मैले हिरो बन्नलाई सेनामा सुधारको प्रयास थालेको होइन………

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुदृढ बनाउन थप कठोर उपाय अवलम्बन गरिने बताएका छन्। पदवहालीको एक वर्ष पुगेको अवसरमा जंगी अड्डामा विशेष सम्बोधन गर्दै थापाले आफ्नो कार्यकालमा सेनालाई आधुनिक बाटोमा हिँडाएरै छाड्ने प्रतिबद्धता जनाए। थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि सुधारका कार्यक्रम अघि नबढाइएको स्पष्ट पारे। संगठनमा अत्यावश्यक परिवर्तनको प्रयासमा असफल हुनसक्ने वा हुनेसम्मको जोखिम लिएर सुधारको अभियान थालेको थिएँ। नेपाली सेनालाई थप सुदृढ गर्दै लैजाने र भविष्यमा आधुनिक सेनाको सपनासहितको चुनौतीपूर्ण विकल्प मैले रोजेको हुँ’, उनले भने। थापाले थपे, ‘मैले हिरो बन्नलाई वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमीकमजोरीमा सुधारको प्रयास थालेको होइन। मसँग धेरै सजिला बाटाहरु पनि थिए। तर, मैले कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु। उनले आफूले सुरु गरेका कार्यबाट तत्कालै परिणाम आए पनि नआए पनि भविष्यमा सकारात्मक प्रतिफल दिने बताए। ‘अहिले सुरु गरिएका केही सुधारका कार्यहरुबाट संगठनमा मेरो प्रधानसेनापतिको कार्य खासै परिवर्तन वा फरक नदेखिन सक्दछ’, थापाले भने, ‘तर अहिले रोपिएका बिरुवाहरुलाई राम्रोसँग मलजल गर्दै हुर्कन र बढ्न दियौँ भने त्यसमा राम्रो फल लाग्नेछ। सम्बोधनका क्रममा प्रधानसेनापति थापाले बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपदहरुमा खोज र उद्धार गर्ने कार्य तथा प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यहरुमा खटिने, बारा र पर्साको हावाहुरी पीडितलाई तत्काल पुनर्वासको व्यवस्थाअन्तर्गत छोटो समयमै घर निर्माण गरेर नागरिकप्रतिको सेनाको दायित्व पुरा गर्न प्रत्यक्ष–अप्रत्यक्ष योगदान दिने कमाण्डर तथा फौजको प्रशंसा गरे। एक सिपाही, एक रुख कार्यक्रम, सर्पदंश उपचारको कार्य, स्थानीयको सुविस्ताका लागि निर्माण गरिएका खानेपानी तथा शौचालय आदि कार्य, भौतिक संरचनाको निर्माणले नागरिक र सेनाको सम्बन्ध स्थानीय स्तरमा नै मजबुत बनाउने उनको भनाई छ। सेनाले विभिन्न खेल र प्रतियोगितामा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धिहरु हासिल गरेको भन्दै थापाले आगामी कात्तिकमा चीनमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपाली सेनाको टिम पनि पहिलो पटक सहभागी हुन लागेको जानकारी गराए। दुर्गम जिल्लालाई सडकले जोड्ने कार्य अन्तर्गत डोल्पा जिल्ला जोडिएपछि यसै वर्ष नेपालका सम्पूर्ण जिल्लाहरु राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै आफूहरुका लागि यो थप गर्वको विषय भएको बताए। संरक्षण जिम्मेवारीतर्फ शून्य चोरी शिकारी अभियानमा पनि उल्लेखनीय सफलता प्राप्त भएको उनले बताए। गत वर्ष थालनी गरिएका तत्काल सुधार र परिवर्तनका कार्यहरु, संगठनमा परिपाटी बसाल्न तयार गरिएका नीति तथा कार्ययोजनाहरु, तथा संगठनका लागि दीर्घकालीन महत्वका नीति, योजना तथा कार्यक्रमहरु तयार गर्ने कार्यमा जङ्गी अड्डाका विभिन्न कार्यालय, पृतना, वाहिनी, युनिट र निकायमा कार्यरत रही प्रत्यक्ष/अप्रत्यक्ष रुपमा निःस्वार्थ योगदान दिने रथीवृन्द, अधिकृत, पदिक, र अन्य दर्जाप्रति उनले आभार प्रकट गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार