याक्थुङ लेखक सङ्घ द्वारा आयोजित कविता तङ्सिङ् सम्पन्न

याक्थुङ लेखक सङ्घ द्वारा आयोजित कविता तङ्सिङ् सम्पन्न

काठमाडौँ: याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा २२ कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती, रञ्जना लिङ्देन, उत्तम लिम्बु, रोहित आङबो, सीता तुम्खेवा, सनि लिम्बु र बच्चु हिमांशुको कवितावाचन रहेका हुन।
कार्यक्रममा तुम्याङको रुपमा बैरागी काइँला, अभि सुवेदी, बालकृष्ण माबुहाङ, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहेका थिए ।
तुतुतुम्याहाङ अर्थात प्रमुख तुम्याहाङको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले कविता तङ्सिङ् एउटा सुन्दर अवधारणाको रुपमा सुरु भएको बताए । सहप्राध्यापक बालकृष्ण माबुहाङले तङ्सिङ्को साँस्कृतिक पक्षका बारेमा मञ्व्य दिए । कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै प्राज्ञ कवि श्रवण मुकारुङले कविता तङ्सिङ् एउटा अविश्मरणीय, उच्च कोटीको, एेतिहासिक र सुसंस्कृत अभियानका रुपमा सुरु भएको बताए । कविता, संगीत, संस्कृति र विचारको सुन्दर समायोजनद्वारा समग्र मानवजीवनको वेदना प्रस्तुत भएको उनले बताए ।


ब्लिस म्यूजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्वसङ्गीत रहेको उक्त अन्प्लग्ड कवितावाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झूमा लिम्बुले गरेकी थिइन् । बीचमा कलाकार तथा गायक यासेली योङ्हाङको प्रस्तुतिपनि राखिएको थियो ।
ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक सङ्घ, दक्षिण कोरिया समितिको सहप्रायोजन रहेको कविता तङ्सिङ् -२०७६ यसै वर्ष याक्थुङ लेखक संघ, उपत्यका समिति गठन भएसंगै आयोजना गरिएको पहिलो कार्यक्रम हो ।
आयोजकका अनुसार तङ्सिङ् अर्थात लिम्बुहरुको धार्मिक अनुष्ठानलाई कवितासंग जोडेर कविताको अनुष्ठानको स्वरुपमा कार्यक्रम प्रस्तुत गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार