घरजम चलचित्रको प्रिमियर सो सम्पन्न

बगैंचा सम्बाददाता हङकङ

१५ सेप्टेम्बर २०१९ आईतबार हङकङ काउलनको हुङहाम स्थित Whampoa सिनेमा हलमा नव निर्मित नेपाली कथानक चलचित्र ‘घरजम’ को प्रिमियर सो सम्पन्न भएको छ ।उक्त ‘प्रिमियर सो’मा निर्देशक, निर्माता लगायत हङकङमा रहेका कलाकारहरूको समउपस्थितिमा छोटो औपचारिक कार्यक्रम राखिएको थियो । युगल पोमुले संचालन गरेको सो औपचारिक कार्यक्रम मार्फत निर्देशक मौसम लिम्बूले हलमा उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै सहयोगिदाताहरूको नाम उच्चारण गर्दै सबैलाई एकमुष्ट धन्यवाद दिएका थिए ।

मौसम लिम्बु ईम्बुङको निर्देशन रहेको उक्त चलचित्र ‘घरजम’का निर्माताद्वय सीता तुम्बापो र किशोर पन्धाकले निर्माण गरेका छन । नायक कुशल थलाङ-रूपमान, नव नयिका सुष्मा लिम्बु-बेलि, किशोर लिम्बू-सुबेदार, यासेली योङहाङ-मानसिङ, हेम आङछाम्बो-बरबोटेकान्छा, बुद्धितामाङ-थोते साईला लगायत अन्य धेरै कलाकारहरूको शसक्त अभिनय रहेको चलचित्र ‘घरजम’को कथा कवि उपेन्द्र सुब्बा लेखेका छन भने युवराज राईले छायाङकन गरेका हुन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको ‘घरजम’ चलचित्रमा त्यस क्षेत्रको बिशेषगरि राजनिती लगायत लिम्बू साँस्कृती, भूगोल, भाषा र संस्कारलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । बिचबिचमा नाचगान, डेटिङ-भेटिङ र मायाप्रितिको कुरालाई कथामा समावेश गरेर चलन चल्तिको नेपाली चलचित्रहरूको शैलीलाई पनि निरन्तर्ता दिने चेष्टा गरिएको छ र कथा बस्तुको सिलसिलालाई सुन्दर र कलात्मक ढंगले प्रस्तुत गरिएकोले चलचित्रको अवधिभर दर्शकहरूको मन अन्त कतै मोडिन पाउँदैन । स्थानीय पाराले अर्गानिक हास्यउक्तिहरूको सम्बादले घरिघिर थाहै नपाई भित्रदेखि हाँसोको फोहरा निस्किदा हल थर्किनुलाई यस चलचित्रको अर्को बेजोड र सबल पक्ष मान्न सकिन्छ । यसरी एकत्रित भएका दर्शकहरूले थाहै नपाई ९० मिनेटको चलचित्र ‘घरजम’ को कथा समाप्त हुन्छ ।

चलचित्रमा केही झिना मसिना कमजोरी रहेतापनि सबलपक्षले तिनलाई ओझेलमा पार्न सफल भएकोले अधिकांश दर्शकहरूले चलचित्र ‘घरजम’ हेरेर भरपुर मनोरन्जन लिएको र चलचित्र मन परेको प्रतिक्रिया दिएका छन । अगामी दिनहरूमा ‘घरजम’ अन्य देशहरूमा पनि क्रमश: प्रदर्शन गर्ने योजना रहेको कुरा निर्देशन ईम्बूङले बताएका छन् ।

सम्भवत हङकङेली नेपाली निर्देशकद्वारा निर्देशित ठूलो पर्दाकोको नेपाली कथानक चलचित्र मध्ये निर्देशक सुरज सुनुवारको ‘षडङ्ग’ पहिलो र निर्देशक मौसम लिम्बू ईम्बुङको यो ‘घरजम’ दोस्रो चलचित्र हो ।

 

फोटो सौजन्य: स्रिसा स्टुडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार