अण्डा पार्छ। यो लामखुट्टेले ४ सय मिटरसम्म टाढा उडेर मानिसलाई टोक्न सक्छ। यो लामखुट्टे धेरै मानिसलाई टोकेपछि मात्र अघाउने हुनाले यसले टोकेका सबै जोखिममा हुन्छन्। ‘आफ्नो घर मात्र सफा राखेर हुँदैन, छिमेकीको घरआँगन पनि सफा हुनुपर्छ,’ उनले भने। उनका अनुसार डेंगीबाट जोगिन लामखुट्टे मार्ने अभियान जोडतोडका साथ चलाउनुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न शरीरमा मलम लगाउने, सुत्दा झुल प्रयोग गर्ने, झ्यालढोकामा जाली राख्ने, शरीर छोप्ने गरी लुगा लगाउनुपर्छ। हाल मुलुकका विभिन्न भागमा देखिएको डेंगी टाइप टु प्रकारको रहेको र यसको गम्भीर असर बढी नदेखिएको चिकित्सकले बताएका छन्। डेंगी संक्रमण भएकामध्ये १० प्रतिशतमा मात्र लक्षण देखिने हुनाले सबै उपचारमा पुगेका छैनन्। तर खास लक्षण नदेखिएकामा पनि डेंगीको संक्रमण हुन्छ। उनीहरुलाई अर्को प्रकारको डेंगी संक्रमण भएमा डेंगी सकसिण्ड्रोम हुने जोखिम हुन्छ।

लक्षण

टाउको दुख्ने आँखा दुख्ने
शरीर कटकटी दुख्ने

ज्वरो आउने
पसिना आउने

शरीरमा राता दाग देखिने

बच्ने उपाय

पूरा बाहुला भएको लुगा लगाउने
लामखुट्टेविरुद्धको मलम शरीरमा लगाउने

सुत्दा झुल प्रयोग गर्ने
झ्यालढोकामा जाली राख्ने

घर वरिपरी पानी जम्न नदिने
टायर, कुलर, गमलाको थाली र ड्रमको पानी घोप्टाएर सफा गर्ने

लामखुट्टे नष्ट गर्ने

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार