स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ……….

काठमाडौं – मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कुनै कानुनी व्यवस्था छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकारलाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारीसाधन उपलब्ध गराइएको छ। स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेका छन्। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सचिवालयका लागि नौवटा सवारीसाधनको व्यवस्थापन गरिएको प्राप्त विवरणमा देखिन्छ। ती सवारीसाधन मन्त्रालय र स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन्। मन्त्री यादवका स्वकीय उपसचिव महेश चौरसियादेखि सचिवालयमा कार्यरत सिनियर अहेव कृष्णलाल यादवसम्मले प्रभाव र दबाबमा विभागबाट सवारी साधन मगाएर रजाइँ गरिरहेको पाइएको छ। मन्त्री यादवका स्वकीय सचिव चौरसियाले सवारीचालक शिवराम कार्कीसहित विभागको स्वामित्वमा रहेको बा२झ ३७९७ नम्बरको मित्सुविसीको पजेरो प्रयोग गरिरहेका छन्। मन्त्री यादवकै अर्का स्वकीय सचिव डा. अमरेन्द्र यादवले मन्त्रालयको स्वामित्वमा रहेको बा२झ ४३३९ नम्बरको फोर्डको रेन्जर गाडी प्रयोग गरेका छन्। अमरेन्द्र मन्त्री यादवका छोरा हुन्। सरकारले बनाएको सवारीसाधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ मा विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारीसाधनको सुविधा पाउने उल्लेख छ। तर मन्त्री यादवका निजी सचिव (नेपाल सरकारका उपसचिव) भवनाथ खतिवडाले मन्त्रालयका चालक सुरेन्द्र महतोसहित मन्त्रालयकै स्वामित्वमा रहेको बा१झ ८२५१ नम्बरको टोयोटा प्राडो प्रयोग गरिरहेका छन्। मन्त्री यादवकै सचिवालयमा कार्यरत सिनियर अहेव कृष्णलालले समेत विभागको स्वामित्वमा रहेको बा२झ २५०८ नम्बरको फोर्ड कार प्रयोग गरिरहेको पाइएको छ। मन्त्री यादवका स्वकीय सचिवहरूले मात्र सरकारी सवारीसाधन दुरूपयोग गरिरहेका छैनन्। सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारले समेत चालक र इन्धनसहित सवारी साधनमा रजाइँ गरिरहेका छन्। त्यस्तै प्रेस सल्लाहकार भक्त थापालाई मन्त्रालयले सवारीचालक घनश्याम गजुरेलसहित बा१झ ८५१७ नम्बरको सुजुकी ग्रान्ड भिटारा गाडी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्दप्रसाद्र क्षेष्ठ भने मन्त्रालयमा को–कसले गाडी चढ्छन् त्यो विषय आफूलाई जानकारी नहुने बताउँछन्। ‘गाडी व्यवस्थापन आन्तरिक व्यवस्थापन शाखाले गर्छ। त्यो हेर्नेले कसलाई गाडी दियो मलाई जानकारी हुने विषय भएन । सोही शाखामा सोध्नुहोस्,’ उनले भने। सामान्यतः मन्त्रीले पनि बढीमा दुईवटासम्म सरकारी सवारीसाधन सुविधाका लागि प्रयोग गर्न पाउँछन्। तर उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलले मन्त्रालयका दुईवटा र विभागको एउटा गरी तीनवटा गाडी प्रयोग गरिरहेका छन्। उनले चढ्ने गरेको बा२झ ४०२५ नम्बरको टोयोटा प्राडो विभागको स्वामित्वमा छ। मन्त्रालयले उनकै सुविधाका लागि छुट्याएको बा२झ ४३४२ नम्बरको टोयोटा भी एटले नपुगेर उनले मन्त्रालयकै स्वामित्वमा रहेको अर्को बा२झ १०८६ नम्बरको हुन्डाइको कार पनि लिएका छन्। बा२झ १०८६ नम्बरको कार मन्त्रीका परिवारका अन्य सदस्यले प्रयोग गरेको मन्त्रालय उच्च स्रोतको भनाइ छ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मन्त्रालयको स्वामित्वमा रहेका बा१झ ७२६५ नम्बरको टोयोटा प्राडो र बा१झ ८८८७ नम्बरको किया ब्रान्डको कार प्रयोग गरिरेका छन्। राज्यमन्त्री यादवको सचिवालयको लागि भनेर मन्त्रालयकै स्वामित्वमा रहेको बा२झ २७९४ नम्बरको फोर्ड कार उपलब्ध गराइएको छ। मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ को दफा ६ मा मन्त्री र राज्यमन्त्रीले एकएकवटा मात्रै सवारीसाधन सु्विधा पाउने प्रावधान छ।स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई घरायसी प्रयोजनका लागि भनेर बा२झ २७८६ नम्बरको फोर्ड कार उपलब्ध गराइएको छ। उनले अहिले बा१झ ६६५८ नम्बरको टोयोटा प्राडो प्रयोग गर्दै आएकी छिन्। मन्त्रालयका चालकसहितको बा२झ २७८६ नम्बरको कार उनकी छोरी र परिवारका अन्य सदस्यले प्रयोग गरेको स्रोतले बतायो। चौधरीको शैली पछ्याउँदै शिक्षा मन्त्रालयबाट हालै सरुवा भएर आएका जनसंख्या हेर्ने सचिव खगराज बरालले उपसचिव रामहरि लामिछानेले चढ्दै आएको बा२झ ९४२ नम्बरको फोर्ड ब्रान्डको कार चढ्न थालेका छन्। बरालका लागि भनेर मन्त्रालयले बा२झ ४०२६ नम्बरको टोयोटा टी एक्स गाडी व्यवस्थापन गरेको छ। बरालभन्दा अघि जनसंख्या सचिवको जिम्मेवारीमा रहेका रामप्रसाद थपलियाले पनि यही गाडी चढ्दै आएका थिए। तर बरालले स्वास्थ्य सचिव चौधरीजस्तै दुईवटा गाडी प्रयोग गर्न थालेका छन्। उपसचिव भवनाथ खतिवडाले मात्र होइन स्वास्थ्य मन्त्रायमा कार्यरत धेरैजसो उपसचिवले सरकारी सवारीसाधनमा रजाइँ गरिरहेको पाइएको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव लिलाराज पौडेलले बा१झ ९६७० नम्बरको टोयोटा प्राडोमा रजाइँ गरेका छन् । नीति, योजना तथा अनुगमन महाशाखाकै अर्का उपसचिव गुणनिधि शर्माले बा२झ ६५४ नम्बरको टोयोटा कार प्रयोग गरेका छन्। गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका उपसचिव सानुबाबु अधिकारीले बा१झ ९८७६ नम्बरको फोर्ड कार, जनसंख्या व्यवस्थापन महाशाखाका उपसचिव इन्द्र गौतमले बा१झ ९३११ नम्बरको फोर्ड कार, प्रशासन महाशाखाका उपसचिव भानुभक्त न्यौपानेले बा२झ २७८८ नम्बरको फोर्ड कार प्रयोग गरिरहेका छन्। प्रशासन महाशाखाकै अर्का उपसचिव मुक्तिनाथ न्यौपानेले बा१झ ७२८४ नम्बरको टोयोटा प्राडो र रामहरि लामिछाने बा१झ ५६७५ नम्बरको मित्सुविसी पजेरो चढ्छन्। लामिछानेले चढ्ने गरेको बा२झ ९४२ नम्बरको फोर्ड कार सचिव बरालले लगेपछि लामिछानेले बा१झ ५६७५ नम्बरको गाडी लिएका हुन्। मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले बा१झ ८८०१ नम्बरको मित्सुविसी पजेरो चढ्दै आएका छन्। मन्त्रालयको स्वामित्वमा रहेका बा१झ ८८७२ नम्बरको मित्सुविसी पजेरो, बा१झ ३११ नम्बरको टोयोटा ल्यान्डक्रुजर गाडी प्रयोगमा आउने अवस्थामा नरहेको स्रोतको भनाइ छ। बा१झ ८३४९ नम्बरको निसान एक्सट्रायल गाडी बिगारेर राखिएको छ भने बा१झ ७७९५ नम्बरको मित्सुविसी पजेरो ग्यारेजमा लगेर थन्काइएको पाइएको छ। त्यसैगरी बा१झ ८६९७ नम्बरको टाटाको पिकअप र बा१झ ५२६४ टाटा जिप लिलाम गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालय स्रोतको भनाइ छ। बा१झ ९३१० नम्बरको फोर्डको कार वातावरण मन्त्रालयमा पठाइएकोमा अहिले त्यो गाडी कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय बेखबर छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले सहसचिवभन्दा तलका कर्मचारीलाई सवारीसाधन उपलब्ध गराउनु भ्रष्टाचार भएको बताए। उनले गाडी किन्दा अर्थ मन्त्रालयका कर्मचारीलाई पनि कमिसन आउने भएकाले अन्य काममाभन्दा गाडी खरिद गर्न सहजै बजेट दिने गरेको आरोप लगाए। कार्कीले मन्त्री, राज्यमन्त्रीका स्वकीय सचिव र सचिवालयका सल्लाहकारलाई सवारीसाधन दिने विषय पनि गैरकानुनी भएको स्पष्ट पारे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार