हङकङ बेलायतको उपनिवेश प्रकरण–१

पहिलो अफिम युद्ध (१८३९-१८४२)

( बाकी अंश)

लेखक – किन्दर राई

लाखौ पाउण्ड मुल्यको अफिम नष्ट भएकोमा बेलायती पक्षले गुनासो गर्नु पर्ने स्थिती नरहे पनि यसले चीन र बेलायत बिचको सम्बन्धमा भने चिसोपना छाएको थियो । त्यसमा पनि चार्ल्स एलियोटको बिनाकारण व्यापारीहरुको नष्ट भएको अफिमको क्षतीपूर्ति दिने कुरालाई अर्थपूर्ण रुपमा लिइएको थियो । यसैको सेरोफेरोमा काउलुनमा एक चिनिया मारिएको घटना नै चीन र बेलायतबीचमा भएको प्रथम अफिम युद्धको लागि सुकेको जंगलमा डढेलो लाग्नको लागि एउटा आगोको झिल्को साबित भइदियो । जुलाइ १२, १८३९ का दिन ६ जनाको एक समुहले उत्तेजित बेलायती नाविकहरुले काउलुनमा रहेको एक मन्दिर भत्काइदिए, जसको प्रतिरक्षाको लागि आएका एकजना चिनियालाई मारिदिए । कमिस्नार लिनले ती ६ जना अभियुक्तहरुलाई चीनसमक्ष सुपुर्दगीको लागि माग गरे तर क्याप्टेन चार्ल्स एलियोटले ती अभियुक्त नाविकहरुलाई बेलायती कानुन अनुसार सजाय गरिने तर चीनसमक्ष सुपुर्दगी नगर्ने भन्ने जवाफ पठाए । चीनको भूमिमा गरिएको अपराधको सजाय चीनले गर्नु पाउनुपर्छ भन्ने कमिस्नार लिनको भनाईको बाबजुद ती अपराधीहरुलाई बेलायती कानुन अनुसार सजाय दिने भने पनी उनीहरुलाई बेलायत पुगेपछि बिना सजाय छोडियो । उक्त घटना पश्चात क्रुद्द बनेका कमिस्नार लिनले चीनमा रहँदा चीनको नियम र कानुन अनुसार चल्नु पर्ने, अफिमको व्यापार गर्न नपाइने, गरेको खण्डमा मृत्युदण्ड स्वीकार्नु पर्ने जस्ता सर्तहरु राखे । तर यी कुनै पनि सर्तहरुको बेबास्ता गर्दै चार्ल्स एलियोटले आफ्ना सबै व्यापारीहरुलाई चीनसँग व्यापार नगर्न र क्यान्टोन छाड्न आदेश जारी गरे । चीनको सर्त मान्ने केही व्यापारीहरु बाहेक सबै बेलायती व्यापारीहरुले क्यान्टोन छाडेर आफ्नो जहाज तत्कालीन पोर्तुगिज अधिनस्त भूभाग मकाउमा सरे । मकाउ स्थित पोर्तुगिज अधिकारीहरुलाई बेलायती जहाजहरुलाई त्यहाँ राख्न अनुमती दिए चीनले राशनपानी बन्द गरिने चेतावनी भएपछि बेलायती जहाजहरुलाई मकाउमा स्थान पाएनन ।त्यस्पछि अगष्टको मध्यतिर यी जहाजहरु हङकङ टापुतर्फ लगियो । यस अवस्थासम्म आइपुग्दा बेलायतले चीनसँग युद्ध गर्ने मानसिकता बनाइसकेको थियो जस अनुसार अगष्ट ३१ मा बेलायतले २८ गनको एउटा युद्धपोत ल्यायो र त्यसलाई हङकङमा रहेको व्यापारिक जहाजसँग एकै ठाउँ राखियो। चिनियाँ अधीकारीहरुले बेलायती सैनिक शक्ति चिनियाँ शक्तिको तुलनामा कमजोर ठानेका थिए। दुश्मनलाई कम्जोर ठान्नु चिनियाहरुको गल्ती थियो। आफ्नो शक्तिमा पूर्ण विश्वास भएको बेलायतले भने भित्र भित्रै लगातार युद्धको तयारीका लागि जुटे। यसै क्रममा नोवेम्वर महिनामा बेलायतले हात हतियारले शुसज्जित अर्को युद्धपोत पनि ल्यायो । यी दुवै युद्धपोतको साथ यसको एडमिरलले चिनियाँ अधिकारीहरुसमक्ष व्यापारलाई पहिलेको जस्तो सामान्य अवस्थामा ल्याउनु पर्ने माग राख्यो । चिनियाँ नौसेनाको एडमिरलले पनि त्यो पत्र पाठ नगरी त्यतिकै फर्काइदियो। के निहु पाउ भै रहेको बेलायतिलाई यहि घटना काफी भयो। यहि रिसमा बेलायती युद्धपोतले बिना सुचना तत्कालै चीनको पाँचवटा जंक(चिनियाँ लडाकु जहाज)हरु डुवाइदियो र कैयौं अन्य जहाजहरु नराम्रोसँग क्षति पुर्याइदियो। ४५ मिनेटभित्र बेलायतीले उक्त विध्वंस गर्यो ।


आफ्नो क्षति भए पछि त्यसको बदला लिन चीन पनि युद्धको तयारीमा जुट्न थाल्यो । चीनले पर्ल रिभर (Pearl River) को मुखमा ८० वटा जङ्क (चिनियाँ हजाज)हरु र युद्धपोतहरु तैनात गरे । सामरिक महत्वका स्थानहरुमा शुरक्षा व्यवस्था मजबुत पारे।
सन १८४० को जून मा सिंगापुरबाट १५ ब्यारेक पानीजहाज, ४ वटा वास्प शक्तिले चल्ने गण–बोट, २५ वटा सानासाना डुङ्गासहित ४००० नौसेना क्याण्टोन(क्वाङ्तोङ्)मा आइपुग्यो । यो सेना बेलायती जेम्स ब्रामरको कमाण्डमा आएको थियो । हालसम्म व्यापारमा भएको गतिरोधको कारणले भएको क्षतीपूर्ति चीन सरकारले दिनु पर्ने र व्यापारलाई पहिलेको जस्तो सामान्य बनाउनु पर्ने माग सहित चीन सरकारलाई दवाब दिन थाल्यो । तर चीन सरकारले यसलाई अस्वीकार गरेपछि बेलायती सेनाले आक्रमण शुरु गर्यो। पर्ल रिभरको मुख्य द्वारमा कमिस्नार लिनको कमाण्डमा सशक्त प्रत्याक्रमण भएकोले बेलायतीहरु त्यहाँबाट उत्तरतर्फ रहेको शीयानतर्फ लागे ।
अर्को वर्ष अर्थात १८४१ मा बेलायती सेनाले पर्ल रिभरको द्वारलाई सुरक्षा गरिरहेको बोकु किल्ला (Boku Fort) लाई कब्जामा लियो । पर्ल रिभर हङकङ र क्याण्टोन बीचको जलमार्ग हो । बेलायतीहरु अघि बढ्दै जनवरीमा क्वाङ्गझाउको अधिक भाग, निङ्पो र चिङ्हाइको आर्मी क्याम्प समेत बेलायती सेनाले कब्जा गर्याे ।
त्यसैगरी सन १८४१ को मध्यतिर प्रशिद्ध व्यापारिक जलमार्गको रुपमा रहेको याङ्जे नदिको द्वार र साङ्घाई समेत बेलायतको कब्जामा पुग्यो। बेलायतीहरु बिजयी हुँदै अनवरत अगाडी बढे पछि चिनिया सरकारले बेलायती शक्तिको सामु घुडा टेक्नु बाध्य भयो । फलामले बनेको स्टिम इन्जीनले चल्ने युद्धपोत, आधुनिक राइफल, अर्टिलरीसहितको विश्वविजेता बेलायतको सामु परम्परागत काठैकाठले बनेको पानीजहाज र सामान्य किसिमको बन्दुकको भरमा चीनले बेलायत सामु टिक्नु सहज थिएन ।
अन्ततः १८४२ को अगष्टमा नानजीङ्(नानकिङ्ग)को एउटा असमान सन्धिमा हस्ताक्षर गर्दै यस पहिलो अफिम युद्ध टुङ्गियो ।

नानकिङ्को असमान सन्धिको परिणामहरु निम्न अनुसार रह्यो ।
१. चीनमा व्यापार गरेर बसे वापत बेलायतीहरुले चीन सरकारलाई कुनै किसिमको कर वा नजराना तिर्नु नपर्ने ।
२. चीनको भूमिमा अपराधी ठहर्याइएका बेलायतीहरुलाई चीन सरकारले सजाय दिन नपाउने, बेलायती निकायले नै सजाय दिने ।
३. क्याण्टोनबाहेक अरु थप व्यापारिक केन्द्रहरु शाङ्घाई, फुचोउ, निङ्पो, र एमोयी पनि खुल्ला गरिने।
४. व्यापारको लागि बेलायतलाई चीनले “अधिक अनुकुल राष्ट्र (Most Favour Nation)” को रुपमा मान्नु पर्ने जस अनुसार कुनै अन्य देशसँग चीनले वाणिज्य सन्धि गर्नु परेमा बेलायतको परामर्श लिनुपर्ने।
५. हङ्कङ् द्वीप (Hong Kong Island) औपचारिक रुपमा चीनले बेलायतलाई शाही उपनीवेश (Crown colony) को रुपमा सुम्पनु पर्ने।
(यसरी चीनमा निर्वाधरुपमा अफिमको व्यापार गर्न पाउनु पर्ने बेलायती दवावको फलस्वरुप भएको युद्धमा चीनको हार भएको कारणले हङकङ टापु बेलायतलाई उपनिवेशको रुपमा जिम्मा लगाउन पर्यो भने अपार ग्राहक क्षमता भएको चीनको बजारमा अझ प्रभुत्व जमाउने मनोकांक्षाले सन(१८५६–१८६०)मा दोश्रो पटक पनि युद्ध भयो (दोश्रो अफिम युद्ध)। त्यस युद्धमा पनि चीन हारेको हुनाले १८६० को पेकिङ सन्धि अनुसार काउलुनलाई पनि आफ्नो उपनिवेश बनाउन बेलायत सफल भयो ।
हङकङ र काउलुनलाई सुरक्षित राख्नमो निमित्त त्यसको वरिपरिका भूभाग पनि आफ्नै अधिनमा हुनु पर्छ भन्ने बेलायती मनसायले सन १८९८ मा हाल न्यु टेरीटोरी भनेर चिनिएका भूभागहरु बेलायतले ९९ सयवर्षकोलागि लिज (भाडा)मा लियो । जसको म्याद सन १९९७ को जुलाई १ मा समाप्त भएकोले चीनलाई औपचारिकरुपमा हस्तान्तरण गर्यो जुन दिनलाई बिशेष प्रशासकिय क्षेत्र स्थापना दिवश (SAR Establishment Day) को रुपमा मनाइने गरिन्छ ।)

(बाँकीअंश दोश्रो अफिम युद्धको बारेमा छोटकरी विवरण अर्को अंकमा, क्रमशः)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार