हङकङमा बेलायती साम्राज्य प्रकरण–२

दोश्रो अफिम युद्द

– किन्दर राई

लेखक – किन्दर राई

दोश्रो अफिम युद्ध बेलायत,रुस,अमेरिका र फ्रान्स जस्तो शक्तीशाली राष्ट्रहरुले तुलानात्मक रुपमा कमजोर सैनिक भएको चीन जस्तो असहाय एक्लो राष्ट्रमाथीको नाङ्गो हस्तक्षेपको पराकाष्ठा थियो । पहिलो अफिम युद्धमा बेलायतसँग हारेर नानकिङ्को असमान संधिमा हस्ताक्षर गर्नु परेको चीनले त्यसपछि अमेरिका, फ्रान्स र रुससँग पनि त्यस्तै सम्झौता गर्नु परेको थियो । अब चीनको बजारमा प्रभुत्व जमाएर ब्यापार गर्ने राष्ट्रमा बेलायत मात्र थिएन उसको हितैषीहरु फ्रान्स, अमेरिका र रुस पनि थियो । चीनको पाँचवटा वाणिज्य केन्द्रहरुमा मात्र ब्यापार गरेर बेलायत लगायत अन्य पश्चिमा देशहरुलाई चित्त बुझि रहेको थिएन । उनिहरुको मनसाय पुरै चीन भरि ब्यापार गर्ने थियो । यसकारण उनिहरुले आफ्नो अफिमको ब्यापार चीनभरी गर्न पाउँनु पर्ने, राजधानी पेकिङमा बेलायतको राजदुत राख्न पाउनु पर्ने जस्ता थुप्रै आफ्नो पक्षका माग राख्दै आयो तर बेलायत लगायत फ्रान्स, अमेरिकाको मागलाई चीनले अस्विकार गर्दै आएको थियो । बाह्र वर्ष अगाडि १८४२ मा गरेको सन्धीलाई सच्याएर चीनलाई अर्को सन्धि गर्न वाध्यपार्ने निहुँ खोज्ने दाउमा यी पश्चिमा देशहरु लागी रहेका थिए ।
यी र यस्तै परिवेशमा १८५६ को अक्टोवर ८ का दिन चिनियाँ अधिकारीहरुले बेलायती अधिनस्त हङकङमा दर्ता भएको एकजना चिनियाँको पानी जहाजलाई अवैध ब्यापार गरेको आशंकामा कब्जामा लियो । त्यहाँ रहेको १२ जना चिनीयाहरुलाई पक्रेर हिरासतमा राख्यो र यसमा फहराइ रहेको बेलायती झण्डालाई च्याती दियो । यस कार्यको बिरुद्धमा क्याण्टोन स्थित बृटिस बाणिज्यदुत ह्यारी पाकर्स् (Harry Parks) ले ति शंकास्पद रुपमा गिरफ्तार गरिएका चिनियाहरुलाई छोडि दिन र झण्डा च्यातीएकोमा माफी माग्नु पर्ने माग राख्यो । चिनीया अधिकारीहरुले ति चिनियकहरुलाई छोडि त दियो तर झण्डा च्यातेकोमा भने माफी माग्न इन्कार गर्याे । के निहुँ पाउँ कनिका बुक्याउँ भने झै बेलायतीहरुलाई निहुँ भइहाल्यो । अन्ततः २३ अक्टोबर १९५६ मा हङ्कङ्का गभर्नर सर जोन बोरिङ्ग (Sir John Bowring) ले आफ्नो बेलायती सेनालाई क्याण्टोनलाई सुरक्षा दिई रहेको किल्लालाई कब्जामा लिएर क्याण्टोनमा बम बर्षा गर्न आदेश दियो । बेलायतीहरुको क्रूरता प्रती चिनियाहरुमा पश्चिमा नागरिकहरु प्रति आक्रोस भरियो जसको परिणाम स्वरुप १८५६ को डिसेम्बर महिनासम्म आइपुग्दा पश्चिमा ब्यापारीहरुको ब्यापारिक सम्पत्ती, कारखाना र कार्यालयहरुमा तोडफोड र आगजनी समेत गरिदियो । यसपछि गभर्नर बोरिङ्गले थप सैनिकबलको ब्याबस्था गरे । यसैबिचमा सन १८५७ को मे र जून महिनामा बेलायतले चीनको क्याण्टोन नजिकैको दुई छुट्टाछुट्टै घटनामा ११० वटा पानि जहाजहरु नष्ट गरि दिए । बेलायतले यता रुस, फ्रान्स र अमेरिकालाई पनि सैनिक कार्यवाहीमा सहभागी हुनु अनुरोध गर्यो । यस अगाडि नै एकजना फ्रान्सेली धर्म प्रचारकलाई चीनमा सजाय स्वरुप हत्या गरिएको थियो । यसै काण्डको बदालाको लागि फ्रान्सले बेलायती सैनिक कार्बाहीमा सहयोग गर्न आफ्नो सेना अगाडि बढायो । बेलायतको सेनालाइ लर्ड एल्गीन (Lord Elgin) ले र फ्रान्सेली सेनालाई ब्यारोन ग्रस (Barron Gros) ले नेतृत्व गरेका थिए । यी दुई देशको सेनालाई सघाउन रुस र अमेरिका पनि सम्मीलीत भए । संयुक्तसेनाले २८ डिसेम्बरमा पुनः आक्रमण गरेर तीन दिनको लडाइपछि क्याण्टोनलाई कब्जामा लिए । यसमा बेलायती पक्षको १३ जनाको मृत्य र ८३ जना घाइते भए भने फ्रान्सेली पक्षमा २ जनाको मृत्य र ३० जना घाइते भयो । क्याण्टोनका कमिस्नर ये मिङ्ग चेन (Yeh Ming-ch’en) लाई कब्जामा लिइयो र भारतको कलकत्तामा पुर्यायो । ( १८५९ मा त्यही उनले भोकभोकै बसेर आफैलाई मृत्यको मखमा पुर्याए ।) यसपछि बेलायत र फ्रान्सको संयुक्त सेना राजधानी पेकिङ कब्जा गर्न उत्तर तर्फ हानियो । सन १८५८ को मे २० मा पेकिङ्ग तर्फ लाग्ने पेइहो नदीको मुखमा रहेको ताकु किल्ला (Taku Fort) लाई कब्जामा लिएर तियानजिन पुगे । यस संयुक्त सेनासँग हार खाएपछि चिनीया अधिकारीहरुले एल्गीन र ग्रससँग सम्झौता गरे जसलाई तियान्जिनको सन्धि (Treaty of Tienjin) भनिन्छ।

तियनजिनको सन्धिः

बेलायत, रुस, फ्रान्स र अमेरिककासँग भएको यस सन्धिको बुदाहरु यसप्रकारछन् ।

१. बेलायत, फ्रान्स, रुस र अमेरिकाले पेकिङमा कुटनैतिक नियोग राख्न पाउने ।
२. अन्य दशवटा ब्यापारिक केन्द्रहरु पनि पश्चिमा देशहरुको लागि चीनले खुल्ला गरि दिनु पर्ने ।
३. याङ्जे नदीमा ब्यापारिक प्रयोजन समेतका बिदेशी जहाजहरु स्वतन्त्र रुपमा आवतजावत गर्न पाउनु पर्ने ।
४. बिदेशीहरुले चीनको भित्री भागहरुमा पनि बिना ब्यावधान घुमफिर गर्न पाउनु पर्ने ।
५. चीनले बेलायत र फ्रान्सलाई क्षतीपुर्ती स्वरुप २०/२० लाख टिल चाँदी दिनु पर्ने ।
६. बेलायती ब्यापारीहरुको सम्पत्ती तोडफोड र आगजनी भएकोमा त्यसको क्षतीपुर्ती स्वरुप चीनले ति ब्यापारीहरुलाई २० लाख टिल चाँदी दिनु पर्ने ।

असमानपुर्ण सम्पन्न भएको तियनजिनको सन्धि दुई वर्षसम्म पनि लागु हुन सकेन । चीनको लागि शुरुमै अपमानपुर्ण भएको यस सन्धी लागु गर्न आनाकानी गरेको र बेलायतको सैनिकबलको मिचाहापनले गर्दा झन भिषण युद्ध भयो । पश्चिमाहरुको सम्भावीत आक्रमणलाई ख्याल राखेर चिनीया सम्राट शियानफेङ्ले मंगोलिया(चीन भित्रपर्ने भित्री मंगोलीया)का जनरल सेङ्गे रिन्चेनलाई तियानजिनमा रहेको ताकु किल्लाको रक्षार्थ खटायो । १८५८ को जुन २ मा चार हजार मंगालियन घोडचढि सहित थप आर्टीलरीहरुकासाथ ताकु किल्लामा सेङ्गे रिन्छेन तैनात भएर बसे । यसै महिनामा यता बेलायतले २२ सयको नौसेना र २१ वटा पानिजहाज एडमिरल सर जेम्स होपको नेतृत्वमा नयाँ नियुक्ती भएको बेलायत र फ्रान्सको दुतहरु सहित बेइजिङ्ग जानको लागि साङघाई बाट उत्तर तियानजिन तर्फ लाग्यो । यो टोली हाइ रिभरको मुख तर्फ लाग्यो जसलाई तियान्जिन नजिकैको ताकु किल्लाले रखवारी गरि रहेको थियो । त्यहाँ पुगेर त्यस सैनीक टुकडिले पेकिङ तर्फ जानकोलागि अनुमति माग्यो । तर सेङ्गे रिन्चेनले बेलायती र फ्रेन्च दुतहरुलाई पेइताङ्मा ओर्लेर पेकिङ तर्फ जानकालागि आग्रह गर्यो र साथमा शसस्त्र सेनालाई चाही आफ्नो देशको राजधानी तर्फ जान अनुमती दिएन । तर बेलायती र फ्रेन्च सेनाले आफ्नो दुतहरु ताकु किल्लामा ओह्रालेर आफ्नो सेनाले स्कर्टीङ् गरेर पेकिङ तर्फ लानु पाउँनकालागि जोरदार आग्रह गर्यो । चीनले नमाने पछि १८५९ जुन २४ को राति बेलायती सेनाले चीनले बनाएको नदी(पेइहे नदी)को फलामेबारलाई भत्काइदियो र जवर्जस्ती अगाडि बढ्यो । भोली पल्ट उसले ताकु किल्लामा बमबारी गर्न शुरु गर्यो । तर यस पटक सिङ्गे रिन्चेनको शसक्त प्रत्याक्रमणले गर्दा एकदिन एकरातको भिषण युद्धमा बेलायतको चारवटा पानिजहाज हरायो भने दुइवटा नराम्ररी क्षतीग्रस्त भयो । ८१ जना बेलायती सेनाको मृत्य भयो भने ३४५ जना सख्त घाइते भयो । यसपटक बेलायती सेना चीनको सेनासँग हारेर भाग्यो ।
तर १८६० को अगष्टमा लेफ्टिनेन्ट जनरल जेम्स होप ग्राण्टको नेतृत्वमा ११ हजार बेलायती सेना र जनरल चाल्र्स मोण्टउवनको नेतृत्वमा ६ हजार फ्रेन्च सेना १७३ वटा पानिजहाजका साथ हङ्गकङ्गबाट उत्तर तर्फ लाग्यो र यान्ताइ र तालियनको बन्दरगाहलाई कब्जा गर्दि पोहाइ खाडि तर्फ लाग्यो । यसपछि उनिहरु ताकु किल्लाको तिन किलोमिटर टाढा रहेको पेइताङ्गमा ओर्लियो । अगष्ट ३ मा ताकु किल्लालाई पनि कब्जामा लिए पछि बेलायती र फ्रेन्च सेना पेकिङ तर्फ हानियो । यसै बिचमा चीन सरकारले शान्तीको लागि वार्ता टोली पठाए पनि बेलायती पक्षले अस्वीकार गर्यो । ह्यारी पाक्र्स लगायतका उनको दलका सदस्यहरुलाई चीनले गिरफ्तार गरी मानसिक दवाव दिइएको र केहिलाई मारेको कारणले बेलायत अझ धेरै रुष्ट भएको थियो । अक्टोवर २१ का दिन पालिको भन्ने ठाँउमा सेङ्गगे रिन्चेनको १० हजार सेनालाई त्यो भन्दा सानो तर आधुनिक हतियारले सुसज्जीत बेलायती–फ्रेन्च सेनाले पुर्णरुपले परास्त गर्यो । यसपछि अक्टोवर ६ कादिन यो संयुक्त सेना निर्वाधरुपमा राजधानी पेकिङमा प्रबेश गर्यो ।
चिनीया सेनाको ठुलो हार भएपछि सम्राट शियनफेङ्गले आफ्नो भाइ राजकुमार कोङ्ग न्यलनर प्यलनलाई राज प्रतिनिधीको रुपमा राजकाज सुम्पेर राजधानी छोडेर मन्चुरीया पलायन भए । आफ्नो नियन्त्रणमा रहेको राजधानी पेकिङ्गमा उनिहरुले लुटापाट र आगजनी शुरु गरे । बेलायती–फ्रेन्च सेनाले सर्वप्रथम नयाँ सम्मर प्यालेस र त्यसपछि पुरानो सम्मर प्यालेसमा व्यापक लुटपाट र आगजनी गर्यो।कला र ऐतिहासिक महत्वले भरिपुर्ण यी दरवारहरु बन्दी बनाइएका जेम्स् पाक्र्सलाई मुक्त गरेपछि जलाइयो । ३ दिन ३ रातमा ३५ सय सिपाही लगाएर यी दरवारहरु जलाइएर नष्ट गरिए । त्यसपछि बेलायती सेनाका कमाण्डर लर्ड एल्गीनले फर्बिडन सिटिलाई ध्वास्त बनाउने धम्कीसाथ बेलायत र फ्रान्ससँग सम्झौता गर्न दवाब दिए । यसपछि अक्टोवर १८, १९६० मा सम्राट शियनफेङ्गको भाईले तियानजिनको सन्धीलाई सदर गर्दै पेकिङ्ग सन्धि गरे।

पेकिङ्गमा भएको सन्धीका मुख्य बुदाँहरु निम्नअनुुसार रह्यो ।

१.हङकङमा बेलायती साम्राज्य प्रकरण–२ चीनले तियानजिनमा भएको सन्धि पत्रलाई मान्यता दिनु पर्ने ।
२. तियानजिन पनि बाणिज्य ब्यापारकोलागि खुल्ला गरिनु पर्ने ।
३. काउलुनको एक नं जिल्ला(स्टोनकटर आइल्याण्ड सहित) लाई चीनले बेलायतलाई त्याग्नु पर्ने ।
४. चीनमा क्रिश्चियन धर्म प्रचारकोलागि स्वतन्त्र हुनु पर्ने ।
५. अमेरिकाको लागि दासको रुपमा लान करार गरिएका चिनियाहरुलाई बोक्न बेलायती जहाजहरुलाई स्वीकृती दिनु पर्ने ।
६. फ्रान्स र बेलायतलाई क्षतिपुर्ती स्वरुप दिनु पर्ने चाँदीमा ८० लाख टिल चाँदी थप हुनु पर्ने ।
७. अफिमको ब्यापार बैध गरिनु पर्ने ।

यसको २ हप्ता पछाडि चीनले रसियासँग पनि पेकिङ्को पुरक सन्धिको रुपमा अर्को सन्धिपत्रमा हस्ताक्षर गरेर तीन लाख देखी चार लाख वर्गमाइल जमीन रसियालाई सुम्पनु पर्यो । तुलानात्मक रुपमा सानो संख्याको बेलायती–फ्रेन्च सेनाको अगाडि शक्तिशाली भनीएको छिङ् वंशिय सम्राटकोलागि दुईवटा दुखदायी हार भयो । पहिलो त सम्राट आफैले निर्वाशित हुनु पर्यो भने अर्को कला, साँस्कृतीक र ऐतिहाँसिक महत्वको दुईवटा ठुलाठुला दरवारहरु लुटिनु मात्र होइन पुर्णरुपमा नष्ट नै हुन पुग्यो । निसन्देह प्राचिन सभ्यता बोकेको चीनले पश्चिमाहरुको सामु लज्जास्पद रुपमा पराजित हुनुका साथै अपमानित हुनु पर्यो । ब्यापारिक सन्धि भने सन १९४३ सम्म लागु भइ रह्यो। यसरी अफिमको निहुमा चीनलाई पश्चिमाहरु मिलेर क्षतबिक्षत बनायो।

न्यु टेरिटोरी किन लिजमा लियो ?

स्टोनकटर आइल्याण्ड सहितको काउलुन र हङ्कङ् आइल्याण्डलाई बृटिसले आफ्नो साम्राज्य बनाएपछि यसको जनसंख्या दिनानु दिन बढ्न थाल्यो । आफ्नो भाग्य खोज्दै शहर आएका चिनिया र पश्चिमाहरुको कारणले हङ्कङ् र काउलुनमा जनचाप अत्याधिक हुन थाल्यो । १८९४ को प्लेगको महामारीले त हङ्कङ् सरकारलाई आफ्नो साम्राज्यको जनघनत्वको बारेमा सोच्नै पर्ने वाध्यता बनायो । आफ्नो साम्राज्यको जनताहरुलाई ब्यावस्थीत गर्नको लागि थप जमीनको आवश्यकता महसुस भयो । यसको अलवा नयाँ मुलुकलाई भाडामा लिनुको कारण मध्ये आफ्नो साम्राज्यको सुरक्षा दिनु पनि प्रमुख थियो । सन १८९४ मा भएको पहिलो जापानसँगको युद्धमा चीनको नराम्रो हार भएपछि नै बेलायतलाई चिसो पसेको थियो । बेलायतीहरुलाई के लाग्यो भने अब चीनले आफ्नो सुरक्षा आफै गर्न सक्दैन । काउलुन माथिको पहाडबाट हङ्कङ्लाई कुनैपनि आक्रमणकारी फौजले सजिलै आक्रमण होला भन्ने चिन्ता लाग्यो । अर्कोतिर विभिन्न वहानामा जर्मनी, फ्रान्स र रसियाले चीनको बिभिन्न भुभागहरु भाडामा लिंदै गएको अवस्था रहेको थियो । यसरी पश्चिमाहरुको बढ्दो प्रभावको कारणले यसलाई रोक्नको लागि दक्षिण चीनमा फ्रान्स र अन्य राष्ट्रको प्रभावबाट जोगाउन बेलायतले आफ्नो “अधिक अनुकुल राष्ट्र” को अधिकारलाई प्रयोग गर्दै काउलुनको भुभागलाई बिस्तार गर्नको लागि माग गर्यो । चीनले यस प्रस्तावलाई स्वीकार्यो र जुलाई १ बाट लागु हुने गरि सन १८९८ को जुन ९ मा नयाँ मुलुकलाई ९९ सय वर्षको लागि भाडामा दिन पेकिङमा सन्धि भयो । यो जमीन हङ्कङ् आइल्याण्ड र काउलुनको जम्मा क्षेत्रफलको तुलानामा १२ गुणा ठुलो रहेको थियो (छ) (९४५ वर्ग किमी) ।
न्यु टेरिटोरीमा रहेको जिल्लाहरुः १ आइल्याण्ड(चेकलापकोक, लान्ताउ, लामा आइल्याण्ड सहित १२ वटा टापुहरुहको समुह), २.क्वाइ चिङ्(क्वाइचुङ् र चिङ्यी), ३. नर्थ(स्यङ्शुइ लगायत अन्य भुभागहरु) ), ४.साइकुङ्, ५. सातिन, ६. ताइपो, ७. चुनवान, ८.थ्युनमुन(चुनमुन) र ९. युनलोङ
न्यु काउलुनमा रहेका जिल्लाहरुः १.वोङ्ताइसिन, २. क्वुनथोङ्, ३. सामशुइपो, ४. काउलुनसिटि

न्यु टेरीटोरी सँगै हङकङ  र काउलुन पनि किन फिर्ता दिइयो ?

न्यु टेरिटोरिको लिजको अवधि २० वर्ष वाँकी रहेको १९८० मा संयुक्त अधिराज्य बेलायत र जनवादी गणतन्त्र चीन बिचमा हङ्कङ् र न्युटेरिटोरिको भविष्यको बारेमा छलफल भयो । र सन १९८४ मा चीन र बेलायतको बिचमा लिजमा लिएको न्यु टेरिटोरी मात्र नभइ सम्पुर्ण हङ्कङ् चीनलाई फिर्ता गर्नु पर्ने निर्णय गर्याे । यसमा मुख्य दुइ कारणहरु रहेका छन् । पहिलोः नयाँ एयरपोर्ट, कन्टेनरपोर्ट, ठुलाठुला पानीका रिजर्भ्वायर आदी न्यु टेरिटोरिमा नै रहनु । दाश्रोः न्यु टेरिटोरीलाई मात्र चीनमा गाभेपछि यहाँको जनताहरुलाई काउलुन र हङ्कङ् द्धिपमा समायोजन गर्न असम्भव हुने भएकोले यसो गर्न परेको हो । यस बाहेक के कुरा पनि वास्तवीक हो भने कुनै पनि अर्काको देशमा स्थापीत भएको साम्राज्य सदाका लागि कायम राख्न सम्भव छैन, कुनै न कुनै दिन त्यहाँबाट हात धोएर हिड्नै पर्छ । यहि मनोबिज्ञानले पनि न्यु टेरिटोरिसँगै सम्पुर्ण हङ्कङ् नै फिर्ता गर्दा सान्दर्भिक ठानेर बेलायतले कुनै ठुलो जोर जुलुम बिना नै यो कदम चालेको हुन सक्दछ । त्यसमा पनी सम्पुर्ण रासन र पानी मुख्य भुमी चीनबाट आउने गर्दछ । यस्तो अवस्थामा सैनिक बलले मात्र आफ्नो साम्राज्य कायम हुने कुरै थिएन ।
यसरी बेलायतले सम्पुर्ण हङ्कङ् चीनलाई फिर्ता दिए पनि फिर्ता भएको पचास वर्षसम्म हङकङमा चीनको समाजवादी शासन लागु गर्न नपाउने भन्ने शर्त पनि दुई देशले मन्जुर गरेका छन् । एकदेश दुइ प्रणाली (One Country Two Systems) भनेर ब्याख्या गरिएको यस ब्यावस्था अनुसार हङ्कङ् उच्च स्वायत्तता (High autonomy) का साथ चीनको बिशिष्ट प्रशासनीक क्षेत्र (Special Administrative Region-HKSAR) को रुपमा रहने भयो । जसअनुसार रक्षा र बिदेश निती बाहेक सम्पुर्ण शासन प्रणालीका काम कार्यवाहीहरु स्वतन्त्र रुपमा कार्यन्वयन गर्न पाउने भयो । हस्तान्तरणको समारोह सन १९९७ जुलाई महिनाको १ गते राती ठिक सुन्य बजे हङ्कङ्को वान चाई स्थित नव निर्मीत अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शन केन्द्रमा बिभिन्न देसका प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न भएको थियो । हस्तान्तरण हुदाको वखत बेलायतको तर्फबाट हङ्कङ्को लागि अन्तिम गभर्नर क्रिष्टोफर प्याटर्न रहेको थियो भने हस्तान्तरण पछि हङ्कङ्को लागि प्रथम कार्यकारी प्रमुख तुङ्ची ह्वा रहेको थियो ।
यसरी अफिमको ब्यापारको लागि मरिहत्ते हालेको बेलायतले चीनलाई राइफलको बलले पराजित गरि असमान सन्धि मार्फत साम्राज्यको रुपमा शासन गरेको हङ्कङ् आज संसारकै सम्बृद्धशाली शहर मध्ये एक हुन पुगेको छ ।
(इष्ट इण्डीया कम्पनीको नामले भारतमा त्यही बेलायतले शासन गरि रहेकोबेला नेपाललाई सानासाना कुरामा निहुँ झिकी युद्ध गरेर सन १८१६ मा सुगौलीमा भएको असमान सन्धि द्वारा नेपालको झण्डै तिनभागको एकभाग जमीन भारत(तत्कालीन इष्ट इण्डिया) मा बिलय गरायो । संयोग नै भन्नु वा बिडाम्वना, सधै त्यसैको घाउ बोकेर हिड्ने हामी नेपालीहरु हाल उसको साम्रज्यको पहरेदार हुँदै यहाँ हङकङ देखि बेलायतसम्म आवाशिय अधिकार पाएर आइ पुग्दा उसले दिएको उपहार ठान्दै जयकार गर्दै आइ रहेकाछौ ।)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार