कारबाहीबाट बच्न प्रधानमन्त्रीको सचिवालयबाट दबाब………..

काठमाडौं – मन्दिरको जमिन बिक्री गरेको आरोपमा निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवको नाममा रहेको सम्पूर्ण जग्गाजमिन बिक्री गर्न गुठी संस्थानले रोक लगाएको छ। गुठीमातहतको सरकारी जग्गा दुरुपयोग गरेको आरोप लागेपछि महन्तलाई निलम्बन गरेको संस्थानले थप जग्गा बिक्री गर्न नदिन १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरेको छ। संस्थानका अध्यक्ष मीनराज चौधरीले भने, ‘महन्तका नाममा भएका मठमन्दिरका जमिन बिक्री गर्न रोक लगाएका छौं। सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरिसकेका छौं। सरकारी सम्पत्तिको थप दुरुपयोग नहोस् भनेर जमिन बिक्रीमा रोक लगाउनुपरेको चौधरीले बताए। ‘सरकारी सम्पत्तिको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ चौधरीले भने, ‘गुठीको जमिन कहाँकहाँ बिक्री भएको छ भनेर अध्ययन गरिरहेका छौं।’ लक्ष्मीनारायण मठ मटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रुपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र नवलपरासीमा जग्गा रहेकाले ती सबै जिल्लाका मालपोत कार्यालयलाई संस्थानले पत्राचार गरेको हो। गुठी संस्थानका प्रशासक नारायण चौधरीले मालपोत कार्यालयमा पठाएको पत्रमा जगन्नाथले गुठीको जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरी गुठी सम्पत्ति लोप गरेको तथा पदअनुकूल अचारण नगरेको पाइएकाले जग्गा रोक्का गर्नुपर्ने बेहोराको पत्र पठाएको जानकारी दिए। जगन्नाथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ६ स्थित गुठी जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरेका थिए। गुठी जग्गा निजी रैकरमा दर्ता गरेर बिक्री गर्न लागेको भन्ने जानकारी प्राप्त भएकाले रामदास वैष्णवको नाति चेला, कौशलकिशोर दास वैष्णवको छोरा चेला जगन्नाथको नाममा रहेको जग्गा–सम्पत्ति अर्को पत्र प्राप्त नभएसम्मका लागि रोक्का गरी जानकारी पठाउनू’ संस्थानले मालपोतलाई पठाएको पत्रमा उल्लेख छ। जथन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको सार्वजनिक भएपछि गुठी संस्थानले उनीमाथि कारबाही अघि बढाएको हो। निलम्बनमा परेपछि कारबाहीबाट जोगिन जगन्नाथ राजनीतिक शक्ति केन्द्र धाइरहेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका जगन्नाथ पछिल्लो पटक प्रधानमन्त्री कार्यालय पुगेका छन्। गुठी संस्थानका उच्च अधिकारीका अनुसार महन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमार्फत गुठी संस्थानका अधिकारीलाई निलम्बन फुकुवा गर्न दबाब दिएका छन्। महन्तलाई कारबाही नगर्न प्रधानमन्त्री कार्यालयबाट दबाब आएको छ,’ संस्थानका एक उच्च अधिकारीले भने, ‘कारबाहीबाट बच्न शक्तिकेन्द्र धाइरहेका छन्।’ संस्थानले निलम्बन गरेपछि आफू अन्यायमा परेको भन्दै जगन्नाथ अदालत गएका छन्। प्रारम्भिक अध्ययनमा जगन्नाथको नाममा जनकपुरमा करिब १५ बिघा, महोत्तरीमा दुई बिघा र रुपन्देहीमा आठ बिघा जमिन रहेको भेटिएको छ। पर्सामा महन्तको नाममा रहेको चार बिघा आठ कट्ठा जमिन बिक्री गर्न लागेको सूचना प्राप्त भएपछि यसअघि नै मन्दिरको नाममा ल्याइसकिएको छ। जगन्नाथले मठमन्दिरको जमिन आफ्नो नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता लिएका थिए। बाबुको मृत्युपछि जग्गाजमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता लिएका हुन्। नागरिकताअनुसार जगन्नाथको जन्मस्थान गोनपुरा गाविस वडा नं. २ र स्थानीय वासस्थान मटिहानी गाविस वडा नं. ६ उल्लेख छ। उनको खास बाबुको नाम देवनारायण झा हो। मटिहानीको परम्पराअनुसार गुरुको मृत्युपछि उसको सम्पत्ति स्वतः उत्तराधिकारी (चेला) मा जान्छ। रामानु सम्प्रदायमा गृहस्थी त्यागेपछि जन्मस्थलसँगको नाता तोड्ने परम्परा भए पनि जगन्नाथले आफ्ना बाबु देवनारायण, दाजु, भाइ र भतिजहरुलाई पनि गुठीको जमिन दिएको स्रोतको दाबी छ। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। २०५४ सालमा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि जगन्नाथले विभिन्न मितिमा जग्गा बिक्री गरेको स्रोतले बतायो। उनलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी भए पनि जग्गा दुरुपयोग गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार