हङकङ बेलायतको उपनिवेश प्रकरण–१

पहिलो अफिम युद्ध (१८३९-१८४२)

लेखक – किन्दर राई

अठारौ शताब्दीको अन्त्यतिर बृटिश(बेलायती) साम्राज्यले विश्वभरि आफ्नो व्यापार फैलाएको थियो । व्यापारिक ध्येयले पसेका अधिकांश देशहरुमा कब्जा जमाएर आफ्नो साम्राज्य स्थापना गरेको थियो । यही क्रममा बृटिसले भारतमा पनि “इष्ट इण्डिया कम्पनी” को नामले शासन गरिरहेको थियो । त्यसबेला यता चीनसँग भने बृटिसको व्यापार मात्र चलिरहेको थियो । यस समयमा चीनमा छिङ्ग वंशिय सम्राटले शाशन गर्दथे । संसारकै सबैभन्दा धेरै चिया पिउने र संसारकै आधा चिया खपत गर्ने बेलायतीहरुले चीनबाट किन्ने वस्तु पनी मुख्यरुपमा चिया नै थियो भने यस बाहेक रेसमको कपडा, चिनियाँ माटोको भाडो(ब्यासिन) आदि पनि थिए । बेलायतीहरुले चीनमा बेच्ने मुख्य चिज भने चाँदी, घडी, बाद्यवादनका सामग्री आदी थिए । बेलायतीहरुले बेच्ने चिजको तुलनामा चिनियाँ व्यापारीहरुले बेलायतीहरुलाई बेच्ने चिजहरु अधिक मात्रामा भएकोले बेलायती र चिनियाहरुको व्यापारमा सन्तुलन थिएन । यसको लागि बेलायतले चीनमा अफिमको व्यापार गर्ने विचार गर्यो । हुन त चीनमा समेत नगन्य मात्रा भएपनि अफिम उत्पादन भई बिक्री बितरण हुने गर्दथ्यो तर यसलाई पनि चीनले १७२९ मा नै प्रतिबन्ध लगाएको थियो । यो कुरा थाहा पाएरै पनि बेलायतले सन १७८१ बाट आफ्नो साम्राज्य भारतको बंगालमा ठूलो मात्रामा अफिमको उत्पादन गर्न शुरु गरेर बेलायती व्यापारीहरुले चीनको क्याण्टोन(क्वाङ्तुङ्) प्रान्तमा अवैधानिकरुपमा बिक्री गर्न थाले । चीनको ठुलो बजारलाई प्रयोग गरेर अधिक नाफा कमाउनको लागि शुरु भएको अफिमको व्यापार सन १८२१ देखि १८३७ सम्म आइपुग्दा पाँच गुणाले बृद्धि भयो ।

अफिमले लट्ठिएका चिनियाहरु

भनिन्छ यसबेलासम्ममा बीसलाख चिनियाँहरु अफिमको कुलतमा फसिसकेका थिए । यस्तो विकराल रुप लिएपछि भने चिनियाँ सरकारले पनि यस अफिमलाई नियन्त्रणको लागि स्थानीयरुपमा पहल गर्न शुरु गर्यो । स्थानीय तथा विदेशीहरुलाई अफिमको व्यापार नगर्न निर्देशन दिए तर घुसखोरी र भ्रष्ट स्थानीय अधिकारीको कारणले अफिमको कारोबार बन्द हुन सकिरहेको थिएन । यस्तो अवस्थामा छिङ् सम्राटले यस अफिमको कारोबार बन्द गरी चिनियाँहरुलाई अफिमको नशाबाट छुटकारा दिलाउन कै लागि सन १८३८ को अक्टोबरमा “लिन् चे शु” लाई क्याण्टोन प्रान्तको “इम्पेरियल कमिस्नार”को रुपमा नियुक्ति गरे । यसपछि कमिस्नार लिनले आफ्नो अफिम बिरुद्धको अभियान शुरु गरे । यसको लागि उनले सन १८३९को मार्च १० मा थाहा हुनसकेका सबै अफिम व्यापारीहरुलाई गिरफ्तार गरेर स्कुल व्यारेकमा बन्दी बनाए ।

अफिमको कुलतमा लागेपछि छुटकारा पाउनै सकिन्न भन्ने सोचाइ भएकाहरुलाई उनले तीस वर्ष सम्म अफिमको कुलतमा लागेको व्यक्तिले कुलतबाट छुटकारा पाएर अनुहारमा कान्ति छाएको र पाखुरामा बल प्राप्त गरेको व्यक्तिलाई भेटेको भनेर बारबार सुनाइरहे । यस्ता कुलतमा लागेकाहरुलाई उपचारको लागि स्वास्थ्य चौकीहरुको व्यावस्था मिलाए । यसैगरी सन १८३९ को मार्च २५मा कमिस्नार लिन ले सबै विदेशीहरुको बस्ने घर, कार्यलय, व्यापारिक फर्महरुहरुलाई घेरा हाले र आफ्नो अफिम समर्पण गर्न आदेश दिए । यदि त्यसो नगरिएमा कुनै पनि विदेशीहरुले चीनबाट चिया, रेशमलगायत कुनै पनि चिजहरु किन्न नपाउने उद्घोष गरे । क्याण्टोन छिरिसकेका सबै मालबाहक जहाजहरुलाई बाहिर जानबाट बन्द गरिदिए । अन्य जहाजहरु आउने बाटो पनि बन्द गरिदिए । बेलायतको तर्फबाट खटिएको प्रमुख सुपरिवेक्षक चार्ल्स एलियोट आफ्ना व्यापारीहरुलाई चिनियाँ अधिकारीहरु समक्ष अफिम समर्पण गर्न अनुरोध गरे । यसको लागि क्षतिपूर्ति बेलायत सरकारले बेहोर्ने कुरा जनाए । अन्तत बेलायती व्यापारीहरुले मार्च २७ का दिन आफ्नो अफिम कमिस्नार लिन् समक्ष समर्पण गरे । दुई महिनाभित्रमा जम्मा २५ लाख पाउण्ड अफिम चीनमा भित्रिएको रहेछ । १५० फिट लामो ७५ फिट चौडा र ७ फिट गहिरो तीन वटा ट्रेन्चहरुमा अफिम भरिएको थियो । १८३९ को जून १ मा रसायन शास्त्री र इन्जीनियरहरुको सल्लाह लिएर अफिम नष्ट गरियो ।

यसपछि उनले बेलायतको महारानीलाई एउटा स्मरण पत्र लेखे, “जनताहरुको लागि हानीकारक चिज हो भनेर जसरी आफ्नो देशमा अफिमलाई प्रतिबन्ध लगाइएको छ त्यसैगरी अरु देशमा पनि अफिमको व्यापार नगर्नु होला, व्यापार होस् त लाभदायक कुरामा होस् ।” यस कार्यको समापनपछि कमिस्नार लिन्लाई चिनियाँ सम्राटबाट प्रतिक्रिया आयो, यो एउटा मानव जातिको लागि अत्यन्तै आनन्ददायक कुरा हो ।
क्रमशः………

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार